Comments Add Comment

अबको वैकल्पिक राजनैतिक शक्ति कस्तो ?

मलाई प्राथमिक तह अध्ययन गर्दा विद्यालयका विभिन्न कार्यक्रममा, ‘पञ्चायती व्यवस्था अमर रहोस्’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएर हिँडेको अलिअलि स्मरण छ। विकट गाउँमा भएर होला, जनताको अधिकार प्राप्त गरिएको भनिएको २०४६ सालको जनअन्दोलनको पनि केही भेउ पाइएन।

त्यतिखेरको फलामे ढोका भनाउँदो एसएलसी पास नगरिकन शहर बजारतिर आउने कुनै अवसर मिलेन । त्यसैले कुनै नेताको भाषण सुन्ने अवसर पनि जुरेन। अहिले धेरै चर्चा गरिने मदन भण्डारीको आवाज पनि प्रत्यक्ष सुन्न पाइएन।

२०५५ सालमा फलामे ढोका पार गरेपछि गाउँकै विद्यालयका प्रधानाध्यापकको अनुरोधमा संस्कृत पढाउने बुवाको चाहना विपरीत जिन्दगीमा पहिलोपटक गाडी चढेर चितवन आउने अवसर मिल्यो।

आफूलाई कुन बिषय पढेर के काम गर्न सकिन्छ भन्ने कुनै ज्ञान थिएन र त्यसबारेकेही सल्लाह र परामर्श पनि खासै पाइएन। गाउँमा नै पढेको भए पनि अंग्रेजी अलिअलि आउने भएकाले खर्रर्र अंग्रेजी बोल्न सक्ने भएपछि केही गर्न सकिएला भनेर क्याम्पसमा अंग्रेजी विषय पढाइ हुने कक्षामा बस्न सुरु गरियो।

मसँगै हिसाब राम्रै आउने मेरै आकारका साथी पनि गणित पढ्न छोडेर मेरै कक्षामा बस्न शुरु गर्नुभयो । अनि क्याम्पसको पढाइ सुरु भयो । पढाइ शुरु भएको दोस्रो बर्ष मात्रै आफूले अंग्रेजी शिक्षक बन्ने विषयमा पढिरहेको थाहा पाइयो।

राजनैतिक मुद्दामा शून्य ज्ञान भएको मान्छेलाई दिनदिनै जस्तो विभिन्न कार्यक्रमहरु हुन थालेपछि कुनै न कुनै कार्यक्रममा जसरी पनि उपस्थित हुनुपर्ने बाध्यता हुन थाल्यो।

मेरा घनिष्ठ साथी उनका बुवाका कारणले केही भए पनि राजनैतिक चेतना भएको हुनुहुन्थ्यो। उहाँको पृष्ठभूमि मिल्ने भएकाले उहाँ नेबि संघको कार्यक्रममा जानुहुन्थ्यो । मचाहिँ क्याम्पसमा हुने प्रायः सबै संगठनका कार्यक्रमहरुमा जान्थें । तर, कसको कार्यक्रम हो भन्नेसमेत पनि मलाई हेक्का हुँदैनथियो। अझ बिशेष गरी अनेरास्ववियुपछि विभिन्न अंक जोडिएको संगठनले धेरै झुक्काउँथ्यो । विभिन्न संगठनका सदस्यहरुले उहाँ त हाम्रो मान्छे हो नि भन्दै कार्यक्रमहरुमा लैजानुहुन्थ्यो र मिलेसम्म सबैको कार्यक्रममा सहभागी भइन्थ्यो।

यसरी कुनै पनि संगठनको जिम्मेवार कार्यकर्ता नभइकन विश्वविधालयमा स्नाकोत्तरसम्मको अध्ययन गरेपछि थाहा भयो, कुनै संगठनमा लागेर नारा जुलुस, तोडफोड तथा ढुंगामुढामा संलग्न भएर आफ्नो पहिचान बनाउन पाएको भए पनि अवसरका लागि केही बढी सम्भावितको सूचीमा परिने रहेछ।

क्याम्पस पढ्न सुरु गर्ने बेलासम्म कांग्रेस, एमाले, माले, मसाल, मजदुर किसान, राप्रपा, माओवादी लगायतका राजनैतिक पार्टीहरुको कार्यक्रम तथा समाचारहरु सुनिन्नथ्यो । त्यतिखेर चर्चामा तथा सरकारमा रहेका राजनैतिक दलबाहेक अहिलेसम्म धेरै नयाँ पार्टीहरु निर्माण तथा विघटन भयको देख्न पाइयो।

त्यति नै बेलादेखिका सत्ता तथा सत्ता बाहिरका साना-ठूला अधिकांश दलका नेताहरुको भाषण सुन्दै आयको छु । आफूले केही सचेत भएपछि भोगेका र जानेर तथा नजानेर आफैंसमेत सहभागी भएका विभिन्न राजनैतिक घटनाहरुले देशमा टाठाबाठालाई राम्रै अवसर प्रदान गर्न सफल भएको देख्न पाइयो । तर, जसको जीवन परिवर्तनका लागि भनेर विभिन्न आन्दोलनहरु भए, त्यो बर्गको भने परिवर्तन शून्य नै छ।

मैले थाहा पाउन लागेको समयदेखि अहिलेसम्म नै अधिकांश राजनैतिक दलहरुको मुख्य एजेन्डा विकास र सम्वृद्धि हो। सबै नागरिकलाई स्वास्थ्य तथा शिक्षा निशुल्क प्रदान गर्ने र भौतिक बिकास गरी देशका कुना कुनामा रहेका जनताको जीवन यापन सहज र सरल बनाउने सबै राजनैतिक दलहरुले जनता झुक्काउने साझा एजेन्डाका रुपमा प्रयोग गरे ।

विभिन्न दलका नेताहरुले आफ्नो वाक क्षमता अनुसार देशलाई केही बर्षभित्रमा नै सिंगापुर तथा स्वीटजरल्याण्डजस्तो बनाइने भनेर वाचा गरिएका भाषणहरु पनि सुन्न पाइयो। सरकारमा पुग्न सफल भएका सबैजसो नेताहरुले आफ्नो कालभन्दा अगाडि केही विकास तथा परिवर्तन हुन नसकेको भनेर कत्ति पनि लाज नमानी चिच्याएको तर आफू सत्तामा हुँदा आफ्ना आसेपासे तथा पारिवारिक सदस्यहरुको व्यवस्थापन बाहेक सिन्को नभाँचेको प्रत्यक्ष देख्न र भोग्न पाइयो।
एकदमै सानो आकारका दलहरु बाहेक अधिकांश सत्तासीन तथा सत्ता बाहिरका लगभग सबैजसो नेताहरुको बोली र व्यवहार दुवै कुराको अनुभव गर्न पाइयो ।

देशको समग्र व्यवस्था र अवस्थामा आमूल परिवर्तन ल्याउने भनी गरिएको दश वर्षे जनयुद्ध पनि भोगियो। युद्धकालमा विद्रोहीको भाषणमा छलांग, अग्रगामी कायापलट, आमूल परिवर्तनजस्ता शब्दहरु सुन्न पाइन्थ्यो । हुन पनि जनयुद्धले माथिल्लो तहका कोही विशेष व्यक्तिको जिन्दगीमा त कायापलट, छलाङ्ग, आमूल परिवर्तनलगायत जे–जे सोचिएको थियो, सबै पूरा गरिदियो। तर, अधिकांश तल्लो बर्गका तर गोली थाप्न अगाडि जानुपर्ने धेरै सोझा योध्दाहरुलाई पहिलाको भन्दा पनि निकृष्ट अवस्थामा पुर्यायो।

देशले भोगेको दश वर्षे जनयुद्धले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको राजनैतिक चेतना हो जस्तो लाग्छ । यसले राज्यको पहुँचबाट टाढा रहेका गरिब, पिछडिएको वर्गको वास्तविक जीवनमा त खासै परिवर्तन ल्याउन सकेन । तर, पनि कुना–कुनामा रहेका जनतालाई समेत केही बोल्न र प्रतिवाद गर्न सक्ने बनाएको छ।

जनयुद्धको नेतृत्व गरेकाहरुको जनयुद्धकालका गतिविधि र उनीहरुको वर्तमान अवस्था र क्रियाकलापलाई आधार मान्ने हो भने जनयुद्धले स्वतान्त्रता सँगसँगै झूठो बोल्न सिकायो, चोर्न सिकायो, ठग्न सिकायो, नैतिकता, अनुशाशन जस्ता कुरा बेकार हुन्, आफूलाई शक्तिमा राखिराख्न बिगत आगत सबै बिर्सेर आफ्नो जीवनशैली सिद्धान्तजस्ता सबै कुरामा क्षणमै परिवर्तन हुन तयार हुन सक्नुपर्छ भन्नेजस्ता राम्रा-नराम्रा धेरै कुरा सिकायो ।

जनयुद्ध समाप्त भएपछि फेरि देशको समृद्धिको बाधक भनेर राजतन्त्रको विरुद्ध आन्दोलन गरियो। राजतन्त्रको अन्त्यपछि अब देश विकासमा कुनै कुराले अवरोध नहुने आकलन गरिएको थियो। जनताले पूर्ण स्वतन्त्रता प्राप्त गर्ने महशुस गराइएको थियो। त्यो आन्दोलनमा त आफूसमेत सहभागी हुन पाइयो। त्यतिखेर अन्धाधुन्द आन्दोलनमा भिडियो र बल्ल अहिले थाहा भयो, एउटा राजा फालेर धेरै राजाहरु उत्पादन गर्न पूरा सफल भएको कुरा।

सायद राजतन्त्रको अन्त्यपछि झन् धेरै महाराजाहरु पाल्नुपर्छ भन्ने आकलन गर्न सकेको भए त्यो टन्टलापुर घाममा सडकमा घन्टौं र दिनदिनै तातेर त्यति धेरै जनताको सहभागिता हुने थिएन होला। जनयुद्ध र त्यसपछिका आन्दोलनले स्वतन्त्रता सँगसँगै विकृति पनि ल्याएको छ। स्वतन्त्रतामा अनुशासन पालना भएन भने अराजकता हुँदोरहेछ भन्ने कुरा हामीले सामान्य मानवीय गल्तीमा हुने ठूला ठूला ध्वंसात्मक प्रतिक्रियाबाट समन्यीकरण गर्न सक्छौं।

यो बीचमा मधेसमा क्षेत्रीय आन्दोलन पनि भयो । मधेसमा चलेको आन्दोलनमा पनि निर्दोष नागरिकले ज्यान गुमाए । तर, पनि समग्र मधेसका जनतामा कुनै परिवर्तन आउन सकेन । मधेसी समुदायको प्रतिनिधित्व गर्नेहरुले पनि सत्ता प्राप्ति भन्दा अरु कुरा सोच्न सकेको पाइएन। अधिकांश मधेसी क्षेत्रको नेतृत्व सत्तामा जान पाए अधिकारसम्पन्न र बाहिर बस्नुपरे अधिकारविहीनका रुपमा प्रस्तुत भएको देखियो ।

मधेसवासी साथीहरुको गुनासो पत्याउने हो भने मधेसी नेताहरुले कमजोर अवस्थाको नागरिकको जीवनस्तरको परिवर्तनका लागि कुनै पनि भूमिका निर्वाह गर्न सकेका छैनन्।

तसर्थ, विगत झन्डै २० वर्षको आफूले देखेको राजनैतिक अभ्यास हेर्दा संख्यात्मक हिसाबले ठूला भनिएका राजनैतिक दल तथा नेतृत्वबाट देशमा परिवर्तनको आशा गर्नु बेकार हो। यी दल तथा नेतृत्वहरुबाट फाइदा लिन नसकेका र कुनै फाइदा लिए पनि मानवीयता र विवेक भयका सबै नागरिकहरुले अन्तर्मनबाट सोच्नुपर्नेबेला आएको छ ।

किनकि, सबै दलका अधिकांश नेताहरु र सबैखालका समीकरणहरुको परीक्षा भैसक्यो र हामीले नतिजा पनि हेरी सकियो।

अझै पनि तिनै पुराना दलका युवा पुस्तामा सत्ता हस्तान्तरण भयो भने सबै ठीक हुन्छ भन्ने आम मानिसमा भ्रम छ। अब हामीले यो भ्रम पनि त्याग्नुपर्छ । हामीले आशा गरिएका भनिएका लगभग सबैजसो युवा नेताहरुको पनि कार्यक्षमता देखिसकियो।

वास्तवमा उमेरभन्दा पनि विचार जवान भए आशा गर्न सकिन्थ्यो । तर, अब जवान तथा पाका कसैबाट पनि आशा गर्ने आधार छैन । सबैभन्दा महत्वपूर्ण कुरा, निजी स्वार्थभन्दा माथि रहन सक्ने नेतृत्व हामीले पाएका छैनौं। यी पुराना दलहरुबाट त्यस्तोखालको नेतृत्वको आशा राख्न सक्ने अवस्था छैन।

दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थको वकालत गर्नेहरुलाई अहिलेका दलीय संयन्त्रले अट्न दिँदैन। अहिलेसम्म सत्तामा पुग्न अवसर पाएकाहरुमा इच्छाशक्ति नै नभएको जस्तो देखिन्छ। ठाउँमा पुगिसकेपछि इच्छाशक्ति पलाएकाहरुको पनि पृष्ठभूमि खराब भएको हुन सक्छ। तिनीहरू अहिले आएर ठीक भए पनि जुन धरातलबाट आफूले जुन भर्याङको प्रयोग गरेर माथि आइपुगेका थिए, त्यो भर्याङले उनीहरुलाई खुलेर काम गर्न सक्ने आँट दिँदैन। ती कुहिएका भर्याङहरुलाई लगातार निगरानी गर्नुपर्ने बाध्यताले चाहँदा चाहँदै पनि आफ्नो क्षमता र योजनाअनुसार काम गर्न नसक्ने स्थिति भएको हुन सक्छ ।

उदाहरणका लागि, हामी विद्यार्थी हुँदा विद्यार्थी नेता भएकाहरु अहिलेका युवा नेता हुनुहुन्छ। मैले भोगेअनुसार अधिकांश ती विद्यार्थी नेताहरु आफ्नो विद्यार्थी कालमा शैक्षिक क्षेत्रको सुधारभन्दा पनि तोडफोड, गुन्डागर्दी, काटमार लगायतका कुरामा नेतृत्व गरेको अनुभवले अहिलेको सफलता हात पार्न सहयोग पुगेको हुन सक्छ। तिनै गतिविधिबाट आफू अगाडि आएपछि आफ्ना सहयोगीहरुलाई निरन्तर सहयोग गरिरहनुपर्ने होला।

यस्ता घटनाबाट टाढा रही असल र नैतिक तरिकाले नै सफल हुनु भएका नेताहरु विरलै होलान्। यस्तो वर्गका नेताहरु कार्यसम्पादनमा आइपर्न सक्ने कठिनाइ महसुस गरी कि त चाहँदैनन्, कि त उनीहरुलाई अवसर नै दिइँदैन।

अहिलेकै प्रणालीअनुसारको राज्य व्यवस्थाले निरन्तरता पाउने र सरकार सञ्चालनको तहमा एकपटक पुगेकालाई सधैं नेपाल सरकारले नै पालन पोषण तथा सुविधा प्रदान गर्ने पद्दतिलाई अवलम्वन गर्ने हो भने त उमेरका आधारमा युवा मानिएका युवा नेतालाई अहिले नै सरकार सम्हाल्न दिनु भनेको देश कंगाल बनाउनु हो । केही समयपछि देशले शिक्षक कर्मचारी त के, नेता पनि पाल्न नसक्ने स्थिति छिट्टै आउन सक्छ । तसर्थ, उमेर मात्र धेरै भन्दा पनि पटक–पटक असफल भएर पनि सत्ताको लोभ गर्नु र त्यसका लागि जे पनि गर्न तयार हुने हाम्रा सबैजसो नेताहरुको अर्को ठूलो कमजोरी हो । यस्ता नेताहरुबाट परिवर्तनको आशा गर्नु हामी जनताको मूर्खता हो ।

राजनैतिक चेतना र परिवर्तनसँगै राजनैतिक दलहरुको संख्या पनि बढ्दै गैरहेको छ। विभिन्न साना ठूला सबैजसो दलहरु कुनै न कुनै बाहना तथा चाहनामा फुटेको र जुटेको देख्न पाइयो ।
देशको प्रधानमन्त्री समेत भैसकेका र विद्वान व्यक्तित्व भनेर मानिएका व्यक्तिको नेतृत्वमा ‘नयाँ शक्ति’ नाममा शुरु गरिएको बैकल्पिक शक्ति पनि विभिन्न रुप लिँदै जनता समाजवादीको रुपमा भर्खरै उदय भएको छ । मधेसी जनाधिकार फोरम, समाजवादी पार्टी, जनता पार्टी, विवेकशील, साझा लगायतका विभिन्न नाम गरेका पार्टीहरु गठन भए । तीमध्ये कति विघटन भए, कुनै नयाँ रुपमा अगाडि बढ्ने जमर्को गर्दैछन् ।

मेरो बुझाइले भेटेअनुसार विवेकशील तथा साझा पार्टी फरक धारबाट जन्मिएका राजनैतिक दल थिए । र, केही जनतामा यो जमातबाट केही आशा पनि थियो । तर, छोटो समयमा दुइ पार्टी जोडिनु र केही समयमै विभाजित हुनु, अनि हालसालै साझा पार्टीबाट महत्वपूर्ण जिम्मेवारीका दुईजना नेताहरुले पार्टी बाहिर रहेको घोषणा गरेको समाचार आउनुले यी नयाँ धारबाट जन्मेका पार्टीप्रति पनि शंका उत्पन्न भएको छ ।

यदि साँच्चै नै देश परिवर्तन गर्ने एजेन्डा हो भने देश तथा विदेशमा आफ्नो क्षेत्रमा एउटा सफलता प्राप्त गरिसकेका व्यक्तिले सानो समूहको नेतृत्वकै लागि खिचातानी गरेर देशको मुहार फेर्ने महान अभियानबाट पछाडि हट्नु हुँदैन ।

यसबीचमा अधिकांश जुटाइहरु क्षणिक र स्वार्थी हुने कुरा पनि देखियो र भोगियो। समयको मागअनुसार भन्दै पुरै नयाँ जगमा राजनैतिक दलको शुरुवात पनि गरीए । तर, उनीहरु हुर्किने बढ्ने गर्न सक्छन् वा सक्दैनन्, अझै अन्योल नै छ ।

त्यसैले, अहिलेसम्म जनताको सेवामा समर्पित भएका भनिएका र सबैजसो ठूला भनाउँदा राजनैतिक दलको नेत्रृत्वबाट देश परिवर्तनको सम्भावना नभएको प्रामाणित भैसकेकाले हामीले भोगेको दश वर्षे गृहयुद्धको उल्टो हुने गरी दश बर्षे विकाश युद्धको योजनासहितको वैकल्पिक राजनैतिक शक्ति निर्माण अपरिहार्य छ ।

प्रशासनिक, शैक्षिकलगायत समग्र राज्य सञ्चालन तथा प्रणालीको सुधारबिना समृद्धि सम्भव नभएकाले अनि पुराना र ठूला भनाउँदा दलहरु यसमा असफल भैसकेकाले दुरगामी सोचसहितको, नीति नियम र अनुशान तथा पद्धतिमा आधारित भएर राष्ट्रिय हितका लागि कुनै सम्झौता नगर्ने क्षमता राख्ने र विभिन्न क्षेत्र तथा फरक–फरक पृष्ठभूमि भएका आत्मनिर्भर भैसकेका नैतिकवान र क्षमतावान जोसुकै नागरिकले पनि सहजै सहभागिता तथा नेतृत्वसमेत गर्न पाउन सक्ने सम्भावाना भएको समावेशी वैकल्पिक राजनैतिक शक्ति निर्माण चुनौतिपूर्ण भए पनि अपरिहार्य छ।

(ताराखोला-१, बाग्लुङ्ग)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment