Comments Add Comment

अहिलेसम्म समुदायमा संक्रमण छैन : डा. पाण्डे

२३ असार, काठमाडौं । सरकारले नेपालमा समुदायमा कोरोना संक्रमण नफैलिएको दावी गरेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले संक्रमितमध्ये ८७ प्रतिशत पुरुष हुनु र १५ देखि ५४ वर्षका व्यक्ति हुनुले पनि केसहरु आयातीत नै भएको देखिने दावी गरे ।

‘यदि समुदायमा गएको भए महिला–पुरुष समान रुपमा हुनुपर्थ्यो, त्यो भएको छैन’ स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा उनले भने ।

नेपालमा समूहमा कोरोना संक्रमण पनि धेरै नदेखिएको डा. पाण्डेले बताए । नेपालमा संक्रमित देखिएका ९७ प्रतिशत विदेशबाट आएका र ३ प्रतिशत मात्र बाहिरबाट नआएकाहरु रहेका छन् । उनीहरुको पनि क्वारेन्टिनमा कुनै न कुनै सम्बन्ध देखिएको डा. पाण्डेको दावी छ ।

‘भोलि समुदायमा आउन सक्छ, हामीले (कोरोना भाइरस) सँगसँगै जानुपर्ने अवस्था हुन सक्छ, तर अहिलेसम्म समुदायमा पुगिसकेको छैन’ उनले भने ।

पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दो संक्रमणको घटनाले समुदायमा पुगेको आशंका बढेको छ । डा. पाण्डेले काठमाडौं उपत्यकामा हालसम्म २६७ जनामा कोरोना संक्रमण भएकामा काठमाडौं जिल्लाका १७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना रहेका छन् । तीमध्ये ७९ जना विदेशबाट हालै उद्धार गरी ल्याइएकाहरु हुन् ।

विदेशबाट आएकाहरु धेरैजसो पीसीआर परीक्षणविनै आएकाले उनीहरु संक्रमित पाइएको डा. पाण्डेले बताए । विदेशबाट आएकामध्ये ३५ प्रतिशत हाराहारीकाले मात्र पीसीआर विधिबाट परीक्षण गरी आएका छन् ।

काठमाडौंको कपन, महाराजगञ्ज, चन्द्रागिरी, बुढानीलकण्ठ, गोल्फुटार, नैकाप क्षेत्रका संक्रमित देखिएका छन् । भक्तपुरको सल्लाघारी, चाँगुनारायण र बालकोट र ललितपुरका चापागाउँ, भैंसेपाटी, ठेँचो, गोदावरी क्षेत्रमा संक्रमित भेटिएका डा. पाण्डेले बताए । उनीहरुमध्ये कतिपय हालै बाहिरबाट आएका वा उनीहरुको सम्पर्कमा रहेका र कतिपय कतै पनि लिंक नभएका पनि पाइएको उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा संक्रमण पत्ता लगाउन १२ समुदायको नमुना संकलन भएको र केही दिनभित्र स्थिति थाहा हुने उनको भनाइ छ । ‘नख्खुटोल र तीनकुनेको २२८ जनाको परीक्षण गर्दा उहाँहरुमा कोरोना पोजेटिभ भएको देखिएको छैन’ उनले भने ‘अरु बाँकी रहेको ठाउँको पनि स्याम्पल कलेक्सन भइरहेको छ । त्यसको एक दुई दिनमा नतिजा आउँछ । काठमाडौं स्थिति थाहा हुन्छ ।’

४५ हजारको पीसीआर परीक्षण गरिने

त्यस्तै जोखिम समूह पत्ता लगाएर उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि परीक्षण गर्ने डा. पाण्डेले बताए । भिडभाड हुने कार्यालयमा सेवा लिने, स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेका, क्यान्सर, मिर्गौला रोगीहरुको पनि परीक्षण पनि उनले बताए ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो वा होइन भन्ने पत्ता लगाउन नेपालका केही दिनभित्र ४५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने पनि डा. पाण्डेले बताए । काठमाडौं उपत्यका र बाहिरका १० जिल्लामा कोरोना परीक्षण गर्न लागिएको हो ।

त्रिभुवन विमानस्थलबाट स्वदेश फर्किने सबै र अन्य नाकाबाट प्रवेश गर्नेहरुको पनि तुरुन्तै आरटी पीसीआर विधिबाट परीक्षण गरी समुदायमा कोरोना फैलिने सम्भावनाबारे अध्ययन गर्ने उनले जानकारी दिए ।

‘टीआईएबाट आउने सबैलाई र अरु मुख्यमुख्य नाकाबाट आउनेको देशमा पस्नुभन्दा पहिले परीक्षण गरी कम्युनिटीमा जान खोजेको हो वा होइन भन्ने पत्ता लगाएर जानकारी गराउँछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment