Comments Add Comment

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

१७ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष छन् । सोही गाउँपालिकाकै २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सहिद लखन गाउँपालिकाका ३० वर्षीय एक जना महिला छिन् । गोरखाकै बारपाक गाउँपालिका २६, ५१ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना छन् । स्याङ्जा वालिङ नगरपालिकाका ५० वर्षीया एकजना महिला र २७ वर्षीय पुरुष छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भीरकोट नगरपालिकाका २३ देखि २७ वर्ष उमेर समूहका ४ जनामा पुरुष र २४ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका २९ वर्षीय एक महिला र सोही जिल्लाकै बडीगाड गाउँपालिकाका २३ र २६ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी, गोरखा र कास्कीका सबै संक्रमितलाई आइसोलेसनमा लगिसकिएको र बाँकी जिल्लाका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ सय १५ छ । मंगलबारमात्रै मुस्ताङका ८३ वर्षीय एक पुरुष कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment