Comments Add Comment

ठूला होटेल व्यवस्थापक र मजदुरबीच सहमति, डिसेम्बरसम्मको न्यूनतम तलवमान तोकियो

२८ असार, काठमाडौं । पर्यटक तथा तारे होटेलका मालिक र मजदुरबीच सेवा सुविधाका विषयमा रहेको असहमति तत्कालका लागि टुंगिएको छ । आइतबार विभिन्न मजदूर यूनियन र होटेल संघ नेपाल (हान)का पदाधिकारीहरुको छलफलमा नयाँ सहमति कायम भएको हो ।

स्रोतका अनुसार दर्जनौं चरणका छलफलपछि आइतबार सेवा-सुविधाका सम्बन्धमा व्यवस्थापक र मजदुर संगठनहरुबीच सहमति जुटेको हो ।

सहमति अनुसार अब होटेल बन्द रहेर घरमै बसेका मजदुरले समेत न्यूनतम ४३ सय रुपैयाँदेखि १० हजार रुपैयाँ पाउने भएका छन् । यो सहमति आगामी डिसेम्बरसम्म मान्य हुने गरी बनेको छ ।

स्रोतले भन्यो,’होटेल बन्द भएपनि तोकिएको न्यूनतम रकम सबै मजदुरले पाउने गरी सहमति भएको छ ।’ यद्यपी सहमति पत्रमा हस्ताक्षर भने सोमबार मात्र हुने तयारी छ ।

होटेल चलेको र नियमित काममा आउने मजदुरलाई भने साविककै सेवा सुविधा नघटाउने शर्तमा काममा लगाउने सहमति समेत मजदुर र मालिकबीच जुटेको छ । खासगरी नेपालीको उद्दार उडान प्रारम्भ भएपछि केही होटेल क्वारेन्टिनका रुपमा प्रयोगमा आएका छन् । ती होटेलले विजनेस पाउन थालिसकेका छन् ।

सहमतिअनुसार २ तारे स्तरको होटेलमा काम गर्ने कर्मचारी पाहुना नआएर होटेल बन्द भएका कारण घरै बस्नुपर्ने अवस्था आएमा मासिक ४३ सय रुपैयाँ पाउनेछ । तीन तारे होटेलको कर्मचारीले ५ हजार पाउनेछ ।

चार तारेको कर्मचारीले ८४५५ रुपैयाँ पाउनेछ । पाँचतारे होटेलको कर्मचारीले ९ हजार पाउनेछ । पाँचतारे डिलक्स होटेल -२ सय रुम भन्दा धेरै) भएको होटेलमा काम गर्ने कर्मचारीले भने मासिक १० हजार रुपैयाँ पाउने गरी सहमति भएको छ ।

यसअघि होटेल संघ नेपाल (हान)ले वैशाखबाट लागु हुने गरी ६ महिना होटेल बन्द गर्ने र त्यस अवधिमा सबै मजदुरलाई १२.५ प्रतिशत मात्र तलव दिन सकिने निर्णय गरेको थियो । यो निर्णयको विरोधमा मजदुर थिए ।

आइतबारको सहमतिअनुसार अब पाँचतारे डिलक्समा मासिक ५० हजार तलव खाने कर्मचारी भएपनि होटेल बन्द छ भने मात्र १० हजार रुपैयाँ पाउने छ । ‘चियरम्यानदेखि डोरम्यानसम्म होटेल बन्द रहेको अवस्थामा मासिक न्यूनतम तलव पाउने गरी सहमति भएको छ,’ स्रोतले भन्यो ।

नेपालमा फागुनयता होटेलमा संतोषजनक व्यापार छैन । त्यसमाथि ११ चैतको लकडाउनपछि त विजनेश ठप्प छ । चैतसम्मको तलव खुवाएका होटेल व्यवसायीले वैशाखपछि भने होटेल बन्दको घोषणा गरेका थिए ।

होटेल बन्द भएपनि डिसेम्बरसम्म कुनै पनि प्रतिष्ठानले कर्मचारी कटौती गर्न नपाउने सहमति समेत जुटेको छ । डिसेम्बरपछि भने परिस्थितिको मूल्यांकन गरी अर्को बैठक बसी टुंग्याउने सहमति समेत होटेल व्यवसायी र मजदुरबीच भएको छ ।

यसबीचमा कुनै कर्मचारीले स्वच्छेले काम छाड्न चाहेको अवस्थामा भने उसलाई प्रतिष्ठानले भुक्तान गर्न बाँकी रहेको सबै रकम दिएर बिदा गर्नुपर्ने सहमति भएको समेत बताइएको छ ।

एकतारे र त्योभन्दा सानो होटेलले भने आपसी समझदारीमा मजदुरसँगको समस्या सल्टाउने सहमति समेत भएको छ ।

अखिल नेपाल होटेल क्यासिनो तथा मजदुर संघ, नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटेल सम्वद्ध श्रमिक संघका पदाधिकारी र होटेल व्यवस्थापक बैठकमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment