Comments Add Comment

ओलीको बोली : आफैंलाई घेराबन्दी

प्रधानमन्त्री केपी ओली आफ्नै बोलीको कारणले जहिले पनि विवादै विवादको घेराबन्दीमा पर्छन् । यो उनको स्वभाव नै भैसक्यो । केही न के नयाँ विषय उठान गर्ने र वास्तविक समस्यालाई विषयान्तर गर्न असान्दर्भिक अभिव्यक्ति दिने ।

राष्ट्रमा देखापरेका चुनौती र समस्यालाई समाधान गर्नतर्फ उनले खासै चासो देखाएनन् । केवल आफू राष्ट्रवादी भएको मात्र देखाउन कहिले कूटनीतिक मर्यादा विपरीत आफूले लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरेपछि भारतले प्रधानमन्त्री पदबाट हटाउन थाल्यो भनेर सार्वजनिक अभिव्यक्ति दिने गर्दछन् ।

कहिले आफैँ डाक्टरजस्तो बनेर कोरोनाबारे बेसारे अभिव्यक्ति दिने गर्दछन् । कहिले दुई छिमेकी राष्ट्रबीच धार्मिक र सांस्कृतिक द्वन्द्व निम्तिने गरी रामायण महाकाव्यका नायक रामको जन्म नेपालमा नै भएको थियो, उनी नेपालकै राजकुमार थिए भन्न पुग्छन् ।

कहिले प्रमुख प्रतिपक्ष दललाई नन्दी भिरङ्गीको संज्ञा दिँदै अरिंगाल भएर जाइलाग्न आफ्ना कार्यकर्तालाई उर्दी दिन्छन् भने कहिले आफ्ना पार्टीका नेताहरुको मानमर्दन गर्न पुग्छन् । ओलीका यस्ता थुप्रै विवादित अभिव्यक्तिले देशभित्र र बाहिर तरंगित बनाएको छ ।

नेपाली जनता, प्रतिपक्ष दल र उनकै पार्टीका नेताहरु समेत उनको बोली र व्यवहारबाट आजित भैसकेका छन् । ओली सरकारको औचित्य समाप्त हुँदा पनि आफू राष्ट्रवादी भएको देखाउन आफ्नै भजनमण्डली कार्यकर्ता तयार गरेर देशभरि राजतन्त्रकै शैलीमा आफ्नो जय जय कार गर्न लगाइरहेका छन् ।

राष्ट्रवाद एउटा अमूर्त चीज होइन । यसबारे प्रसिद्ध मार्क ट्ठेनले छद्मभेषी राष्ट्रवादीलाई व्यङ्ग्य गर्दै भनेका थिए, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्को चिच्याउँछ, तर केका लागि चिच्याएको छ भन्ने जान्दैन । ओली त्यस्तै राष्ट्रवादी देखिएका छन् ।

भारतले लगाएको आर्थिक नाकाबन्दीको घोर विरोध गरेर एक लोकप्रिय राष्ट्रवादी नेताका रुपमा छवि बनाएर निर्वाचनको नेतृत्व गरेको ओली सरकार आज आर्थिक विकास र सुशासनको क्षेत्रमा पूर्ण असफल भैसकेको छ । यस्तो परिवेशमा पुरानै राष्ट्रवादको कार्ड फ्याँकी आफ्नै औचित्य सावित गर्न खोज्दा त्यसको परिणाम उनले सोचेभन्दा उल्टो निस्केको छ । बरु उनकै पार्टी भित्रबाट दुवै पदबाट राजीनामा मागिएको छ भने पार्टीभित्रको आन्तरिक किचलो झागिएको छ ।

दुई छिमेकी देश भारतसँगको सम्बन्ध चिसिएको छ । त्यसैले उनले न त आफ्नो अभिव्यक्तिको प्रमाण र पुष्टि दिन सके न त भारतसँग कूटनीतिक वार्ता गरी गुमेको भूमि फिर्ता ल्याउननै सके । उनका भनाइले केवल राष्ट्रले कूटनीतिक क्षति मात्र व्यहोर्नुपरेको छ । प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो बोलीमा लगाम लगाउन नसक्दा पदकै मर्यादामा पनि आँच आएको छ भने परराष्ट्र मन्त्रालयले त विज्ञाप्ति नै निकालेर उनको भनाइको व्याख्या र खण्डन गर्नुपर्ने स्थिति देखापरेको छ ।

उनको बोली माथि यदि नेकपाको नेताहरुले लगाम लगाउन सकेनन् भने अब जनताले उनलाई सबक सिकाउने बेला आइसकेको छ । कतिपयले उनले राम र अयोध्या नेपालमा पर्दछ भन्नु र भारतका प्रधानमन्त्री मोदीले बुद्ध जन्मस्थल भारतमा पर्छ भन्नु एउटै हो भनेर तुलना गरेको पनि पाइन्छ । तर, वास्तवमा यी दुवै अभिव्यक्ति नेपाल र नेपालीका लागि राष्ट्रघाती र कूटनीतिक मर्यादित विपरीत नै हुन् ।

राष्ट्रभित्र थुप्रै समस्याका चाङहरु छन् । प्रथमतः मुलुक आज कोरोनाको बढ्दो संक्रकणमा छ । राष्ट्रले मानविय, आर्थिक, सामाजिक रु स्वास्थ्यको संकट झेलिरहेको छ । तर, ओली सरकार भने अनिमियता र अपारदर्शीमा नै डुबेको देखिन्छ । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारले सरकार सर्वत्र आलोचित भैसकेको छ । १० अर्ब खर्चको विवरण सडक र सदन दुवैबाट मागीरहँदा सरकार भने संसद्को अधिवेशन हठात् ढंगले बन्द गर्न पुगेको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने नीति ओली सरकारको देखाउने दाँत मात्र भएको छ । यस्तो समस्यालाई ढाकछोप गर्न जनताको ध्यान अन्त्यै मोड प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको देखिन्छ । दोस्रो राष्ट्रले ठूलो प्राकृतिक विपद् खेप्नुपरेको छ । पहाडमा पहिरो र तराई–मधेसमा बाढी र डुबानले असंख्य मात्रा धनजनको क्षति भएको छ । निकै बेपत्ता र घाइते भएका छन् । पीडितले तत्काल राहत र उद्धार पाइरहेका छैनन् ।

कृषकहरुले रोपाइँको समयमा पनि मल पाइरहेका छैनन् । सलहको आतंक खेप्नुपरेको छ । यस्तो समस्याबाट ध्यान अन्त्यै मोड्न पनि ओलीले यस्तो विवादित अभिव्यक्ति दिने गरेका छन् । तेस्रो भारतले मिचेको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबारे भारतसँग कूटनीतिक वार्ता गर्ने वातावरणको सिर्जना गर्नुपर्ने थियो । तर नक्सा मात्र संविधान संशोधन गरेर नक्सामा मात्र भूमि नेपालको भएको छ । यथार्थमा भूमि फिर्ता लिनुभन्दा राष्ट्रवादीको कवच सधैँ पहिरहने तर भारतसँग वार्ता गर्न वातावरण नबनाउने नियत नै ओलीको देखिन्छ ।

नेपाल र भारतबीच सीमा विवाद लगायतका विषयमा थुप्रै समस्याहरु छन् । तिनलाई सल्टाएर आपसी सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने आजको आवश्यकता हो । नेताहरुबीचको सम्बन्ध हार्दिक हुनुपर्दछ । तर, कटुताले भरिपूर्ण होइन । त्यसैले ओलीका अभिव्यक्ति सीमा विवादबाट टाढा भाग्न पनि दिएको देखिन्छ ।

ओलीले दिएका विवादित अभिव्यक्तिलाई विभिन्न दृष्टिकोणले हेरिनुपर्छ ।

राम अयोध्याको प्रसंग

भारतीय प्रधामन्त्री नरेन्द्र मोदी २०७५ वैशाख २८ गते नेपाल भ्रमणका लागि पटनाबाट सिधैँ जनकपुर उत्रिएका थिए भने काठमाडौँबाट प्रधानमन्त्री ओली जनकपुर पुगेर मोदीको भव्य स्वागत गरेका थिए । सम्बोधनको क्रममा दुवै देशका प्रधानमन्त्रीले राम–सीता जनकपुरको ऐतिहासिक महत्व दर्शाउँदै भारत र नेपालको सांस्कृतिक र धार्मिक सम्बन्धको मुक्तकण्ठले प्रशंसा गरेका थिए । मोदीले अयोध्यामैत्री बस शुरुआत गरे ।

रामायण सर्किटको घोषणा गरे । तर, अहिले दुई वर्षपछि भानु जयन्तीको अवसरमा भने प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे अप्रमाणित अभिव्यक्ति दिँदै भारतको अयोध्याको अस्तिव माथि नै प्रश्न उठाइदिए । अयोध्या नेपालमा नै पर्दछ भन्ने उनको भनाइले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धको पुरानो मान्यतालाई विवादित बनाइदिएको छ । उनको यो भनाइ चारैतिर आलोचना पनि भैरहेको छ ।

प्रधानमन्त्री पदबाट हटाउने प्रसंग

गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेका र त्यसमा नेपालकै नेताहरु समेत संलग्नता रहेको बताएपछि उनी स्वयं अप्ठ्यारोमा पर्न पुगे । उनको यो अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमा एवं कूटनीतिक मर्यादाको समेत उपहास भयो । चारैतर्फ विवादित बन्न पुग्यो ।

‘सिंहमेव जयते’

संसदको रोस्टमबाट प्रधानमन्त्री ओलीले भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरेका थिए । यस्ता कुरा बोल्दा त्यसको संवेदनशीतला के हुन्छ । के बोल्न हुन्छ के हुँदैन भन्ने कुराको हेक्का नराख्ने ओलीको भनाइले अवस्य नै भारतीयहरुलाई झस्कादियो । यस्तै भारतको कोरोना कडा हुने र अन्य देश नरम हुने भन्ने उनको भनाइले पनि यसमा अझ मलजल गरेको देखिन्छ ।

राष्ट्रपतिबारे हल्का टिप्पणी

संसदमा सांसदहरुले राष्ट्रपतिको महँगो गाडी र कारपेटको चर्चा गर्दै मितव्ययताको कुरा गर्दा उल्टै सांसद्हरु माथि राष्ट्रपतिको बारेमा किन टिकाटिप्पणी गरेको हो भनेर खनिने, कहिले राष्ट्रपति माथि महाभियोग लगाउने तयारी भैरहेको छ भने हल्का टिप्पणी गर्दा उनकै पार्टीका नेताबाट यसको खण्डन पनि हुन पुग्यो । यसरी संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिलाई कहिले राजनीतिक विवादमा तान्नु, कहिले अप्रासंगिक कुरा गरेर उनलाई जोड्नु दुवै कार्य पदीय मर्यादा एवं संविधानको भावना विपरीत छ ।

बेसारे आइडोलोजी 

कोरोना संक्रमण बढिरहेका बेला ओलीले संसद्मा कोरोना अदुवा र बेसार पानीले निको हुन्छ । नेपालीको इम्युनिटी पावर धेरै छ भन्ने भनाइ पनि मजाकको विषय बन्यो । कतिले उनलाई डाक्टरको उपाधि दिए । मेडिकल डाक्टरले पनि रुचाएनन् ।

प्रतिपक्षप्रति असहिष्णु 

ओलीले कहिले पनि प्रतिपक्ष दलसँग मित्रवत व्यवहार, साझेदारी र समवन्य गर्न चाहेन्नन् । बरु उल्टै प्रतिपक्षलाई संसद्बाटै निम्छरो शब्द प्रयोग गर्दा सदन नै अवरोध गर्नुपर्ने स्थिति आयो । सभामुखले युक्त शब्द रेकर्डिङबाट हटाउन रुलिङ गर्नु पर्‍यो ।

स्वास्थ्यलाभ चाहिएन

ओलीले आफ्ना समकालीन आफ्नै पार्टीको नेताहरुलाई पनि मान मर्यादा गरेनन् । जस्तो उनी उपचारको लागि गत भदौमा सिंगापुर जाँदै गर्दा आफ्नै पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले शुभकामना दिँदा उनले लिएनन् । नेपालतर्फ फर्केर उल्टै तपाई मलाई मरोस् भनेर कामना गरिरहनुभएको छ भने ।

यस्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा माग्दा उनीसँग गरिएको सम्भmौताको विपरीत प्रधानमन्त्री हुन अर्को निर्वाचन फर्खनुहोस् र पार्टी अध्यक्ष हुन महाधिवेशन पर्खनुहोस् । यस्ता भनाइले पनि नेताहरुसँग सम्बन्ध चिसिएको छ ।

सचिवालयमा हप्कीदप्की 

चारैतर्फबाट ओली सरकारको आलोचना हुन थालेपछि उनले आफ्नै प्रेस सल्लाहकारलाई हप्काउँदै हटाए भने मन्त्रीहरुलाई पनि राम्रो काम गरेनन् भन्दै मन्त्रिमण्डलको पुनःगठन गरे । तर, आवश्यकता व्यक्तिको फेरबदलभन्दा ओलीको स्वभावमा सुधार गर्नुपर्ने थियो । जुन गर्न सकेनन् ।

विवादित अध्यादेशको बचाऊ 

ओलीले राजनीतिक दल परित्याग एवं संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर आलोचनाको शिकार हुन पुगे । आफ्नै पार्टीको सविचालयको बैठकमा अध्यादेशको बारे टिकाटिप्पणी र विरोध हुन थालेपछि उनले आफ्नो दल फुटाउन होइन, मधेसवादी दललाई फुटाउन यो अध्यादेश ल्याइएको हो भन्ने अभिव्यक्तिले पनि उनको बोलीमा लगाम नभएको देखिन्छ ।

पत्रकारलाई गाली

पत्रकारहरुले प्रधानमन्त्री ओलीले गरेका गलत काम कारबाही बारे कलम चलाउँदा उनले जहिले पनि तिखो टिप्पणी गर्ने र मुटु नभएका पत्रकारहरु छन् भन्ने अभिव्यक्तिले पनि राज्यको चौथो अंगले गरेको टिकाटिप्पणीबाट बच्न अर्को विवादित अभिव्यक्ति दिएको देखिन्छ । पत्रकारले आमालाई पनि तिमी भन्छ भन्दै प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment