Comments Add Comment

धनुषाकी ११ वर्षीया बालिकालाई भारतीय नागरिकले बलात्कारपछि हत्या गरेको पुष्टि

२२ असार, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

प्रहरीले बालिकाको हत्यामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय दीपु सिंह छन् । सिंहले बालिकालाई बलात्कार गरी हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए ।

गत शुक्रबार कुर्थाकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि एक किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । उनी भैंसी चराउन गएकी थिइन्।

आँपको प्रलोभन देखाएर करणी

सिंह दूधमती खोला छेउमै रहेको चौधरी र मिश्र इन्डस्ट्रिजमा ५ महिनायता काम गर्दै आएका थिए । उनी काम गर्ने इन्डस्ट्रिजमा बालिका गत असार १८ गते आँप टिप्न पुगेकी थिइन् ।

सिंहले आँप दिने प्रलोभन देखाइ ललाइफकाइ इन्डस्ट्रिजको पछाडिपट्टिको बगैंचाको एकान्त कुनामा लगेर बालिकालाई करणी गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हत्यापछि सिंहले बालिकालाई ब्ल्याङ्केटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । यद्यपि ब्ल्याङ्केट ५० फिटको दुरीमा रहेको खेतमा माटोले पुरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

बालिकाको शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सिंहलाई आइतबार पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment