Comments Add Comment

गुल्मी पहिरो : १८ महिने शिशुको मृत्यु, सात वर्षीया बालिका वेपत्ता

गुल्मीको पहिरो । फाइल फोटो

१९ असार, काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्य पाँच जना घाइते भएका छन् ।

गुल्मीका डीएसपी केदारराज पन्तका अनुसार बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो ।

यस्तै सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता छिन् । डीएसपी पन्तका अनुसार ईश्वरी खत्री गम्भीर घाइते भएका छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको डीएसपी पन्तले बताए ।

‘हाँडीखोलामा पनि एक जना वेपत्ता’

पहिरोमा पुरिएर मुसिकोट नगरपालिकाको हाँडीखोलामा पनि एक जना वेपत्ता भएको सूचना आएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

गुल्मीको इश्मामा अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रजिअ शर्माले बताए । प्रजिअ शर्माले अनलाइनखबरसँग भने, ‘बाटाहरु सबै अवरुद्ध छन् । पानी परिरहेको छ । बाटो बनाउँदै जानुपर्दा अप्ठेरो भएको छ ।’

विद्यालय भवन पुरियो

इश्मा गाउँपालिका–४ मा रहेको एक सामुदायिक विद्यालयमा पहिरोले क्षति गरेको छ । डीएसपी पन्तका अनुसार पहिरोले कालिका निमाविको नौ वटा कोठा पुरिदिएको छ ।

उनका अनुसार सोही क्षेत्रमा पहिरोका कारण १३ घर परिवार जोखिममा छन् ।

अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका कारण उद्धारका लागि घटना स्थलसम्म पुग्न कठिनाइ भइरहेको उनले बताए ।

दुई घर परिवार विस्थापित

गुल्मीको मुसीकोट नगरपालिका–२ मा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् ।

मुसीकोट नगरपालिका–२ राताचौर बस्ने जनक केसीको घर पहिरोले भत्काईदिँदा उनको ५ जनाको परिवार विस्थापित भएका हुन् ।

यस्तै पहिरोको जोखिमका कारण सोही ठाउँ बस्ने चुमानसिंह बस्नेतको ६ जनाको परिवार विस्थापित भएका छन् ।

डीएसपी पन्तका अनुसार सोही नगरपालिका अन्तर्गत हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पहिरोले बगाएको डीएसपी पन्तले बताए ।

पहिरोले ७ भैंसी र ११ बाख्रा बगायो

मुसीकोट नगरपालिका–२ हरथोक अम्राहीमा तीन वटा गोठ र खोर बगाउँदा सात वटा भैंसी र ११ वटा बाख्रा बगाएको छ ।

डीएसपी पन्तका अनुसार हरथोक अम्राहीका रामबहादुर सुनारको गोठ पहिरोले बगाउँदा ३ वटा भैँसी र ७ वटा बाख्रा पुरेको छ ।

यस्तै सोही ठाउँका अर्जुन बहादुर सिंहको गोठ बगाउँदा एउटा भैँसी र ४ वटा बाख्रा र टेकबहादुर कार्कीको ३ वटा भैंसी पुरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment