Comments Add Comment

डिसहोमको कथा : टक्करले जन्मियो, ठक्करले दरियो

डेढ अर्बको घाटाबाट उक्सिँदै १० वर्षपछि नाफामा

२४ असार, काठमाडौं । सन् २०१० को अगस्टमा सरकारले डीटीएचमार्फत टेलिभिजन सेवा दिने गरी निजी क्षेत्रलाई अनुमति पत्र खुला गर्‍यो । ८ कम्पनीले लाइसेन्स लिए। डिस नेपाल र होम टिभीले मात्रै सेवा थाल्ने गरी स्याटेलाइटमा स्पेस पनि पाए ।

भारतमा टाटा स्काइ, एयरटेल, भिडियोकोनलगायतका सेवाप्रदायकले हासिल गरेको सफलता देखेर दुवै लगानीकर्ताहरू यो व्यवसायमा हामफालेका थिए । उनीहरूको अपेक्षा थियो, सेवा सुरु गरेपछि केवल टेलिभिजन नपुगेका क्षेत्रमा भटाभटी ग्राहक जोडिन्छन् र सहजै नाफामा गइन्छ ।

तर विनाअध्ययन र अनुभव यो व्यवसायमा पैसा लगाउनेहरू एक महिना नबित्दै चुक्चुकाउन थाले। सेवा थालेको केही हप्तामै उनीहरूको आँखा खुल्यो । उनीहरूले बुझे, ‘ग्राहकहरूलाई जोडेर मात्रै हुँदैन रहेछ, सेवा पनि भरपर्दो चाहिने रहेछ । एउटा बिन्दुसम्म ग्राहकको संख्या नपुगेसम्म लगानी थपिरहनुपर्दो रहेछ । लामो समयसम्म पनि कम्पनी नाफामा लैजान सहज नहुँदो रहेछ ।’

त्यतिबेला दुवै कम्पनीले सुरुवातमै आपसमा तीव्र प्रतिष्पर्धा झेल्नुपर्‍यो । प्रतिष्पर्धा अस्वस्थ हुनसक्ने संकेत सुरुबाटै देखिएको थियो । सेवा थाल्नु अगावै दुवै कम्पनीबीच अन्तरद्वन्द्व सुरु भइसकेको थियो ।

तर छोटो समयको अनुभवले लगानीकर्ताहरूले निष्कर्ष निकाले, ‘यदि लगानी बचाउने हो भने डिस नेपाल र होम टिभी एक गर्नुपर्छ ।’ सेवा सुरु भएको एक महिनापछि नै कम्पनी मर्ज गर्नेबारे छलफल थालिए । निर्णयमा पुग्न लामो समय पनि लागेन । सन् २०११ को फेब्रुअरीमा दुई कम्पनी एक भएर बन्यो, ‘डिस होम ।’

यो त्यही डिसहोम हो, जसले अहिले नेपालका दूरदराजसम्म फेरी-फेरी स्वदेशी-विदेशी च्यानलहरू हेर्ने सुविधा दिइरहेको छ । एउटा छाता र सेटटप बक्स जोड्नासाथ च्यानल रोजीछाडी हेर्न पाइन्छ ।

बाहिरबाट अड्कल गर्दा भव्य कमाएकोजस्तो देखिने डिसहोम यो वर्षबाट बल्ल ‘खुद नाफा’ मा जाँदैछ ।

सुदीप र उनको टिमको कमाल

यो १० वर्षमा कम्पनीले अनेकन हण्डरहरू खायो । नाफाको ग्यारेन्टी नहुने देखेपछि कति लगानीकर्ताहरू बाहिरिए । भित्रका लगानीकर्ताले पटक-पटक भविष्यको आशामा जोखिम मोलेरै लगानी थप्नुपर्‍यो । आम्दानीभन्दा खर्च धेरै हुने अवस्थाका बीचबाट कम्पनीलाई टिकाइराख्न सञ्चालक र व्यवस्थापकहरूलाई कम्ती सकस भएन ।

कम्पनीलाई निकै अप्ठ्यारो अवस्थाका बीच पनि आत्मबलका साथ यहाँसम्म ल्याउनेमध्येका एक हुन्, सुदीप आचार्य । हाल प्रवन्ध निर्देशक रहेका आचार्य २०१० बाट सेवा थाल्दा कम्पनीको बजार विभाग हेर्थे । भर्खर विदेशबाट पढाइ सकेर आएका उनलाई यो प्राविधिक व्यवसायको उतिसारो ज्ञान पनि थिएन । बुबाको प्रेरणामा लगानी गरेकाले उनलाई कम्पनीमा बसेर काम गर्ने जिम्मेवारी मिलेको थियो।

आचार्य आफैँ पनि एकपटक कम्पनीको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएका थिए । तर जिम्मेवारीमा रहँदा निभाएको भूमिकालाई सम्झिएर आचार्यलाई कम्पनीले फिर्ता बोलायो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा उनी सन् २०१५ को अप्रिलमा कम्पनीमा फर्केपछि भने डिसहोमको ग्रहदशा सुधारियो ।

आचार्य डिसहोमले भोगेका अनेकन उतारचढावको साक्षी मात्रै हैनन्, यसलाई आजको अवस्थामा ल्याउने एक सारथि पनि हुन् । नेपाल टेलिभिजनको एउटा च्यानल हेर्न पनि एन्टेनालाई बाँसको खम्बाको टुप्पोमा बाँधेर फनफनी घुमाउनुपर्ने युग अन्त्य गर्ने डिसहोमलाई अझै अघि लैजाने मुख्य जिम्मेवारी पनि उनकै काँधमा छ ।

लगभग डुबिसकेको कम्पनी उतारेका आचार्य र उनको टिमले अझै लामो यात्रा गर्न बाँकी छ। स्थापनाको १० वर्षपछि डिसहोम पहिलोपटक यो वर्ष आफ्ना सेयरधनीलाई लाभांश बाँड्ने अवस्थामा आइपुगको छ । कुनै बेला ‘माइनस’ तिर लागेको कम्पनीलाई अहिले दह्रोसँग उभ्याउन डिसहोमको बोर्ड र व्यवस्थापकीय तथा प्राविधिकको ठूलो हात रहेको बताउँछन्, आचार्य ।

विगत १० वर्षसम्म डिसहोमले जति कमायो, सबै सेवाको सुधारमै खर्चियो । अझ पटक-पटक बाहिरबाट लगानी पनि थप्नुपर्‍यो । यो विगतलाई फर्किएर हेर्दा आचार्यलाई लाग्छ, सजिलै त कम्पनी कहाँ ‘कम्पनी’ बन्ने रहेछ र !

डीटीएचमा आधारित सेवा दिनु प्राविधिक हिसाबले सहज छैन । यो व्यवसाय चाउचाउ, बिस्कुट बनाएर बेच्नुजस्तो थिएन । किनकि एकपटक ग्राहकलाई जोडेपछि उसलाई टिकाइराख्ने गरी थप लगानी र प्रविधिसहितको सेवा दिनुपर्ने दायित्व कम्पनीसँग हुन्छ । त्यसैकारण यो कम्पनीमा विदेशी लगानीकर्ता पनि ल्याइयो । सन् २०११मा ताइवानी कम्पनी सेन मार्टिनोले डिसहोमको ४७ प्रतिशत सेयर किनेको थियो । त्यसपछि कम्पनीले आर्थिक समस्याहरू भोग्नुपरे पनि प्राविधिक पक्षको अवस्था सुधारमा अवसरहरू पायो ।

आचार्य सीईओको रुपमा कम्पनीका फर्केपछि १५ दिनमै भूकम्प गएको थियो । त्यतिबेला उनलाई लागेको थियो, अब झनै गाह्रो पो पर्छ कि क्या हो ? किनकि त्यतिबेला कम्पनीको घाटा १ अर्ब ५० करोडमा पुगेको थियो ।

तर आचार्यसँगको बलियो र सहयोगी टिम थियो । बोर्डले उनीप्रति विश्वास देखाएको थियो । त्यसैलाई आत्मबल बनाएर उनले कम्पनीका व्यावसायिक योजनाहरू बनाए र लागू पनि गरे । कति सफल भए त कति असफल । तर न आचार्य असफलतामा आत्तिए, न सफलतामा मात्तिए ।

डिसहोममा वर्षेनी ग्राहक संख्यामा वृद्धिदर थियो, तर कम्पनीको घाटा पूर्ति गर्न एउटा उछाल चाहिएको थियो । आचार्य फर्किएपछि बैङ्कहरूलाई विश्वासमा लिएर ‘फाइनान्सिङ’ सहज बनाउँदै लगे । लगानीकर्तालाई आश्वस्त परेर थप लगानी गर्न प्रोत्साहित गरे ।

त्यतिबेलै कम्पनीको स्याटेलाइट सेवा प्रदायक पनि परिवर्तन भएकाले छाता मिलाउन र परिवर्तन गर्न प्राविधिकहरूलाई तालिम दिनुपर्‍यो । उनीहरू घर-घरमा पुगे । त्यस क्रममा ग्राहक र प्राविधिकहरूको चिनाजानी भयो । आफूलाई पर्ने विभिन्न खाले समस्याहरू फुकाउन ग्राहकलाई सहज भयो ।

त्यतिबेलै कम्पनीले आफ्नो बिलिङ सिस्टम पनि परिवर्तन गर्‍यो । ग्राहकलाई दिने सर्भिसिङका पक्षमा सुधारहरू गरियो । यिनै प्रयासका कारण सन् २०१५ देखि कम्पनी सञ्चालन मुनाफामा जान थाल्यो ।

तर सञ्चित घाटा डेढ सय करोडभन्दा  माथि भएकाले त्यसबाट उक्सिन कम्ता चुनौती थिएन । विदशी कम्पनी आएकाले सञ्चालन मुनाफाको ४७ प्रतिशत रकम लैजाने भएकाले पनि ५३ प्रतिशतको नाफा रकमबाट त्यति ठूलो घाटालाई ‘रिकभर’ गर्नु अजङ्गको पहाड फोर्नुजत्तिकै थियो।

आचार्य भन्छन्, ‘सुरुबाटै लिइएको व्यावसायिक योजनाहरू पनि सफलताका कारक हुन् ।’

कम्पनीले सुरुवातबाटै आफ्नो सेवा केबल टेलिभिजन नपुगेका विकट जिल्ला र गाउँबस्तीमा केन्द्रित गरेको थियो । त्यतिबेला काठमाडौंमा नै भारतीय डीटीएच बिक्री हुन्थे । थाई डीटीएचको पनि प्रयोग भइरहेको थियो । त्यसलाई हटाउन प्रहरी प्रशासन गुहार्नेदेखि कम्पनीले विदेशी डीटीएच साट्ने योजनासम्म ल्याउनुपर्‍यो ।

अवसर र चुनौती

अहिले नेपालभर नै डिसहोमको कभरेज छ । करिब १० लाख ग्राहक छन् । डिसहोमले आफूलाई प्रविधि र ग्राहकको मागअनुसार ढाल्दै पनि लगेको छ ।

तर अझै पनि प्रदेश नम्बर २ मा डीटीएचको प्रयोगकर्ताको संख्या १० प्रतिशत मात्रै छ । त्यहाँ अझै पनि भारतीय डीटीएचको बोलवाला छ । डिसहोमको छाता राखेर भारतीय डीटीएचको प्रयोग गर्नेहरू अझै पनि थुप्रै छन् ।

समग्र तराई मधेशमा डिसहोमको उपस्थिति पहाडी र हिमाली भेगमा जस्तो बलियो छैन । कम्पनीले यसलाई चुनौती र अवसर दुवै रुपमा हेरेको आचार्य बताउँछन् ।

अहिले मान्छेको आकर्षण ह्यान्ड डिभाइसहरूमा छ । धेरैले मोबाइल, ल्यापटप, ट्याबलगायतमा बढी समय बिताउन थालेपछि डिसहोमले ‘डिसहोम गो’ एप ल्याएको छ । आफ्ना ग्राहकलाई यसमार्फत अहिले २० वटा च्यानल हेर्न दिइएको छ । भविष्यमा ठूलो संख्यामा च्यानलहरू दिने योजना छ ।

कम्पनीले भिडिओ अन डिमान्ड (पे पर भ्यु) सुविधा दिएको छ । कुनै टेलिभिजन सामग्री हेर्न समय नभए पेनड्राइभ वा मेमोरी कार्डमा रकर्ड गरेर आफूलाई उपयुक्त हुने समयमा हेर्न सकिन्छ ।

डिसहोममा ‘ल्यान्डिङ’ (सो-केस) च्यानलहरू पनि सञ्चालनमा छन् । विभिन्न जनचेतनामूलक सामग्री यसमा बजाइन्छ । लकडाउनमा घरमै थुनिएका विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहज होस् भनेर टेलिभिजन कक्षा पनि सञ्चालन हुँदैछ।

‘सिनेमा घर’का रुपमा २ वटा च्यानल छन् । यिनीहरूले नेपाली चलचित्र हेर्ने प्रोत्साहन दिइरहेको आचार्य बताउँछन् । उनका अनुसार दूरदराजमा मान्छेलाई हलमा गएर फिल्म हेर्न नपाउने अवस्थालाई हेरेर यस्तो सेवा दिइएको हो । अहिले सहरकै ग्राहकले पनि यसलाई रूचाएका छन् । त्यसैले तेस्रो सिनेमा घर च्यानल पनि सञ्चालन गर्ने तयारी भएको छ ।

अब डिसहोमले ‘आईपी बक्स’ भएका ग्राहकलाई डिसहोमको सर्भरमा भएका भिडियो सामग्री आफूले चाहेको समयमा हेर्न सकिने सुविधा (पीभीओ) दिने तयारी गरिरहेको छ । कम्पनी एन्ड्रोइड बक्स लगायतका सेवा दिने योजनामा छ।

आचार्य ग्राहकलाई डिसहोमसँग जोडिराख्न थप प्रयासहरू गरिरहेको बताउँछन् । ग्राहक समस्यामा समाधान गर्न कम्पनीको आफ्नै सपोर्ट सिस्टम छ । १४ ठाउँमा सर्भिस सेन्टर छन् । ८ सय जना स्वतन्त्र सर्भिस फ्रेन्चाइजी छन् । समस्या पर्दा ग्राहकले कल सेन्टरमा फोन गर्छन् । प्राविधिक जटिलता आए सर्भिस फ्रेन्चाइजीहरु घरसम्मै पुग्छन् ।

अहिले लकडाउनले डिसहोमलाई समस्या परेकै छ । ग्राहकको वृद्धिदर घटेको छ । भाडामा बस्नेहरूले सहर छाडेको तथा होटल र रेस्टुरेन्टहरू बन्द भएको लगायतका कारण डिसहोमले पनि समस्या भोगेको छ । तर पनि कम्पनीले ग्राहकलाई विभिन्न सुविधाहरु दिएर सन्तुष्ट राख्न कोसिस गरिरहेको बताउँछन् प्रवन्ध निर्देशक आचार्य ।

सरकारको सारथि

१० वर्षको इतिहासमा डिसहोमले टेलिभिजन हेर्ने जनताको स्वाद मात्र फेरेन, नेपालमा टेलिभिजन डिजिटाइजेसनको पनि नेतृत्व गर्‍यो । करिब ७ सय एनालग केबल अपरेटरबाट ७ वटा मल्टिसर्भिस अपरेटरमा खुम्च्याएर ग्राहकलाई ‘झ्यार-झ्यार’ टेलिभिजन हेर्नुपर्ने अवस्था घटाउन डिसहोमको भूमिका रह्यो । यसकै कारण सरकारलाई टेलिभिजनको प्रसारकलाई नियमन गर्न पनि सहज अवस्था बनेको छ । सेवाप्रदायकको ग्राहक संख्या र आम्दानी पारदर्शी हुँदा करको संकलन प्रभावकारी बन्न पुगेको छ ।

‘भारतमा नै पनि टेलिभिजनको डिजिटाइजेसनमा सरकारले नेतृत्व लिएको थियो,’ आचार्य भन्छन्, ‘तर यहाँचाहिँ सरकारले डिजाइटाइजेसनको टर्च लियो, बत्ती हामीले नै बाल्यौं ।’

अब सरकारले लागू गर्न लागेको क्लिन फिडमा सबैको चासो  छ । डिसहोम पनि सरकारको यो नीतिको विपक्षमा छैन । तर विदेशी च्यानललाई विज्ञापनरहित बनाउने सरकारी नीति कार्यान्वयन कसरी होला भन्ने चिन्ता भने छ ।

एउटा भारतीय च्यानललाई भारतमै ‘अपलिंक’ गर्नुअघि क्लिन फिड (विज्ञापनरहित) गर्न ५ देखि ७ करोड खर्च हुने अनुमान छ । त्यसअनुसार करिब १२० वटा भारतीय च्यानल क्लिन फिड गर्दा नै ६ अर्बमाथि खर्च हुने देखिएको छ ।

त्यसमाथि अन्य विभिन्न करलगायतका खर्च जोड्दा भारतबाट क्लिन फिड सामग्री ल्याउन मात्रै करिब थप १० अर्ब खर्च हुने देखिएको छ । त्यति महँगो मूल्यमा च्यानलहरू ल्याएर प्रसारण गर्दा त्यसको आर्थिक भार उपभोक्तामाथि थपिने आचार्यले बताए ।

त्यसैले डिसहोमको प्रस्ताव छ, नेपालमै ल्याएर त्यस्ता च्यानलहरूको क्लिन फिड गरौं । त्यसका लागि करिब एक अर्ब लाग्ने अनुमान छ। ‘विज्ञापनमा ४/५ सय करोड कमाउन हामी १०० करोड खर्च नगरौं,’ आचार्य भन्छन्, ‘नेपालमै क्लिनफिड गरेर प्रसारण गर्ने व्यवस्था सबैभन्दा उत्तम हुन्छ ।’

डिसहोम अब विदेशी च्यानलको सामग्रीमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्नेतर्फ पनि सरकारी योजना र नीति खोजिरहेको छ । नेपालकै मौलिक टेलिभिजन सामग्री पनि विश्वस्तरीय बनाउन सकिने उल्लेख गर्दै आचार्य भन्छन्, ‘हाम्रो आफ्नोपन झल्किने भिडियो सामग्रीको उत्पादनमा अब सरोकारवाला सबैले जोड दिनुपर्छ, कहिलेसम्म हामी भारतीय सिरियल हेरेर बस्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment