+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कोरोना महामारीमा सक्रिय स्वास्थ्यकर्मी र सफाइकर्मी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते ११:०९

२३ असार, वीरगञ्ज । कोरोना भाइरसको महामारीको समयमा ज्यान जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई वीरगञ्जमा सम्मान गरिएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा पहिलो र दोस्रो लटमा खटिएका नर्सिङ स्टाफ, स्वास्थ्यकर्मी र सफाइकर्मीहरुलाई सम्मान गरिएको हो ।

प्रकृति सेवा प्रतिष्ठान नेपालले नारायणी अस्पतालको सभा हलमा सोमबार सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा निमित्त मेट्रोन श्रुति साह, स्टाफ नर्स एवं आइसोलेसन इन्चार्ज अहेमा थापा, नर्सहरु मनिषा पाण्डे, अस्मिता थापा, प्रिया प्रजापति, दिव्या मिश्रा, श्रृष्टि चौधरी, सविता यादव, सिएमए मनिकलाल यादव, राजिव चौरसिया लगायत २० जनालाई सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै नर्स अहेमा थापाले नारायणीमा काम गरेको २० वर्ष पुग्दा पहिलोपटक सम्मान पाएकोमा एकदमै खुशी लागेको बताइन् । ‘नारायणीमा सेवा गरेको २० वर्ष पुग्यो, जति गरेपनि गुनासो नै आउँथ्यो,’ उनले भनिन्, ‘हिम्मतका साथ कोरोना संक्रमितको उपचारमा खटिएका थियौं । सम्मान पाउँदा एकदमै खुशी लागेको छ ।’

नर्स मनिषा पाण्डेले संक्रमितको सेवामा खटिन अझ हौसला मिलेको बताइन् । ‘नारायणीमा दुईपटक संक्रमितको उपचारमा खटिएको थिएँ, अहिले फेरि गण्डक कोभिड अस्पतालमा खटिसकेको छु,’ उनले भनिन्, ‘सम्मानले अझै राम्रो गरौं भन्ने हौसला मिलेको छ ।’

आइसोलेसनमै खटिएका मनराज साहले सम्मानले कामप्रति थप जिम्मेवारीवोध गराएको बताए ।

प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले कोरोना महामारीमा ज्यानलाई जोखिममा राखेर घर परिवार नभनी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीलाई क्रमशः सम्मान गर्दै जाने बताए ।

कार्यक्रममा प्रहरी उपरीक्षक गंगा पन्तले वीरगञ्जमा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने लगायत सुरक्षा सतर्कतामा कमी आएकोमा चिन्ता व्यक्त गरिन् ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा. मदन नेपाल (उपाध्याय) ले सम्मानले आगामी दिनमा थप राम्रो तयारी गर्नका लागि बल पु¥याउने बताए ।

‘कोभिड महामारीलाई जितिसकेका छैनौं, अहिले मध्यान्तर मात्रै भएको हो । सबैले जिम्मेवारी बुझेर अझै काम गर्नुपर्नेछ,’ उनले भने, ‘आजको सम्मानले भोलिको तयारीका लागि बल पु¥याउनेछ ।’

वीरगञ्ज महानगरपालिकाको उपप्रमुख शान्ति कार्कीले अचानक आएको महामारीसँग लड्न सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?