Comments Add Comment

विराटनगरमा निजी अस्पतालद्वारा अनुमति नलिई आरडीटी परीक्षण

२१ असार, विराटनगर । मोरङको विराटनगरमा एक निजी अस्पतालले अनुमति नै नलिई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गरेको खुलेको छ । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरले अनुमति नै नलिई परीक्षण गरेको पाइएको हो ।

अस्पतालको आकस्मिक कक्षको लेटरप्याड प्रयोग गरी दिँदै आएको रिपोर्ट जाँचका लागि जनही २ हजार रुपैयाँ लिने गरिएको छ । प्रतिव्यक्ति २ हजारका दरले परीक्षण गरिए पनि समूहमा गएकालाई एक हजार पाँच सयका दरले परीक्षण गर्ने गरिएको छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले प्रदेशमा निजी स्तरका कुनै पनि ल्याबलाई कोरोना परीक्षणको अनुमति नदिएको बताए । प्रदेश १ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच हुँदै आएको उनले बताए ।

अस्पताल भन्छ : कर्मचारीले गल्ती गरे

म्याक्स इन्टरनेशनल अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले कोरोना जाँच गर्दा कर्मचारीले गल्ती गरेको बताए ।

‘१–२ जनाको आरडीटी परीक्षण गरेको रहेछ’ उनले भने ‘इमरजेन्सीको लेटरप्याड प्रयोग भएको छ, कर्मचारीले गल्ती गरे, हामीले सम्झाएपछि उनीहरुले स्वीकार गरेका छन् ।’ उनले आरडीटी परीक्षणका लागि सरकारसँग अनुमति माग गरेको बताए ।

सरकारी प्रयोगशाला प्रमुखको लगानी !

यो अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक जयवेन्द्र यादवको लगानी रहेको स्रोतको दावी छ । तर उनले यो आरोप अस्वीकार गरेका छन् ।

‘त्यो अस्पतालमा म विज्ञको रुपमा बेला बेला ल्याब हेर्दिन्छु, जनस्वास्थ्य प्रमुख हुँदा होइन, कोशी अस्पतालमा काम गर्दै गर्दा दुई वर्षअघि नै जोडिएको थिएँ’ उनले भने ‘भित्र के के हुन्छ सबै मलाई जानकारी हुँदैन । इमरजेन्सीबाट परीक्षण भएको रहेछ ।’

अस्पतालमा आफ्नो कुनै लगानी नरहेको बताउँदै उनले सार्बजनिक रुपमा जवाफ दिन तयार रहेको बताए । जयबेन्द्र यादव एक वर्षयता प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत छन् । यसअघि उनी कोशी अस्पताल विराटनगरको ल्याब प्रमुख थिए ।

कोशी अस्पताल अगाडि उनले एडभान्स प्याथोलोजी ल्याब सञ्चालन गर्दै आएका छन् । दुई वर्षयता म्याक्स अस्पतालमा पनि उनको निजी ल्याब रहेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment