Comments Add Comment

प्रदेश १ र २ मा डुवानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन

प्रदेश २ को विपद व्यवस्थापन समितिको बैठक ।

२६ असार, विराटनगर । बिहीबारदेखि सुरु भएको भारी वर्षाका कारण बाढी र ढुवान हुन सक्ने भन्दै प्रदेश १ र प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् । उनले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री राउतले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशनसमेत दिए ।

बैठकमा जोखिम न्यूनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो ।

प्रदेश १ मा सम्भावित जोखिम न्युनीकरणका लागि पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यावस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

नदी किनारका बस्तीमा हुनसक्ने क्षति प्रति सजग हुन र आवश्यक पूर्वतयारी गर्न पनि निर्देशन दिएको उनले बताए । स्थानीय स्तरमा जोखिमको पूर्वतयारी र सचेतनाका स्थानीय तहहरु सक्रिय हुनुपर्ने उनले बताए ।

मोरङमा उद्दार सामाग्री र जनशक्ति तयारी अवस्थामा

बाढी र डुबानबाट हुनसक्ने सम्भावित जोखिम कम गर्न मोरङमा पूर्वतयारी गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । उनले सम्भावित क्षति कम गर्न उद्दार सामाग्री र दक्ष जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

विहीबार जिल्ला विपद व्यावस्थापन समितिको बैठकले उद्दार र राहतका लागि तयारी अवस्थामा बस्ने निर्णय गर्दै आवश्यक तयारी गर्न सबै निकायसँग समन्वय गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment