Comments Add Comment

एन्फा कास्कीमा अनियमितता : न माइन्युट, न बिल भुक्तान !

२९ असार, पोखरा । जिल्ला फुटबल संघ कास्कीले करिब २९ लाख रुपैयाँ बराबरको आर्थिकसहित विभिन्न प्रशासनिक अनियमितता गरेको पाइएको छ ।

विभिन्न प्रतियोगिताको नाममा आर्थिक अनियमितता गरेको आरोप लागेपछि एन्फाले छानबिन समिति बनाएको थियो ।

एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा बनेको छानबिन समितिमा लेखा परीक्षक विष्णुप्रसाद पराजुली र जिल्ला फुटबल संघका पूर्वअध्यक्ष आनन्द रञ्जित सदस्य थिए ।

समितिले छानविन सकाएको छ तर अनियमितताबारे बोल्न नमिल्ने संयोजक खड्काले बताए । ‘अहिले छानबिन सकेका छौं । यो हामीले अब केन्द्रमा लगेर बुझाउँछौं,’ उनले भने, ‘यसबारे म बढी बोल्न मिल्दैन । केन्द्रले प्रतिवेदन पाएपछि बोल्छ ।’

तर अनियमितताको संकेत गरे । उनले भने, ‘यहाँ अनियमिताता भइरहेको कुरा भएपछि नै हामी यहाँ आएका हौं । अनियमितता नभएर छानबिन समिति गठन हुँदैन ।’

छानविन समितिका सदस्य तथा लेखा परीक्षक विष्णुप्रसाद पराजुलीले भने एन्फा कास्कीमा आर्थिकमात्रै नभई प्रशासनिक कमजोरी समेत भएको बताए । ‘प्रतियोगिता आयोजना गरेपछि एक महिनाभित्र हिसाबकिताब देखाउनुपर्छ, त्यो भएको छैन । प्रत्येक वर्ष गरिने लेखा परीक्षण पनि भएको छैन,’ पराजुलीले भने, ‘लेखा परीक्षण नै नभई संस्था रिन्यू भएको देखिएको छ । यो कसरी हुन सक्छ ?’

साधारणसभा पनि नबसेको र कानुन बमोजिम माइन्यूट पनि उपलब्ध गराउन नसकेको उनले बताए । ‘सबै कुरा नियमभन्दा बाहिर छन् । साधारण कुरामा पनि ख्याल गरिएको छैन,’ उनले भने, ‘विभिन्न समयमा भएका प्रतियोगिताको रकम पनि अहिलेसम्म सम्बन्धित पार्टीलाई दिइएको छैन ।’

एन्फा कास्कीले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता, प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तर विद्यालय फुटबल प्रतियोगितामा भएको अनियमितताबारे छानबिन गर्ने जिम्मा पाएको थियो ।

छानविनका क्रममा मनकामना कप, जिल्ला लिग लगायत प्रतियोगिताको विजेता, रेफ्री, प्रशिक्षक, होटललगायतलाई दिनुपर्ने रकम पनि नदिएको पाइएको छ । ‘यो सबै रकम १५ दिनभित्र दिइसक्न आदेश दिएको छु,’ एन्फा उपाध्यक्ष तथा छानबिन समिति संयोजक वीरबहादुर खड्काले भनेका छन् ।

उनका अनुसार मनकामना कपमा ९२ लाख रुपैयाँ खर्च र ६३ लाख रुपैयाँ आम्दानी भएको देखिएको छ । उनले भने, ‘२९ लाख रुपैयाँ घाटा भएको रहेछ । तर त्यसमध्ये २४ लाख दिन बाँकी रहेको छ ।’ विभिन्न शीर्षकमा ३९ वटा संस्थालाई अझैसम्म बिल भुक्तान गर्न बाँकी रहेको पाइएको सुनाए ।

उनले कारबाही प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे आफू बोल्न नमिल्ने बताए । ‘सबै कुरा प्रतिवेदनमा भनेका छौं । कारबाही हुन्छ कि हुँदैन म बोल्न मिल्दैन । कसैलाई बचाउन मलाई इज्जत फाल्न जरुरी छैन,’ उनले घुमाउरो उत्तर दिए ।

‘व्यक्तिको नाममा पैसा आएको छैन’

जिल्ला फुटबल स‌ंघ कास्की अध्यक्ष मिलन गुरुङको व्यक्तिगत खातामा एन्फा केन्द्रबाट संस्थाको रकम आएको आरोपबारे भने छानविन समितिका संयोजक खड्काले विरोध जनाएका छन् ।

उनले संस्थाबाट व्यक्तिगत खातामा पैसा हाल्ने नीति नभएको र त्यसो गरेको पाइए तत्काल कारबाही हुने सुनाए । ‘जिल्लाको रेफ्री, कोचलाई ट्रेनिङ दिने बेला त व्यक्तिगत खातामा पैसा पठाइएकै हो । तर, अन्य कामका लागि पैसा पठाएका छैनौं,’ खड्काले भने, ‘रेफ्री, कोच तालिमको पनि पेश्की हो । फर्छ्यौंट गर्नैपर्छ ।’ उनले व्यक्तिको नाममा कति पैसा आएको र सम्बन्धित पक्षले अहिलेसम्म भुक्तानी नपाएको बारे भने खुलाउन चाहेनन् ।

अध्यक्ष मिलन गुरुङविरुद्ध गएको माघमा बैंकिङ कसुरका ३ वटा उजुरी परेपछि एन्फा कास्कीको अनियमिताबारे कुरा बाहिर आएको हो । यही विवादको छानबिन गर्न एन्फाले  यसअघि रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो । तर, एन्फा केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले पदबाट राजीनामा दिएपछि अर्को समिति गठन गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment