Comments Add Comment

बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन घोषणा

२४ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत महासंघले आगामी शुक्रबार माइतीघर मण्डलामा तालाचावीसहित प्रदर्शन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

‘कोरोना भाइरसका कारण यतिबेला समग्र उद्योगी-व्यवसायीहरु निकै कठिन अवस्थाको सामना गरिरहेका छौं, यस्तो कठीन अवस्थाका बारेमा सरकार पनि जानकार छ’ पत्रकार सम्मेलनमा अध्यक्ष कटुवालले भने, ‘हामीले हाम्रा समस्याहरुबारे जानकारी गराउँदा गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय लिनसकेको छैन, हामीले उठाएका मागहरुका विषयमा सरकार अझै गम्भीर नबनेकाले हामी आन्दोलनमा जान बाध्य भएका छौं ।’

महासंघले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेको छ । ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नु पर्ने बताएको छ ।

अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिका लगायतका मेयरलाई भेटेर घरभाडा छुटका लागि सहजीकरण गरिदिन आग्रह गरिएको तथा बुधबारमात्रै महासंघको टोलीले नेपाल राष्ट्र बैंकमा पनि ब्याजदर घटाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

भोलिसम्म सरकारले संवादमार्फत समस्या समाधान गर्छ कि भन्ने अपेक्षा गरिने उनले बताए । सरकारले बेवास्ता गरे शुक्रबार विहान माइतिघरमण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जानकारी दिए । त्यसलाई पनि बेवास्ता गरे चरणबद्ध आन्लोलनका कार्यक्रमहरु घोषणा गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment