Comments Add Comment

गुम्बा संरक्षण प्रवद्र्धनमा जुट्न पर्यटनमन्त्रीको निर्देशन

२५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संस्कृतिको प्रवद्र्धनमा गुम्बाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसको यथोचित संरक्षण र विकासमा जुट्न आग्रह गरेका छन् ।

बौद्ध दर्शन, प्रवद्र्धन तथा गुम्मा विकास समितिको पुल्चोकस्थित कार्यालयको निरीक्षणमा पुगेका मन्त्री भट्टराईले पवित्र र ऐतिहासिक स्थलका रुपमा रहेका गुम्बाहरुलाई भगवान गौतमबुद्धले अघि सारेका मानवतावादी विचार र अहिंसा, शान्ति र सद्भावको प्रचार प्रसार गर्न प्रेरित गरिनुपर्ने उल्लेख गरे ।

मन्त्री भट्टराईले नेपाल र मित्र राष्ट्रबीचको सम्बन्धलाई हार्दिक र सुदृढ बनाउन प्रभावकारी भूमिका खेल्न आग्रह गरे । उनले कुनै पनि मित्रराष्ट्रको सम्वेदनशीलतालाई ख्याल गरी धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउन पनि निर्देशन दिए ।

उनले देशभरका गुम्बामा के कस्ता गतिविधि भइरहेका छन् तिनको प्रभावकारी अनुगमन गर्न तथा गुम्बाभित्र कुनै पनि अवान्छित गतिविधि हुन नदिन निर्देशन समेत दिए । मन्त्रालय मातहत निकायका काम कार्बाहीलाई शत प्रतिशत सम्पन्न हुनेगरी काम गर्न आग्रह गर्दै पर्यटनमन्त्री भट्टराईले प्रत्येक महिना मन्त्रालयमा प्रगति पेश गर्न पनि निर्देशन दिए ।

विश्वमा अर्बौै मानिस बुद्धका अनुयायी रहेकामा गौरव गर्दै विश्व सम्पदाको जगेर्ना गर्दै बुद्ध सम्बन्धी अध्ययन अनुसन्धानको तीर्थ स्थल नेपाल बनाउनेगरी काम गर्न समेत गुम्बा विकास समितिका पदाधिकारीलाई निर्देशन दिए । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले संस्थाको प्रभावकारिता बढाउँदै जादा स्रोत आफै जुट्ने बताउदै गुम्बा विकास समितिलाई चाहिने आवश्यक नियमावलीको मस्यौदा तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिए ।

समितिले चालु आबमा ५७ प्रतिशत मात्रै काम सकिएको प्रतिवेदन पेश गरेको छ । समितिमा हाल देशभर दुई हजार ८२२ गुम्बा आवद्ध छन् । समितिका अध्यक्ष फूपु छेम्बे शेर्पा (जिक्डोल) ले देशभरका गुम्बालाई समिति मातहत ल्याई संस्थालाई सम्पूर्ण बौद्धमार्गीको आस्थाको केन्द्र बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment