
२४ असार, वीरगञ्ज । बारा र पर्साका उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायलाई चलायमान बनाई राख्न भन्दै सरकारसमक्ष विभिन्न माग राखेका छन् ।
उनीहरुले विद्युत महसुल र डिमाण्ड शुल्क छुट गरिदिन, कर तथा राजस्व बुझाउने समय बढाउन, बैंक ब्याज घटाउनुका साथै ब्याज तथा किस्ता भुक्तानी गर्ने समययावधि थप गर्न, कर तथा राजस्व फिर्तामा ढिलाई नगर्न, पुनर्कर्जा सुविधा प्रदान गर्न र लकडाउन अवधिको बिमाको प्रिमियम छुट गरिदिन माग गरेका हुन् ।
यसबारेमा उनीहरुले प्रधानमन्त्री के.पी. शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीमार्फत बुधबार उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाण्डौंमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्रमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोदप्रसाद साह जीतपुर सिमरा उ.वा.सङ्घका अध्यक्ष सञ्जय साहले हस्ताक्षर गरेका छन् ।
निजी क्षेत्रलाई चलायमान बनाउन सरकारको ध्यानाकर्षण गराएको वीरगञ्ज उद्योग वणिज्य संघका महासचिव माधव राजपालले जानकारी दिए ।
‘कोरोना महामारीले विश्वव्यापी रुपमा आर्थिक मन्दी चलिरहेको छ । यसबाट पार पाउन विश्वका कतिपय मुलुकमा सरकारले आर्थिक क्षेत्रको पुनरुत्थानका लागि राहत प्याकेज घोषणा गरिरहेका छन्’ राजपालले भने ‘हाम्रो मुलुकमा पनि निजी क्षेत्रले अपूरणीय क्षति भोग्नु परिरहेको छ । यसलाई दृष्टिगत गर्दै पुनः चलायमान बनाई जीवन्त राख्न सरकारले सहयोग गर्नुपर्छ ।’
प्रतिक्रिया 4