Comments Add Comment

नेपाल भ्रमणबारे विदेशबाट चासो : निजी क्षेत्र तयार, सरकार अलमलमै

१७ असार, काठमाडौं । पर्यटनमा नेपालको सबैभन्दा बलियो उत्पादन पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकले चासो देखाउन थालेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न सफल चीन र युरोपका केही देशबाट नेपालको अवस्थाबारे जिज्ञासा राख्न थालिएको छ ।

खासगरी घनाबस्ती नभएका पहाडी र हिमाली पदयात्रा मार्गको अवस्थाबारे सोधखोज हुन थालेको व्यवसायीहरू बताउँछन् । होटेल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार दक्षिण एसियामा नेपालप्रति पर्यटकको बढी चासो छ । उनी भन्छन्, ‘लामो समय घरमा बस्नुपर्दा दिक्क भएका विदेशीहरूले नेपालको स्वच्छ, शान्त र एकान्त ठाउँहरू सम्झन थालेका छन् ।’

कोरोना महामारी विश्वव्यापी बनेपछि विश्वका शतप्रतिशत पर्यटक गन्तव्य बन्द भएका थिए । जुन इतिहासमा पहिलो पटक भएको हो । अहिले कोरोना नियन्त्रण गरेका र नियन्त्रणभित्रै राख्न सफल केही मुलुकले विदेशी यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउन थालेका छन् ।

संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)का अनुसार संसारका ४८ देशले विदेशी पर्यटकमाथिको प्रतिबन्ध हटाएका छन् । यीमध्ये अधिकांश युरोपेली मुलुक छन् । नेपाल भने पर्यटक आगमनमा कडा प्रतिबन्ध कायम राखेका मुलुकको सूचीमै छ ।

नेपालको तयारी

नेपाल पर्यटन बोर्ड र निजी क्षेत्र पर्यटकलाई स्वागत गर्न तयार देखिएका छन् । बोर्डले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयलगायतका नेपाल सरकारका विभिन्न निकायले तोकेको मापदण्डका आधारमा सुरक्षा निर्देशिका बनाएको छ । यो निर्देशिका पालना गर्दैै होटेल, पर्यटक यातायात, ट्राभल-टुर तथा साहसिक गन्तव्य सुरु गर्न निजी क्षेत्र तयार छ ।

नेपालमा पर्यटन क्षेत्रले एक रुपैयाँ पनि आम्दानी गर्न नसकेको चौथो महिना चल्दैछ । एक व्यवसायी भन्छन्, ‘अझै घरभित्रै थुनेर राख्ने हो भने अब थप यति दिन बसेपछि सब ठिक हुने ग्यारेन्टी दिनुपर्‍यो, नत्र क्रमशः व्यापारमा आउने वातावरण चाहियो ।’

गत बिहीबार बुद्ध एयरले उडान सुरु भएपछि अपनाउनुपर्ने सुरक्षा विधिबारे ‘डेमो’ उडान गर्‍यो । सिद्धान्ततः यस्तो अभ्यास नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण वा त्रिभुवन विमानस्थल कार्यालयले गरेर सबै सेवा प्रदायकलाई सोहीअनुसार गर्न निर्देशन दिनुपर्ने थियो ।

तर निजी क्षेत्रले यसमा अग्रसरता लिएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बस्नेत यात्रुले भोलि जहाज चढ्दा असुरक्षित महसुस नगरून्, गुणस्तरीय सेवाका लागि कर्मचारी तयार होऊन् र सेवा सुरु गर्न तयार छौं भन्ने सन्देश दिन ‘डेमो’ गरेको बताउँछन् ।

नियामक निकायहरू भने कागजी तयारीमा सीमित छन् ।

आलोचनापछि ‘बेखबर’ पर्यटनमन्त्री

एक जनामा मात्र कोरोना संक्रमण देखिएको र उनी पनि निको भएको समय गतफागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाललाई कोरोनामुक्त मुलुकको रुपमा विश्वव्यापी प्रचार गरेर पर्यटक भित्र्याउने रणनीति सार्वजनिक गरे ।

कोरोना नियन्त्रणको तयारी थाल्नुपर्ने बेला नेपाललाई ‘कोरोना मुक्त देश’ घोषणा गर्ने भनेपछि उनी आलोचनाको निसानामा परे । त्यसपछि हच्किएर पछि हटेका पर्यटनमन्त्री भट्टराई पर्यटन क्षेत्र र हवाई उद्योगको अभिभावक बन्न नसकेको व्यवसायीहरू बताउँछन् ।

यो महिना वा मितिसम्म हामी यहाँ हुन्छौं, त्यसपछि त्यहाँ पुग्छौं भनेर सोलोडोलो अनुमानसम्म पनि गर्न नसकिने अवस्था आएको एक व्यवसायी बताउँछन् ।

‘यतिबेला सरकारबाट एउटा दिशानिर्देश त आउनैपथ्र्यो, तर यही बेला पर्यटन नै बेखबर बनेका छन्’, उनी भन्छन्, ‘अगाडि आएर दुईवर्ष पर्यटकीय गतिविधि हुँदैन भनिदिनुस्, म व्यवसायको विकल्प खोज्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment