
३१ असार, बुटवल । लकडाउन अवधिको घरबहाल छुट दिने बुटवलका ६० घरधनीहरु सम्मानित भएका छन् । कोरोना महामारीको कारण सरकारले गरेको लकडाउनको समयमा शतप्रतिशतदेखि १० प्रतिशतसम्म घरबहाल छुट दिने घरधनीहरुलाई बुटवल उद्योग वाणिज्य संघ र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्तरुपमा सम्मान गरेका हुन् ।
मंगलबार बुटवल उद्योग वाणिज्य संघमा औपचारिक कार्यक्रम गरेर घरबहाल छुट गर्ने घरधनीहरुलाई कदर पत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बुटवल-५ का मृगेन्द्रकुमार शेरचन, वडा नं. ४ का रुपकिशोर लाकौल, सिंह कम्प्लेक्सका महेशमान सिंहलगायत छन् ।
शेरचनले सबैभन्दा पहिले १० भन्दा बढी सटरको तीन महिनाको भाडा छुट दिएका थिए । लाकौलले तीन महिनाको ५० प्रतिशत, सिंहले सिंह कम्प्लेक्सका झण्डै एक सय वटा सटरको १ महिनाको भाडा शतप्रतिशत छुट दिएका थिए ।
त्यस्तै सम्मानित हुने अन्यमा वडा नं. ५ का यज्ञ कसजु, वडा नंं.४ का उज्ज्वल कसजू, मदनलाल शेरचन, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद न्यौपाने, वडा नं. ६ का चक्रबहादुर पुन, कृष्ण पाठक, सुनिल ओझा, शोभाखर पाठक, सुलोचना श्रेष्ठ, वडा नं. ९ का नवराज श्रेष्ठ र वडा नं. १ का रबिन्द्रगोपाल लाकौल छन् ।
यस्तै वडा नं. ५ का अम्मल लाकौल, इन्द्र रिसाल, डा. द्वारिका थैव श्रेष्ठ, होमबहादुर सेन, बुद्धिप्रसाद शर्मा पाण्डे, नारायण ढकाल, कालिकानगरका रामचन्द्र रेग्मी, राममन्दिर लाइनका ऋषि भण्डारी, विकासपथकी यमुना श्रेष्ठ, अमरपथका रामकुमार श्रेष्ठ, गीता शर्मा भट्टराई, चुन्नुप्रसाद पौडेल, बुटवल ९ की सुमी हमाल, बुटवल ११ का विकास कर्माचार्य पनि घरबहाल छुट गरेवापत सम्मानित भएका घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी दिए ।
सो अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलका केही व्यवसायी र घरधनीले समग्र व्यवसायीको हितमा अनुकरणीय काम गरेकाले सम्मान गरिएको बताए ।
नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोइरालाले भाडामा छुट दिएर मानवीयता प्रदर्शन गर्न घरधनीहरुलाई अपिल गरिएअनुसार हालसम्म ६० जना घरधनीले मिनाहा र छुट दिएर मारमा परेका व्यवसायीलाई राहत दिएको भन्दै धन्यवाद दिए । सरकारले पनि व्यवसायीका समस्या मनन् गरेर उचित राहत प्याकेज ल्याउन उनले माग गरे ।
प्रतिक्रिया 4