
२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन् ।
देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
सिन्धुपाल्चोकमा आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । दुई जनाको शव भेटिएको छ भने केही बेपत्ता छन् । नदी किनारका घरहरु बाढीले बगाएको छ । अरनिको राजमार्गमा पर्ने पक्की पुल र बाटो समेत बाढीले बगाएपछि आवत–जावत अवरुद्ध भएको छ ।
कांग्रेस सभापति देउवाले बाढीका कारण अमूल्य जीवन गुमाउने नागरिकको परिवारजनप्रति समवेदना व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् ।
कांग्रेसले विपत ब्यवस्थापनको उच्चस्तरीय तयारी प्रारम्भ गर्न सरकारको पुनः ध्यानाकर्षणसमेत गराएको छ ।
प्रतिक्रिया 4