Comments Add Comment

फेसबुकको फोटोले विदेशी जीवनको चित्रण गर्दैन !

पीआर र ग्रीनकार्डको सपना नदेखौं, सहज छैन विदेशी जीवन

नेपाली युवा सुन्दर सपना बोकेर विदेशिएका छन् । विदेश आउनु नेपालीको रहर र बाध्यता दुबै बनेको छ । हुनेखानेहरु विकसित देशको सुख सुविधा देखेर विदेश हानिएका छन् भने हुदाँखानेहरु गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि विदेशमा कठोर श्रम र पसिना बगाउँदैछन् ।

विदेशिएका नेपालीहरुले पठाएको रेमिट्न्यान्सले मुलुकको अर्थतन्त्र चलायमान भएको छ । नेपाली युवा कामका लागि देश बाहिर जान थालेपछि वैदेशिक रोजगारी सुरु भएको पाइन्छ ।

खासगरी १८१६ को सुगौली सन्धीपछि नेपाली युवा इन्डियन आर्मीको रुपमा भर्ती हुने क्रम सुरु भयो । त्यसैगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धीपछि नेपाली युवा रोजगारीका लागि भारत जान थाले । खेतीपातीको काम सकाएर सिजनल रुपमा रोजगारीका लागि भारत जाने चलन अझै बढी छ । भारत बाहेक अन्य देशमा रोजगारीका लागि जानेक्रम सन् १९८५ मा वैदेशिक रोजगारी ऐन लागु भएपछि शुरु भएको हो ।

सन् १९९० पछि विश्व्यापीकरण र उदारीकरणको प्रभावले वैदेशिक रोजगारीमा जाने युवाको सख्या नाटकीय ढङ्गले बृद्धि भयो । विशेष गरी खाडी मुलुकमा ढुलो मात्रामा पेट्रोलियम पदार्थको उत्पादन हुन थालेपछि वैदेशिक कामदारको माग बढ्न थाल्यो । फलस्वरुप नेपाली युवाको रोगगारीको गतिलो गन्तव्य खाडी मुलुक, मलेसिया मध्यपूर्व हुन पुग्यो ।

त्यसैगरी कोरियन सरकारले सन् २००३ मा इपीएस एक्ट जारी गरेपछि नेपाल सरकार र कोरीयन सरकारको सम्झौता बमोजिम कोरियन भाषा परीक्षा पास गरेका युवाहरु रोजगारीका लागि कोरिया जाने बाटो खुल्यो ।

अहिले नेपाली युवाहरुको आर्कषक गतब्य कोरिया र जापान हुने गरेको छ । अन्य युरोपियन देशहरुमा जाने सख्या पनि बढ्दै गएको छ । पछिल्लो समय स्थायी बसोबासको रुपमा अमेरिका र क्यानडा जानेको संख्या पनि उत्तिकै बढी छ । विभिन्न तथ्यांकका आधारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नेपाल बाहिर रहनेहरुको संख्या झण्डै एक करोडको हाराहारीमा भएको अनुमान गरिन्छ ।

पीआर र ग्रीनकार्डका नाममा कतै हामीले हाम्रा सन्ततीलाई पलायन हुन बाध्य पारिरहेका त छैनांै ? छोराछोरी अमेरिका, क्यानडा, अस्टेलिया र युरोपमा छ भन्नेर गर्व गर्न छाडिदिनुहोस् ।

नेपाली समाजमा अहिले विदेशिनु सामान्य बन्दै गएको छ । विदेशीनु विभिन्न कारण छन् ।

प्रथमतः मुलुकमा रोजगारीको अवसर कम छ । त्यसमा पनि नातावाद, कृपावादले गर्दा क्षमता भएका युवाले स्वदेशमा अवसर पाउँदैनन् । दोस्रो, राजनीतिक अस्थिरताले गर्दा केही गरौं भन्ने युवाले राज्यबाट सहयोग र परिवारबाट हौसला पाउँदैन । तेस्रो, विदेशमा आफ्नो छोरीछोरी र आफन्त हुदाँ गर्भ गर्ने समाज छ । चौथो, नेपालमा अवैधानिक बाटोबाट कमाएको धन वैधानिक बनाउन सरकारी उच्चपदस्थ कर्मचारी र नेताले आफ्ना छोराछोरी विदेश पठाएका छन् । पाँचौं, उच्च शिक्षा अध्ययन गर्ने बहानामा विदेशीएका छन । छैठौं, विदेशको सुविधा देखेर आफु र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने उद्देश्यले विदेशिएका छन् ।

यी कारणहरु सँगै केही प्रश्नहरु पनि उब्जिएका छन् । युवापुस्तामा किन विदेश मोह बढी छ ? देशमा अवसर नभएकै हो त ? यसमा मुख्य दोषी को छ ? नेपालको राजनीतिक नेतृत्व वा आर्थिक र सामाजिक संरचना ? युवा प्रतिभा पलायन हुँदै जाँदा के देशको समृद्धि होला ? अबको विकल्प स्वदेशमै अवसरको खोजी गर्ने कि अन्नतकाल विदेशिने ? हालको राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबाट यी कुराहरु सम्बोधन होला ? पक्कै पनि यथास्थितिमा यी कुरा सम्भव छैन ।

विदेशमा नेपालीहरु सामान्य मजदुरदेखि सरकारी उच्च ओहोदामा समेत पुगेका छन् । केही व्यापार व्यवसायमा लागेर मनग्य धन कमाएका छन् । तर, अधिकांश विदेशिएका नेपालीहरुको दैनिकी समान्य नै छ । दैनिक ८ देखि १८ घण्टासम्मको काममा खट्छन् । हप्ताको पाँच दिन नियमित काम हुन्छ । तर, त्यत्तिले मात्र पुग्दैन, सातै दिन काम गर्नेहरु पनि छन् ।

आफ्नो र परिवारको खर्चको जोहो गर्नु र नेपालमा आफूसँग आश्रित परिवारलाई भरथेग गर्न पनि उनीहरुले कडा मिहिनेत गर्दछन् । गाडी र घर हुनेहरुलाई किस्ता र वीमाको प्रिमियरका लागि अझ बढी काम खट्नुपर्छ । विदेशमा राम्रो कामको लागि त्यही देशको शिक्षा महत्वपूर्ण मानिन्छ । नेपालको पढाइले खासै महत्व राख्दैन । प्रोफेसर, डाक्टर, इन्जिनियर, वकिल, नर्स, सीएहरु राम्रो पैसा कमाउने पेशा हुन् । यद्यपि उनीहरुले पनि सम्बन्धित देशको औपचारिक शिक्षा अथवा प्रमाणपत्र लिनैपर्छ ।

विद्यार्थीहरुलाई झनै समस्या छ । कलेज फी तिर्न र आफ्नो खर्च जुटाउन हम्मेहम्मे पर्छ । राम्रो काम नपाउने र काम अनुसारको दाम नपाउने गुनासो धेरैले गर्दछन् । विदेशिएका नेपालीहरुको दुई किसिमको मनोविज्ञान छ । एउटा, जमात केही वर्ष बस्ने ज्ञान, सिप सिक्ने केही आर्थिक जोहो गर्ने र नेपाल फर्केर आफ्नै व्यवसाय शुरु गर्ने । अर्को जमात छ, विदेशमै सेटलमेन्ट हुने । विशेष गरी विदेशमै सेटल हुने पंक्तिले नेपालमा बस्नेहरुलाई लोभ्याउँछ ।

समुद्र नदेखेका हामी नेपाली समद्री किनारा र गगनचुम्बी भवन अगाडि खिचेको फोटोले आकर्षित हुन्छौं । निकै सस्तो मूल्यमा सुविधायुक्त कार चढ्न पाइन्छ । पैसाअनुसार जस्तोसुकै सामान र सुविधा उपभोग गर्न सकिन्छ । त्यसैले मान्छेलाई लोभ्याउँछ ।

सामाजिक सञ्चालमा पोस्ट गर्ने फोटाहरुले विदेशी जीवनको चित्रण गर्दैन । उसले भोग्ने जीवन र देखाउने जीवनशैली फरक छ । ब्यक्तिगत जीवनमा रमाएको जस्तो देखिए पनि यथार्थमा त्यस्तो हुदैन । सामाजिक जीवन शैली शून्य प्रायः हुन्छ ।

आप्रवासीहरुको जीवन सघर्षमै बित्छ । तर, कसैले पनि आफ्नो दुख र संघर्षको कथा सुनाउन चाहँदैनन् । विदेशमा पहिलो पुस्ताका नेपालीहरुको जीवन संर्घष मै बित्छ । उनीहरु पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्न संघर्ष गरिरहेका छन् ।

विदेशिएका नेपालीमध्ये आर्थिक उन्नति राम्रो गर्नेमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, शेष घले, जीवा लामिछाने, भवन भट्टलगायतको नाम पहिलो पंक्तिमा आउँछ । उनीहरुको जीवनशैली देखेर पनि कति युवा उत्साहित हुन्छन् होला । विदेशमा सजिलै आर्थिक उन्नती गर्न सकिन्छ भनेर । तर, सोचेजस्तो सजिलो छैन ।

अमेरिकामा उच्च शिक्षा हासिल गरी आफ्नो गाउँ फर्केर समाज सेवामा अब्बल देखिएका महावीर पुन अहिले सबैको प्रेरणाका पात्र भएका छन् । दुर्गम गाँउमा ताररहित इन्टरनेटको सेवा सञ्चालन गरेर अन्तर्राष्ट्रिय अवार्ड पाएका पुन अहिले राष्ट्रिय आविस्कार केन्द्रका नाममा नवीनतम खोज र अनुसन्धानमा व्यस्त छन् । उनको अभियानमा देश–विदेशबाट राम्रो साथ र सहयोग मिलेको छ ।

नेपालमा भविश्य नदेखेर प्रतिदिन हजारौं युवा विदेशिइरहँदा उदाहरणीय बनेका छन् विराटनगरका ससन देवकोटा । अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा छात्रवृत्ति पाई कृषिमा स्नातकोत्तर गरेका देवकोटाले नेपाल फर्केर मोरङको रंगेलीमा स्टबेरी खेती शुरु गरेर मनग्ये आम्दानी गरेका छन् । नेपालमै सम्भावना छ भन्ने कुरा पुष्टि गरेका छन् ।

पछिल्लो समय विदेशबाट फर्केका युवाहरुले कृषिमा नमूना काम शुरु गरेका छन् । विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिको प्रयोग गरी स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्न थालेका छन् । विदेशको समय, पसिना र मिहिनेत आफ्नै खेतबारीमा लगाउन सके मुलुक कृषिमा आत्म निर्भर हुन्छ । ४०/५० लाख खर्चेर अमेरिका आउनुभन्दा चार पाँच लाखबाटै सानो नविनतम व्यवसाय शुरु गर्न सकिन्छ । काम कुनै पनि सानो र ठूलो हुँदैन, हाम्रो सोच र चिन्तन बदल्नुपर्छ । श्रमको सम्मान गर्ने संस्कृति हामीले नै शुरु गर्ने हो । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने त्यही युवा स्वदेशमा लाज मान्छ । जबसम्म श्रमलाई सम्मान गर्दैनौं, तबसम्म हामी परनिर्भर भइरहन्छौं ।

विदेशमा पनि नेपालमा जस्तै राजनीतिक र सामाजिक गतिविधि निकै देख्न पाइन्छ । विभिन्न संघ संगठनका नाममा हुने कार्यक्रममा नेपाली राजनीतिको प्रभाव देखिन्छ ।

नेपाली नेता एवं कलाकारहरुको घुम्ने अवसर भएको छ, नेपालीहरुले गर्ने कार्यक्रम । कतिपय सामाजिक संघ संस्थाहरुले विदेशबाट ठूलो धनराशी सहयोग पनि गरेका छन् । नेपालका लागि नेपालीले केही गरौं भन्ने मान्यता राखेर सहयोग गरेको पाइन्छ । भूकम्पका बेला होस् या जुनसुकै विपदको घडीमा, नेपालीहरु नेपालमा सहयोग गर्न अग्रसर हुन्छन् । देश छोडेपछि देशप्रेम झनै बढी हुने रहेछ । नेपाली चाँडपर्व मनाउनेदेखि नेपाली गीत संगीतलाई माया गर्ने जमात निकै ठूलो छ । कतिपय नेपाली आफ्ना छोराछोरीलाई नेपाली भाषा संस्कृति सिकाउने अभियानमा छन् भने कतिपय नेपाली संस्कृति भुलेर विदेशी संस्कृतिको रमाएका पनि छन् ।

आफ्नो परिवार, आफन्त र साथिभाई सँग छुट्टिएर बस्ने मन कसलाई हुन्छ र ? रहर या बाध्यता जे भए पनि विदेशिएका नेपाली विदेशमै हराउनु पक्कै पनि देशका लागि राम्रो होइन । सधंै अरुको देशमा श्रम र पसिना बगाई आफ्नो ऊर्जाशील समय खर्च गरेर देशको समृद्धि हुँदैन । हामी अरुको सम्पन्नतामा गर्व गर्नुको साटो मुलुक बनाउने महाअभियानमा लाग्नुपर्छ ।

विदेशको ज्ञान, सीप, पूँजी र प्रविधि मुलुकमा भित्र्याएर कर्मशील बन्नुपर्छ । विदेशिएका गैरआवासीय नेपालीहरुको अनुभव र लगानी नेपालको विकासका लागि उपयोगी हुन सक्छ । विदेशको विकल्प समयमै खोज्न सकिएन भने नेपाल अझै परनिर्भर हुर्दै जान्छ ।

नेपालमा नयाँ व्यवसाय गर्छु भन्दा लगानी नगर्ने तर विदेश जान्छु भन्दा लाखौं रकम लगानी गर्ने अभिभावकले एकपटक गम्भीर भएर सोच्नोस् । पीआर र ग्रीनकार्डका नाममा छोरी दिने अभिभावकले सोच्नोस् । कतै हामीले हाम्रा सन्ततीलाई पलायन हुन बाध्य पारिरहेका त छैनौं ? छोराछोरी अमेरिका, क्यानडा, अस्टेलिया र युरोपमा छ भन्नेर गर्व गर्न छाडिदिनुहोस् ।

कसैसँग तुलना नगर्नुहोस् उसको रुची र इच्छाको काम गर्न छाडिदिनोस् । आफ्नो जमिन बाँझो राखेर विदेशमा डलरको खेती हुने सपना त्यागिदिनोस् । आफ्नै पौरखले आफ्नै पाखो हराभरा बनाउन थाल्नोस् । अनि मिल्नेछ खुशी र आनन्द ।

(लेखक क्यानडामा युवा र रोजगारीको विषयमा अनुसन्धानरत छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment