Comments Add Comment

बफोनको कीर्तिमान, युभेन्ट्सको सहज जित

२१ असार, काठमाडौं  । गोलकिपर जियानलुजी बफोनले कीर्तिमान बनाएको सिरी ए खेलमा लिग लिडर युभेन्ट्सले सहज जित हात पारेको छ । ४२ वर्षीय भेट्रान गोलकिपर बफोनले पहिलो रोजाइँमा खेल्दै सिरी एमा सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा बनाए ।

उता क्रिस्टियानो रोनाल्डोले सिरी एमा फ्रि-किकबाट पहिलो गोल गरेपछि युभेन्ट्सले टोरिनोलाई ४-१ ले पराजित गर्‍यो ।

दोस्रो स्थानको लाजियो भने एसी मिलानसँग ३-० ले पराजित भयो । जसले गर्दा लिग लिडर युभेन्ट्सले लाजियोसँग ७ अंकको अग्रता बनाएको छ र उपाधि होड बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा पाउलो डिबलाले खेलको तेस्रो मिनेटमै गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । जुवान क्वाड्राडोले २९औं मिनेटमा अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी टाइममा टोरिनोका आन्द्रे बेलोट्टीले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाएका थिए । तर ६१औं मिनेटमा रोनाल्डोले फ्रिकिकबाट शानदार गोल गरेपछि युभेन्ट्सले ३-१ को अग्रता बनायो । रोनाल्डोले फ्रिकिकबाट गरेको यो ४६औं गोल हो । यसअघि उनले रियल मड्रिडका लागि ३२ र म्यानचेष्टर युनाइटेडका लागि १३ फ्रि-किक गोल गरेका थिए । यसैगरी रोनाल्डोले १९६०-६१ पछि एकै सिजनमा २५ गोल गर्ने युभेन्ट्सका पहिलो खेलाडी बनेका छन् ।

८७औं मिनेटमा टोरिनोका डिडीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले सहज जित हात पार्‍यो ।

युभेन्ट्सका भेट्रान गोलकिपर जियानलुजी बफोनले सिरी एमा ६४८ खेल खेल्दै उसी मिलानका पूर्व डिफेण्डर पाउलो माल्दिनीको कीर्तिमान तोडेका छन् । माल्दिनीले ६४७ खेल खेलेका छन् ।

जितपछि युभेन्ट्सले ३० खेलबाट ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोको समान खेलबाट ६८ अंक छ । लाजियोलाई ३-० ले पराजित गरेको मिलान ४६ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ । लाजियोलाई उसैको मैदानमा हराउन मिलानका लागि हाकन चाल्हानोग्लु, ज्लाटन इब्राहिमोभिक र एन्टे रेबिकले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment