२२ असार, काठमाडौं । एक गोलको अग्रता अनि पेनाल्टी अवसर गुमाउँदा इटालियन सिरी एमा तेस्रो स्थानको इन्टर मिलान बोलोग्नासँग २-१ ले पराजित भएको छ । रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएपनि जोगाउन सके । लाउटारो मार्टिनेज पेनाल्टीमा गोल गर्न असफल रहे ।
यस्तै खेलमा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाए ।
घरेलु मैदानमा २२औं मेनटमा लुकाकुको गोलबाट इन्टरले अग्रता लिएको थियो । ५७औं मिनेटमा रोवर्टो सोरियानोले रेफ्रीलाई अपशब्द बोलेको भन्दै रातो कार्ड पाएका थिए । इन्टरलाई एक खेलाडी कम भएको फाइदा थियो । तर ६२औं मिनेटमा प्राप्त पेनाल्टीमा मार्टिनेजले गोल गर्न सकेनन् । उनको प्रहार बोलोग्नाका गोलकिपर लुकासले रोके ।
एक खेलाडी कम भए पनि ७४औं मिनेटमा मुसा जुवाराले बोलोग्नाका लागि बराबरी गोल पर्काए ।
७७औं मिनेटमा अलेसान्द्रो बास्तोनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि इन्टर पनि १० खेलाडीमा झर्यो। त्यसपछि बोलोग्नाले अर्को गोल थप्यो । ८०औँ मिनेटमा मुसा बारोले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।
हारपछि तेस्रो स्थानको इन्टरले दोस्रो स्थानको लाजियोसँष अंक दूरी घटाउने मौका गुमाएको छ । यस्तै चौथो स्थानको एटलान्टासँग अंक दूरी बढाउने अवसर गुमेको छ । ३० खेलबाट ६४ अंकसहित इन्टर तेस्रोमा छ । समान खेलबाट ६८ अंकसहित लाजियो दोस्रो स्थानमा छ भने ६१ अंक जोडेको एटलान्टा चौथोमा छ । बोलोग्ना ४१ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।
सिरी एकै अर्को खेलमा छैटौं स्थानको नापोलीले पाँचौ स्थानको रोमालाई २-१ ले पराजित गरेको छ । जितपछि नापोलीले रोमा समान ४८ अंक जोडेको छ र पाँचौ स्थानमा रहेर अर्को सिजन सीधै युरोपा लिग खेल्ने सम्भावना कायम राखेको छ । सिरी एमा छैटौं हुनेले युरोपा लिगको लागि प्लेअफ खेल्नुपर्नेछ ।