Comments Add Comment

व्यवसायीले बन्द गराए वीरेन्द्रनगर बजार

२९ असार, सुर्खेत । २७ बुँदै माग राख्दै आन्दोलनमा उत्रिएका सुर्खेतका व्यवसायीहरुले वीरेन्द्रनगर बजार बन्द गराएका छन् । सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरेको विरोधमा उत्रिएका व्यवसायीहरुले सोमबार वीरेन्द्रनगर बजार बन्द गराएका हुन् ।

कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय ठप्प भएको बेला व्याज, किस्ता र कर तिर्न दबाब दिइएको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

लामो लकडाउबाट प्रभावित निजी क्षेत्रलाई सरकारले राहतको प्याकेज दिनुपर्ने व्यवसायीको माग छ । सरकारले माग सम्बोधन नगर्दासम्म चरणवद्व आन्दोलन गरिरहेको संघका महासचिव लक्ष्मण कँडेलले बताए ।

सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकका कर्मचारीहरुले ऋणको किस्ता तिर्न निरन्तर फोन गरिरहेको भन्दै उनले व्यवसायीहरुलाई किस्ता तिर्ने कम्तीमा ५/६ महिनाको समय दिनुपर्ने माग गरे ।

सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले शनिबारदेखि चरणबद्व आन्दोलनको घोषणा गरेका थिए ।

मुख्यमन्त्रीलाई २७ बुँदे माग

संयुक्त संघर्ष समिति नै गठन गरेर चरणवद्व आन्दोलन थालेका व्यवसायीहरुले सोमबार नै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २७ बुँदे मागपत्रसहित सांकेतिक साँचो बुझाएका छन् ।

मुख्यमन्त्री शाहीले माग सम्बोधनका लागि संघीय सरकारसँग पहल गर्ने बताए । लकडाउन खुलेको एक हप्तामा बैंकहरुको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको संघका कोषाध्यक्ष भद्र भण्डारीले जानकारी दिए ।

सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको आरोप उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment