Comments Add Comment

बैंकको किस्ता तिर्न सकिएन हजुर, १५५ बसको चाबी लिनोस् !

यातायात व्यवसायीले भने- मार्ने वा बचाउने हजुरकै हातमा छ

२४ असार, पोखरा । पोखराका ८ निजी संस्थाले कोरोनाका कारण थला पारेको बताउँदै सरकारले राहत प्याकेज नल्याए बैंकमा तालाचाबी बुझाउने ३१ वैशाखमा चेतावनी दिएका थिए ।

तर, असार मसान्त नजिकिँदै जाँदा बैंकहरुले किस्ता र ब्याज बुझाउन ताकेता गर्न थाले । लकडाउन बिस्तारै खुकुलो हुँदै गएर अन्य क्षेत्र खुल्दै जान थाले पनि सरकारले ठोस निर्णय गर्न नसक्दा सार्वजनिक बसहरु अहिलेसम्म ग्यारेजमै थन्किएका छन् ।

अन्ततः आजित भएर पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंकलाई बसको चाबी बुझाउन थालेको छ । सञ्चालक कम्पनीका पदाधिकारीले बुधबार पोखरामा रहेका ८ बैंकमा ६५ वटा गाडीको कागजात र चाबी बुझाउँदै भने, ‘किस्ता तिर्न सकिएन हजुर, व्यवसायीलाई मार्ने, बचाउने हजुरहरुकै हातमा छ ।’

समितिले अहिलेसम्म १५५ वटा गाडीका कागजातसहित चाबी बैंकमा बुझाइसकेको छ । पृथ्वी राजमार्गका १४ सय गाडीमा बैंक तथा वित्तीय संस्थाको अनुमानित ६ अर्ब लगानी कम्पनीको भनाइ छ ।

कोरोनामा महामारीमा किस्ता र ब्याज तिर्ने समयावधि बढाउन माग गर्दै बैंकमा चाबी बुझाइएको अध्यक्ष योगेन्द्र केसीले बताए ।

‘किस्ता तिर्न सक्ने अवस्था नभएपछि लोन लिएका बैंकमै लगेर चाबी बुझाउन थालेका हौं । ब्यवसायी डिप्रेसनमा जाने अवस्था नै सिर्जना भइरहेको छ,’ अध्यक्ष केसीले भने, ‘व्यवसायीलाई सान्त्वना र सरकारलाई दबाव दिन बैंकमा चाबी बुझाएका हौं ।’

सरकारले तत्काल सार्वजनिक बसका विषयमा निर्णय नगरे थप आन्दोलन घोषणा गर्ने केसीले चेतावनी दिए । लकडाउनको अवधिलाई शून्य मानेर कर्जाको किस्ता र ब्याज तिर्ने अवधि कम्तिमा ६ महिना बढाउन व्यवसायीले माग गरेका छन् ।

बुधबार बस व्यवसायीले मेगा बैंकमा १८, कामना बैंकमा १७, सिद्धार्थ बैंकमा १४ र सांगि्रला बैंकमा १६ वटा गाडीको चाबी बुझाएका छन् ।

यसअघि एनएमबीमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १७, गरिमा बैंकमा १८ वटा गाडीको चाबी प्रालिले बुझाएको थियो ।

‘हामीलाई मुख्य ३ वटा समस्या छ । बैंकको किस्ता र ब्याज तिर्ने समस्या, दैनिक रोजिरोटी र गाडी ग्यारेजबाट कसरी निकाल्ने भन्ने चिन्ता छ,’ केसीले अनलाइनखबरसँग भने, ‘रोजिरोगी र गाडी निकाल्ने चिन्ता हामी लिन्छौं । किस्ता र ब्याज तिर्ने समयावधि बढाएर यो समस्या सरकारले सुल्झाइदिओस् भन्ने हो ।’

चैत ११ गतेदेखि सार्वजनिक बस ग्यारेजमै थन्किएका कारण फेरि चल्ने स्थितिमा ल्याउनै ठूलो खर्च गर्नुपर्ने अवस्था रहेको व्यवसायीको गुनासो छ । गाडीहरु पार्टपूर्जा जाम भएर, खिया लागेर  थन्क्याउनु परेकाले व्यवसायीलाई अझै लगानी थप गर्नुपर्ने स्थिति लकडाउनले सिर्जना गरेको अध्यक्ष केसीले बताए ।

बैंकमा किस्ता ताकेता गर्दै मानसिक तनाब नदिन व्यवसायीलाई बैंकसँग आग्रह गरेका छन् । बैंकका सीइओहरुले किस्ता र ब्याज बुझाउने राष्ट्र बैंकको नीतिअनुसार चल्नुपर्ने भए बताउँदै लामो समय किस्ता नतिर्नेलाई मात्र फोन गरिरहेको बताए ।

‘व्यवसायीका पीडा छन् । माग जायज छन् । तर, बैंकले आन्तरिक रुपमा गर्न सक्ने छुट गरिसकेका छौं,’ गरिमा विकास बैंकका सिइओ गोविन्द ढकालले भने, ‘अब राष्ट्र बैंकले कस्तो नीतिअनुसार हुन्छ ।’

राष्ट्र बैंकको मौदि्रक नीति पर्खन बैंकका सिइओहरुले अनुरोध गरेका छन् ।

साउन ७ पछि सडकमा गाडी निकाल्छौं

देशमा लकडाउन खुकुलो बजार बिस्तारै खुल्न थालेका छन् । मान्छेहरुका चहलपहल र आवात-जावत बढ्न थालेको छ । तर, सार्वजनिक बसहरु भने चलेका छैनन् ।

सरकारले साउन ७ गतेसम्म लकडाउन घोषणा गरेको छ । तर, साउन ७ गतेपछि पनि मापदण्ड तयार पारेर सार्वजनिक बस चल्ने वातावरण मिलाइएन भने चुप लागेर नबस्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनिले चेतावनी दिएको छ ।

‘व्यवसायी मारमा छन् । मजदुर अलपत्र छन् । सबै बजार खुल्दा अब सार्वजनिक बस पनि खुलाउने गरी मापदण्ड तयार पारियोस्,’ अध्यक्ष केसीले भने, ‘साउन ७ पछि पनि यस्तै अवस्था रहे गाडी सडकमा निकाल्छौं ।’

पृथ्वीका बसमा ३ हजारभन्दा बढी मजदुर आश्रति रहेको कम्पनीको भनाइ छ । ‘करिव ६० प्रतिशत सवारी साधन स्वरोजगार व्यवसायीबाट सञ्चालित छन् । यातायात सञ्चालनमा सरकारले नै वन्दावन्दी घोषणा गरेको अवस्थामा कर्जाको साँवा तथा व्याज (किस्ता) बुझाउन सकिने अवस्था छैन,’ केसीले भने, ‘अर्कोतर्फ सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनहरुको व्याट्री, टायर तथा पार्टपूर्जा लगायत न्यूनतम मर्मतको लागि तत्काल एक लाख रुपैयाँ लगानी गर्नुपर्ने परिस्थिति भएकाले यो रकमसमेत जोहो गर्न सकिने अवस्था छैन ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment