Comments Add Comment

भरतपुर महानगरमा ६० किमी कालोपत्रे सडक थपियो

३१ असार, चितवन । चितवनको भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षमा ६० किलोमिटर सडक कालोपत्रे गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेका अनुसार सहरी विकास मन्त्रालय, सांसद विकास कोष तथा महानगरपालिकाबाट गरी विभिन वडामा ६० किलोमिटर कालोपत्रे सडक थपिएको छ ।

चालु वर्षमा एक सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहे पनि लकडाउन र कोरोना भाइरसको संक्रमणका कारणले लक्ष्य पूरा हुन सकेन । यस्तै चालु वर्ष २० किलोमिटर सडक मर्मत, १० किलोमिटर सडक उच्चस्तरीय ग्राबेल र ४० किलोमिटर सडकमा ग्राबेल हाल्ने काम भएको इन्जिनीयर लामिछानेले जानकारी दिए ।

महानगरपालिका वडा नम्बर–१५ को जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको कालोपत्रे सडकको निर्माण पूरा भएको छ । सडकको उद्घाटन महानगर प्रमुख रेनु दाहालले बुधबार गरिन् ।

महानगरपालिकाको समपूरक कोषबाट एक करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित १८ सय मिटर लामो सडक निर्माण सम्पन्न गरिएको हो । सो सडक १६ मिटर चौडाइको छ । महानगर प्रमुख दाहालले महानगरपालिका भित्रका सडक सञ्जालको काममा निकै राम्रो प्रगति भएकोमा खुसी व्यक्त गरिन् ।

अधिकांश नगरवासीको माग सडक विस्तार तथा कालोपत्रे रहने गरेको बताउँदै उनले जनताको माग र आवश्यकताअनुसार नै सडक निर्माणलाई प्राथमिकतामा राखेको बताइन् ।

संघ, प्रदेश, सडक बोर्ड तथा भरतपुर महानगरपालिकाको लगानीमा महानगरपालिकाभित्र रिङ रोड, लिङ्क रोड तथा अन्य रणनीतिक महत्वका सडकहरु निर्माण भइरहेको बताउँदै अबको एक वर्षभित्रमा ती आयोजनाहरु सम्पन्न भइसक्दा भरतपुरले सडक सञ्जालमा एउटा फड्को मार्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment