Comments Add Comment

चौंरी हाइड्रोपावर निर्माण शुरु

काठमाडौं । चौंरी हाइड्रोपावर जलविद्युत आयोजना निर्माण शुरु भएको छ । ६ मेघावाट क्षमताको आयोजना २०७८ मंसिरमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित निर्माण शुरु गरेको हो ।

चौंरी खोला काभ्रपलान्चोक र रामेछापको सिमा भएर बग्ने नदीमा चौरी हाइड्रोपावर प्रालिले विद्युत उत्पादन गर्न लागेको हो ।

आयोजनाको विद्युतगृहबाट बाँध निर्माण स्थलसम्म बाटो खन्ने काम भइरहेकाे आयोजना प्रवर्द्धक कम्पनी चौरी हाइड्रोपावर प्रालिका अध्यक्ष रामचन्द्र न्यौपानेले जानकारी दिए ।

सिन्धुपाल्चोक, रामेछाप, काभ्रे र दोलखाकाको संगम स्थल डाँछेमा बाँध बनाएर काभ्रेको चौंरीदेउराली गाविसको किल्पुमा बनाइएने विद्युतगृहबाट विजुली उत्पादन गरिने छ ।

शैलुङखोला, फेदा खोला र वाफल खोला मिलेको चौंरी खोलामा ४ दशमलब ३६ क्युसेक पानी बग्छ । यी तिनै खोलामा अलग अलग इन्टेक बनाएर विद्युत गृहसम्म पानी ल्याइनेछ । १३ मिटर लम्बाइ र ३.५ मिटर चौडाइको कपर ड्याम निर्माण हुनेछ ।

ड्यामको छेउमा ६७ मिटर लम्बाइको थिग्राउने पोखरी निर्माण हुनेछ । थि्रग्राउने पोखरीबाट डिसेन्डर बेसिनसम्म पानी लैजान १ सय १४ मिटर लामो टनेल मार्ग निर्माण हुनेछ । टनेल मार्ग १ दशमलब ६ मिटर, १ दशमलब ५ मिटर र १ दशमलब ४ मिटर गोलाइ भएका तीन प्रकारका हुनेछ ।

डिसेन्डर बेसीनबाट भने ३ किलोमिट र ५ सय मिटेर लामो पाइपमार्फत पानी लगिनेछ । पाइप कतै भूमिगत कतै खुला हुनेछन् ।

बाँध छेउमा र पावर हाउस छेउमा गरी दुई वटा टनेल निर्माण हुनेछन् । विद्युत गृहबाट ४ सय मिटर माथि निर्माण हुने सर्ज पाइपको छेउमा अर्काे टनेल निर्माण हुनेछ । सर्ज पाइप डबल च्याम्बरको हुनेछ ।

किल्पुमा निर्माण हुने विद्युत गृह अर्धभूमिगत हुनेछ । ३/३ मेगावाटको दुईवटा फ्रान्सिस् टर्वाइन मार्फत विजुली उत्पादन हुनेछन् । त्यहाँबाट उत्पादिन विजुली चौरी देउराली गाउँपालिका ३ निर्माण भइरहेको प्रसारण लाइनमा जोडिनेछ ।

३३ केभिए क्षमताको सवस्टेशन आयोजनास्थलबाट २ दशमलब ५ किलोमिटर टाढा छ । यहाँ बन्ने प्रसारण लाइन सिन्धुपाल्चोकको मुढे हुँदै सुनकोश जलविद्युत आयोजनाबाट केन्दि्रय प्रसारण लाइनमा जोडिने छ ।

आयोजनाको निर्माण लागत १ अर्ब १४ करोड रुपैया रहेकेा न्यौपानेले जानकारी दिए । यो आयोजना स्वदेशी पुजी, स्वेदेशी प्राविधिक र स्वेदेशी कामदारबाटै निर्माण हुन लागेको आयोजना हो । आयोजनामा २८ प्रतिशत प्रवर्द्धकले पुजी जुटाउनु पर्नेछ भने ७२ प्रतिशत बैंकले ऋण प्रदान गर्नेछन् ।

माछापुच्छ्रे बैकसँग लगानी सम्झौता भएको न्यौपानेले जानकारी दिए । आयोजनाले १० प्रतिशत स्थानीयबासी र १५ प्रतिशत सर्वसाधारणलाई शेयर दिनेछ ।

आयोजना निर्माणको ठेक्का सत्यसाइ/नेपाल परी निर्माण सेवा जेभीले पाएका छन् । आयोजनाले निर्माणमा स्थानीयबासीलाई नै सहभागी गराउने रणनीति बनाएको छ ।

स्थानीयबासीलाई पेटी कन्ट्याकमा काम समेत दिइएको सत्यसाइ/नेपाल परि निर्माण सेवाका प्रवन्धक पूर्ण श्रेष्ठले जानकारी दिए । काभ्रेको विकट ठाउँमा आयोजना निर्माण हुन लागेपछि स्थानीयवासी खुशी भएका छन् ।

‘हाम्रो ठाउँमा ठूलो आयोजना पनि आयो । हामीले काम पनि पायौं,’ स्थानीयवासी कृष्ण थापामगरले भने, ‘आयोजना समयमै सम्पन्न गर्न स्थानीयवासीको तर्फबाट सक्दो सहयोग गर्छाै ।’

प्रवर्द्धकले २०६२ सालबाटै आयोजना संभाव्यता अध्ययन शुरु गरेका थिए । २०७२ सालमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भएको थियो ।

२०७२ सालको भुइचालो र सब स्टेशन निर्माण ढिलाई भएकाले आयोजना निर्माण गर्न दुई वर्ष ढिलाई भएको न्यौपानेले जानकारी दिए ।

‘२०७२ को भुइचालोले जमिन छिया छिया भएकाले त्यसको अवस्था अध्ययन गर्नु पर्‍यो’, न्यौपानेले भने, ‘केही संरचना नै परिवर्तन गर्नु पर्‍यो । यसकारण पनि काममा ढिलाई भयो । अर्काे कारणचाहिं सबस्टेशन निर्माणमा ढिलाइ भयो । हामीले विजुली उत्पादन गरे पनि सबस्टेशन नबन्दा विजुली खेर जाने अवस्था थियो । अब सब स्टेशन पनि बन्ने क्रममा छ । हामी पनि निर्माणको काम तिब्र गतिमा अघि बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment