
१७ असार, काठमाडौं । नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालयअन्तर्गतको कार्यदलले ती क्षेत्रहरूमा सलह प्रवेश गर्न सक्ने आकलन गरेको हो ।
केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसँगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्टक्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र मातहतको सलह सूचना केन्द्रले जनाएको छ ।
भारतमा रहेको सलहको झुण्ड दार्जिलिङ र सिलुगुडीतर्फ उडेको र वायुको प्रभावसँगै नेपाल पस्न सक्ने सम्भावना रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए।
भारतको राजस्थानबाट उडेको सलहको ठूलो झुण्ड नयाँ दिल्ली हुँदै अघि बढेको र वायुको बहावमा आएको नाटकीय परिवर्तनले नेपाल जोखिममा परेको पनि सुवेदीले जानकारी दिए ।
केन्द्रले सलह देखिए वा उडेको कुनै पनि सूचना भए तत्काल स्थानीय तह, कृषिका कर्मचारी वा कृषि मन्त्रालय तथा केन्द्रमा खबर गर्न पनि स्थानीयसँग आग्रह गरेको छ ।
प्रतिक्रिया 4