Comments Add Comment

इंग्ल्याण्ड र वेष्टइन्डिजबीचको टेष्ट : पहिलो दिन वर्षा बाधक

२५ असार, काठमाडौं । चार महिनापछि फेरि मैदान फर्किएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो दिन वर्षा बाधक बन्दा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेष्टको पहिलो दिन १७.४ ओभरको खेल मात्र सम्भव भएको छ ।

कोरोना महामारीले गत मार्चदेखि स्थगित रहेको क्रिकेट ११७ दिनपछि पुनरागमन भएको हो । तीन टेष्टको सिरिजअन्तर्गत बुधबारदेखि पहिलो टेष्ट सुरु भएको हो । साउथह्याम्पटनको एजेस बाउलमा भएको खेलमा बारम्बार वर्षा बाधक बनेको थियो ।

नियमित कप्तान जो रुट अनुपस्थित भएपछि इंग्ल्याण्डको नेतृत्व गरेका बेन स्टोक्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । त्यसअघि नै सुरु भएको वर्षाले गर्दा लन्चसम्म खेल नै हुन सकेन ।

त्यसपछि पनि दुई पटक वर्षाले खेल प्रभावित हुँदा जम्मा १७.४ ओभरको खेल भयो । पहिलो दिन इंग्ल्याण्डले १ विकेट गुमाएर ३५ रन जोडेको छ ।

खेलको दोस्रो ओभरको चौथो बलमा वेष्टइन्डिजका शानन गाब्रियले इंग्ल्याण्डका ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड गरेका थिए । जतिखेर घरेलु टोलीले रनको खातासमेत खोलेको थिएन ।

अर्का ओपनर रोरी बर्न्सले ५५ बलमा ३ चौकासहित अविजित २० रन बनाएका छन् । जो डेनली १४ रनमा अविजित छन् ।

खेलअघि दुवै देशका खेलाडी, अम्पायर, अफिसल सबैले रंगभेदी ब्यवहारको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment