Comments Add Comment

एन्फा अध्यक्षविरुद्ध अदालतको अवहेलना मुद्धा

२३ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता भएको छ ।

रौतहटको चन्द्रपुर नगरपलिका ६ मा रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समूहको जग्गामा एन्फाले बनाइरहेको महिला फुटबल एकेडेमीको काम यथास्थितिमा राख्नू भनी सर्वोच्च अदालते २०७६ माघ २२ गते अन्तरिम आदेश दिएको थियो । तर एन्फाले अदालतको आदेशअनुसार काम नरोकी निरन्तर अघि बढाएको भन्दै अधिवक्ता सुजित केसीले अवहेलना मुद्दा दायर गरेका हुन् ।

एन्फाले वन समूहको जग्गा अवैधानिक रुपमा लिएर संरचना बनाउन लागेको भन्दै अधिवक्ता केसीले उक्त काम रोक्न माग गर्दै गत माघमा नै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले काम रोक्न अन्तरिम आदेश दिएको थियो ।

तर अन्तरिम आदेशको विषयमा छलफल नहुँदै एन्फाको २०७६ माघ २६ गते बसेको कार्यसमितिको बैठकले ३९ लाख ५७ हजार १ सय १७ रुपैयाँमा निर्माण कम्पनी टेक प्रालिलाई घेरा बार र गार्ड हाउस निर्माण गर्न जिम्मा दिएको थियो ।

त्यस्तै ४५ लाख ९७ हजार ७ सय १ रुपैयाँमा फ्लोरिसिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने निर्णय गरेको थियो । एकेडेमीमा ५७ लाख  ८६ हजार ८ सय ३ रुपैयाँ लागतमा फर्निसिङका लागि भनि नयाँ टेन्डर आह्वान गर्ने निर्णय समेत गरेको मुद्धामा दावी गरिएको छ ।

एन्फाको उक्त निर्णयले अदालतको अवहेलना भएको भन्दै केसीले एन्फा, अध्यक्ष शेर्पा र प्रवक्ता किरण राईविरुद्ध मुद्धा दायर गरेका हुन् ।

‘हालसम्म पनि सम्मानित अदालतमा मुद्दा विचाराधीन अवस्थामा नै रहेको छ । यसरी अन्तरिम आदेशको सम्बन्धमा छलफल नभएको र अन्तरिम आदेश कायम नै रहेको अवस्थामा अदालतको आदेशको मर्म र भावना विपरीत गई विपक्षीले कार्य गरेकोले यस सम्मानित अदालतको अपहेलना भएको छ’ मुद्धामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment