Comments Add Comment

चिन्ताले पुर्‍याउँछ चितामा

नेपालीमा उखान नै छ, चिन्ताले चितामा पुर्‍याउँछ । चिन्ता आफैमा कुनै समाधान होइन । यद्यपि जब–जब कुनै समस्या, अप्ठ्याराहरु आइलाग्छन्, हामी चिन्तित हुन्छौं ।

आफुले चाहेको कुरा प्राप्त नगर्दा, आफुले सोचेजस्तो सबैकुरा ठिकठाक नहुँदा, कतिपय कामकुराहरु बिग्रिदा, आफ्नो स्वास्थ्य स्थिति खराब हुँदा, पारिवारिक बेमेल हुँदा स्वभाविक रुपमा हामीमा चिन्ताको स्तर बढ्छ । चिन्ता एक स्वभाविक मानसिक स्थिति भएपनि यसले अस्वभाविक नतिजा दिन्छ । त्यसैले आज सम्पूर्ण मानव समुदाय नै ‘चिन्तामुक्त’ जीवनको खोजीमा छन् ।

जब कुनै कुरामा हामी चिन्ता लिएर बस्छौं, त्यसले हाम्रो मनस्थिती र स्वास्थ्य दुबैमा समान प्रभाव पार्छ । सामान्य कुराबाटै यसको अनुभव गर्न सकिन्छ । जस्तो तपाईं चिन्तित अवस्थामा हुनुहुन्छ भने,  पेटमा समस्या देखापर्छ । पेट फुल्ने, अरुची हुने जस्ता समस्या देखिन्छ ।

चिन्ता सबैलाई हुन्छ

हामी अभाव, दुःखको अवस्थामा हुँदा चिन्तित हुन्छौं । आयआर्जन राम्रो नभएको कुराले हामीलाई चिन्तित बनाउँछ । जबकी सबैथोकले पुगिसरी व्यक्ति पनि चिन्तित हुन्छन् । उनीहरुको चिन्ताको कारण अरु नै हुनसक्छ । हामी आफ्नो असफलतालाई लिएर चिन्तित हुन्छौं । कुनै क्षेत्रमा गरिएको लगानी डुबेपछि, कुनैपनि काममा सफलता हासिल गर्न नसकेपछि हामी चिन्तित हुन्छौं । तर,  सफल व्यक्ति पनि चिन्तित हुन्छन् ।

धनी–गरिब, सानो–ठूलो, सफल–असफल सबैमा चिन्ता हुन्छ ।

कसले कति लिन्छन् ?

कुनै न कुनै कुराले मान्छेलाई चिन्तित बनाउँछ । तर, यसमध्ये कतिपयले चिन्ताको उचित व्यवस्थापन गर्छन् र त्यसको असर आफ्नो शरीरमा पर्न दिदैनन् । कतिपयले भने चिन्ताको व्यवस्थापन गर्न सक्दैनन् । उनीहरु हरक्षण दुःखी र निरास देखिन सक्छन् । वा क्षणिक आवेगमा गलत निर्णय लिन पुग्छन् ।

चिन्ता एक मानसिक स्थिति हो । त्यसैले यसको व्यवस्थापन पनि मानसिक रुपमै गर्न सकिन्छ । जब जब हामीमा नकारात्मक विचारहरु आउँछन्, दुःख र अभावको कुराहरुमा घोत्लिन थाल्छौं त्यसले अन्ततः हामीलाई चिन्ताको स्थितिमा पु¥याउँछ । यो एक किसिमको मनोविकार पनि हो । जब हामी सकारात्मक कुरा, उत्साह र उमंगको कुराबाट विमुख हुन  थाल्छौं हामीमाथि चिन्ता हावी हुन थाल्छ ।

हामी हुर्कने क्रममा, बाँच्ने क्रममा त्यस्ता धेरै कुरा आइपर्छन्, जसले हामीलाई चिन्तित बनाउन सक्छ । तर, यी कुराहरुलाई कति गंभिरतापूर्वक लिने वा बेवास्ता गर्ने भन्ने कुराको टुंगो गर्न नसक्दा हामी चिन्तामा पर्न सक्छौं । हामी यस्ता अनेकन विषयमा चिन्तित भइरहेका हुन्छौं, जसमा चिन्ता गर्नुको कुनै अर्थ हुँदैन ।

हामी त पानी परिरह्यो भने पनि चिन्तित हुन्छौं । घाम लागिरह्यो भने पनि चिन्तित हुन्छौं । जबकी यी कुराहरु नियन्त्रणमा हाम्रो कुनै हात हुँदैन ।

चिन्ता होइन चिन्तन

कुनैपनि कुरामा चिन्ता गर्नु भनेको आफैमाथि थप यातना थोपर्नु हो । आफुले आफैलाई दुःख दिनु हो । चिन्ता न कुनै समाधान हो, न उपचार । बरु चिन्ता गर्नुपर्ने विषयमा चिन्तन गर्न सकिन्छ । चिन्तन भनेको सोही विषयमाथि गरिने सकारात्मक मन्थन हो ।

चिन्तनले कुनैपनि समस्याको चुरो पहिल्याउन र त्यसबाट उम्कनका लागि बाटो देखाइदिन्छ ।

चिन्ताले पुर्‍याउँछ चितामा

अर्थात चिन्ताले शरीरलाई जिर्ण र रोगी बनाउँछ । यसले हामीलाई सामाजिक जीवनबाट अलग गराउँछ । के विश्लेषण गरिएको छ भने, अबको केहि बर्षपछि विश्वको सबैभन्दा ठूलो शारीरिक समस्यामा चिन्ता वा डिप्रेसन देखापर्नेछ ।

चिन्ताको गहिरो रुप डिप्रेसन हो ।  डिप्रेसन मानसिक समस्या हो । न यसको उपचार औषधीले मात्र संभव छ । न शल्याक्रिया गरेर नै । किनभने मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधी हो । तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन ।

डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं । जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ ।

चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एड्रिनलीन र कार्टिसोल प्रमुख छन् । लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ ।

कसरी रहने त चिन्तामुक्त ?

चिन्तामुक्त रहने केही तौर तरिका छन् । जस्तो कि, जुन विषयले आफुलाई चिन्तित बनाउँछ, त्यसतर्फ ध्यान नदिने । वा ध्यान अन्यत्रै मोड्ने, जुन कुराले आफुलाई खुसी बनाउँछ । साथीभाईसँग हेलमेल हुने, पारिवारिक वतावरणमा रमाउने, मनोरञ्जनमा मन दिने जस्ता गतिविधिले पनि चिन्तित अवस्थामा रहन दिदैन ।

आफुलाई मनमा लागेको कुरा साथीभाई वा परिवारसँग साझेदार गर्ने । वहस गर्ने । आफ्नो दुःख, पीडा आफैभित्र लुकाएर नराख्ने ।

कुनै न कुनै काम गरेर बस्दा पनि चिन्ता हट्छ । जस्तो मीठो खानेकुरा तयार गर्नुहोस्, फूलबारीमा गएर गोडमेल गर्नुहोस्, घरको सजावटको काममा लाग्नुहोस् चिन्ता नै हुँदैन ।

यसैगरी प्राणायाम जस्ता विधी छन्, जसले प्रभावकारी रुपमा चिन्ताको स्तर कम गर्छ । प्राणायाम भनेको साधारणतय स्वसप्रश्वास क्रियालाई सन्तुलित राख्ने वा त्यसमा आफ्नो ध्यान केन्द्रित गर्ने हो । यसका लागि धेरै कुरा जान्न पर्दैन, गहिरो सास लिने र छाड्ने अभ्यास गरे पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment