Comments Add Comment

साग सफल बनाएका सिलवाल सदस्य सचिवमा फर्किएलान् ?

काठमाडौं । के रमेश सिलवाल फेरि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदमा फर्किएलान् ? खेलकुद वृत्तमा अहिले यो प्रश्न तीव्र छ ।

नयाँ खेलकुद २०७७ लागु भएसँगै उब्जिएको प्रश्न हो यो । ऐन लागु नभएको भए अहिले सिलवाल आफ्नो चार वर्षे कार्यकालको दोस्रो वर्षमा हुन्थे । असार मसान्तको काम सकाउने चटारो हुन्थ्यो होला उनलाई । तर अहिले स्थिति फेरिएको छ ।

याँ खेलकुद ऐन लागु भएपछि सदस्य सचिवबाट पदमुक्त भएका सिलवाल अहिले घरमै फुर्सदमा छन् । अब नयाँ सदस्य सचिव को बन्ला भन्ने बहस सुरु भएको छ । फेरि सिलवालले नै पुनः नियुक्ति पाउने आँकलन पनि धेरैले गरेका छन् । सदस्य सचिवसँगै राखेपका पदाधिकारीहरु सबै पदमुक्त भएकाले सदस्य सचिवसँगै राखेप बोर्ड नै गठन गर्नुपर्ने अवस्था छ ।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव नियुक्त गर्नका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । शुक्रबार गठन भएको उक्त समितिले सदस्य सचिव नियुक्ति सम्बन्धी कार्यविधिसमेत बनाएको छ । सदस्य सचिवको लागि दरखास्त पेस गर्न ७ दिनको समयसिमा तोक्दै शुक्रबारै सूचना समेत प्रकाशित गरिएको छ ।

अब योग्यता, दक्षता र खुल्ला प्रतिस्पर्धाको आधारमा सदस्य सचिव नियुक्त हुनेछन् । यसअघि राजनीतिक नियुक्तिबाटै राखेपले सदस्य सचिव पाउँदै आएको थियो । गत वर्ष सरकारले नै सदस्य सचिव नियुक्त गरेका सिलवालले नयाँ ऐन आएपछि कार्यकाल बिचमा छोड्नुपरेको हो । त्यसैले पनि उनी अब फेरि उक्त पदमा फर्कन्छन् कि फर्कन्न भन्ने विषयमा अहिले कौतुहल छ ।

खुल्ला प्रतिस्पर्धा भएकोले अहिले योग्यता पुगेका जोकोहीले पनि सदस्य सचिवका लागि उमेदवारी दिन पाउनेछन् । तर यसअघि उक्त पदमा रहेर काम गरेका, प्रधानमन्त्री केपी ओलीको निकट मानिने र १३औं साग सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेकाले पनि सिलवाल नै उक्त पदमा फर्कने सम्भावना रहेको हो ।

अब सदस्य सचिवको उम्मेदवारी दिने म्याद केही दिन बाँकी छ । यस्तोमा सिलवाल पुनः दरखास्त हालेर राखेपको सचिव बन्छन् बन्दैनन् भन्ने अहिलेसम्म प्रष्ट भएको छैन । यो प्रक्रिया सुरु हुनुअघिसम्म उनले आफू दरखास्त हालेर सदस्य सचिव बन्न नजाने स्पष्ट पारेका थिए । सिफारिस समिति नबन्दासम्म र कार्यविधि नआउँदासम्म भने उनले आफू सरकारले बोलाएमा एक कार्यकाल थप काम गर्न तयार रहेको बताएका थिए ।

अब कार्यविधि आएपछि सदस्य सचिव बन्नका लागि दरखास्त दिनैपर्ने भन्ने प्रावधान छ । यसमा सिलवालले तत्कालै कुनै निर्णय गरेका छैनन् । अब तपाईँ के गर्नुहुन्छ भन्ने प्रश्नमा सिलवालले भने, ‘भर्खर कार्यविधि आएको छ । अब त्यो अध्ययन गर्छु अहिल्यै हतार छैन ।’

गत वर्ष मात्रै चार वर्षको लागि राखेपको सदस्य सचिव नियुक्त भएका सिलवाल नयाँ ऐन लागु भएपछि एक वर्ष कार्यकाल पूरा नगर्दै पदमुक्त भए । खासमा नयाँ ऐन राष्ट्रपतिबाट ११ गते प्रमाणीकरण हुँदासम्म पनि सदस्य सचिव रहन्छन् रहन्नन् धेरैमा अन्योल नै थियो । तर १७ गते मन्त्रालयले पत्र काटेपछि सदस्य सचिव पदमुक्त भए र १८ गतेबाट नयाँ ऐन औपचारिक रुपमै लागु भयो । मन्त्रालयकै सहसचिव खेलकुद महाशाखा प्रमुखु भक्तराज ढकाललाई कार्यबाहक तोकेपछि अन्योल दूर भयो ।

चार वर्षका लागि सदस्य सचिव बनेका सिलवाल एक वर्षमै पदबाट हट्नुपर्दा पक्कै खुशी छैनन् । किनकि उनले सुरु गरेका धेरै कामहरु बाँकी नै छन् । अहिले खेलकुद वृत्तमा भने सिलवाल नै फेरि सदस्य सचिवमा आउने चर्चा छ । खेलकुद क्षेत्रका अन्य मानिसहरु सिलवाल नै आउँछन् भनेर बसेका छन् ।

यदी सिलवालले पनि दरखास्त हालेमा भने उनी नै सदस्य सचिव बन्ने सम्भावना बढी छ । उनी यसअघि प्रधामन्त्री केपी ओलीकै चाहनामा सचिव नियुक्ति भएका थिए । अहिले पनि सरकार वा मन्त्रीले चाहेको व्यक्ति नै सदस्य सचिव हुन सक्ने सम्भावना धेरै छ । त्यसो हुँदा पनि सिलवालको सम्भावना बढी देखिन्छ । यदि नियुक्तिको पूर्वसुनिश्चितता भएको खण्डमा सिलवाल पक्कै दरखास्त दिनबाट पछि नहट्लान् ।

अबको सदस्य सचिव बन्नको लागि ऐनमा पाँचवटा प्रावधान पनि उल्लेख गरिएको छ । जसमा ३० वर्ष उमेर पुगेको, नेपाल नागरिक, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्यालयबाट स्नातक पास भएको, खेलकुद क्षेत्रमा पाँच वर्षको अनुभव भएको र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने प्रावधान छ । यी योग्यता भएकाले दरखास्त हाल्न पाउनेछन् ।

सदस्य सचिवका लागि दरखास्त दिने मध्ये सिफारिस समितिले ३ जना योग्य मानिस छानेर खेलकुद मन्त्रालयमा नाम पेस गर्नेछ । तर त्यसमा एकजना महिना अनिवार्य हुनैपर्ने व्यवस्था छ । त्यहाँबाट मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिषदमा ३ जनाको नाम पेस गर्नेछ र मन्त्रिपरिषदले एक जनालाई सदस्य सचिव नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment