+
+
Shares

सवारी पास सिफारिसमा पनि शुल्क लिन्छन् वडा कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १५:०३

२४, असार, चितवन । कोरोना महामारीका समयमा हाल एक जिल्लाबाट अर्को जिल्लामा जान अहिले सम्बन्धित स्थानीय तहको वडाको सिफारिस अनिवार्य गरिएको छ ।

स्थानीय तहकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने भएकाले यस्ता सिफारिस धेरै महत्वपूर्ण छ ।

यही मौकामा चितवनको भरतपुर महानगरपालिकाका वडा कार्यालयहरुले यस्ता सिफारिसको पनि धमाधम दस्तुर उठाउन थालेका छन् ।

महानगरपालिकाको वडा नं. १०, १२, ३ लगायतका वडाहरुले सवारी पास सिफारिस दस्तुर उठाउँदै आएको भेटिएको छ ।

भरतपुर वडा नं १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले पास सिफारिस दस्तुर उठाएको बताए । उनले अन्य सिफारिस दस्तुर सरह नै सिफारिस शुल्क लिएको उनको भनाइ छ । दैनिक १२ भन्दा बढी यस्ता सिफारिस दिने गरिएको उनले बताए ।

कन्दङ्वाले आफूले मात्रैं नभई अन्य वडाहरुले पनि शुल्क उठाएको र सो बारेमा महानगरपालिकालाई जानकारी गराएको बताए । भरतपुर वडा नं. ३ ले सिफारिस दस्तुर लिएर बन्द गरेको छ । वडाध्यक्ष चन्द्रमित्र पण्डितले सुरुका केही दिनमा सिफारिस दस्तुर महानगरले तोके अनुसार लिँदा जनताले गुनासो गर्न थालेपछि बन्द गरिएको बताए ।

भरतपुर वडा नं. ५ का वडाध्यक्ष पदमपाणि सुवेदीले पास सिफारिस दस्तुर आफूहरुले नलिएको बताए । उनले यस्तो संकटको बेलामा पासको सिफारिस दस्तुर लिनु राम्रो नहुने प्रतिक्रिया दिए ।

‘सिफारिस दिए पनि पास बन्छ बन्दैन ठेगान हुँदैन, बनेन भने बेकारजस्तो हुन्छ, त्यसैले सिफारिस दस्तुर लिएको छैन, अन्य वडाले लिएका छन्’ उनले भने ।

भरतपुर महानगरपालिकाको प्रवक्तासमेत रहेका वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले पनि पास सिफारिस दस्तुर उठाइएको बताए । उनले भने, ‘हामीले आफू खुसी लिएको होइन । महानगरपालिकाको निर्णयअनुसार शुल्क लिएका हो ।’

सेवा शुल्क वापतको बिल र रसिद पनि दिने गरेको उनले बताए । ‘म राजस्व परामर्श समितिको सदस्य हो’ भण्डारीले भने, ‘महानगरको नीति तथा कार्यक्रममा नै व्यवस्था भएको कुरा हो ।’

उनले बिपतको समयमा हुने समस्या आफूहरुले बुझ्ने भन्दै कतिपय मानिसहरु आफूखुसीसमेत पैसा तिरेर सिफारिस लैजाने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?