Comments Add Comment

हत्या लुकाउन गुपचुप शव गाडियो, एक वर्षपछि आरोपितद्वारा आत्मसमर्पण

१९ असार, विराटनगर । सुनसरी प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ ।

हरिनगर गाउँपालिका – १ की ४३ वर्षीय रसिदा खातुनको हत्या आरोपमा उनका श्रीमान स्तुल मियाँलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ९ असार २०७६ मा घटना भएपछि फरार मियाँ बुधबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

गाडिएको शव उत्खनन

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार ९ असार २०७६ मा रसिदाको शंकास्पद मृत्यु भएको थियो । उनको घाटीमा गम्भिर चोट थियो ।

तर प्रहरीलाई जानकारी नगराई भोलिपल्ट बिहान शव गाडियो । मुस्लिम संस्कार अनुसार शवको अन्त्यष्टिपछि प्रहरीमा मृत्यु कालगतीले नभएको सूचना पुगेपछि प्रहरीले शव उत्खनन गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा घाँटीमा चोट देखिएको थियो । ‘घाटीको चोट शंकास्पद रहेछ’, प्रहरी उपरीक्षक थापाले भने, ‘पोष्टमार्टम गर्दा आत्महत्या देखिएन ।’ उनले घाँटी थिचेर हत्या भएको देखिएको बताए ।

रसिदाका श्रीमान् भने ९ असारमा नै फरार थिए । गाडिएको शव उत्खनन गरी पोष्टमार्टम गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा रसिदामा डिप्रेशनको समस्या हुनसक्ने देखिएको छ ।

घटनापछि फरार भएका कारण अनुसन्धानका लागि प्रहरी प्रतिवेदन अनुसार मियाँको नाममा सुनसरी जिल्ला अदालत इनरुवाले ३ चैत २०७६ मा पक्राउ पूर्जी जारी गरेको थियो ।

एक वर्षयता फरार भएका मियाँ बुधबार आफैँ उपस्थित भएपछि मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ अनुसार १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment