Comments Add Comment

खोकनामा रोपाइँको खुशी

३ साउन, काठमाडौं । ललितपुर खोकनाका मन्त डंगोल र उनकी श्रीमती हरिमाया शुक्रबार मध्यरातिसम्म भलाकुसारी गरेर बसे । कुराकानीको विषय थियो- शनिबार खुदोलमा हुने रोपाइँ ।

‘धानको बिउ, खेल जोत्ने ट्याक्टर र रोपाहारको व्यवस्था कसरी गर्ने ? रोपाईँ होला कि नहोला ? प्रहरीले अस्तिजस्तै लठ्ठी पो हान्ने हो कि ? यस्तै-यस्तै कुरा गरेर बस्यौं’ ६२ वर्षीय डंगोल भन्छन्, ‘रोपाईँको विषयमा यति धेरै छलफल र चिन्ता यसअघि कहिल्यै लागेको थिएन ।’

जनसरोकार समिति खोकनाले उनीहरूलाई साढे नौ बजे सिकाली चौरमा भेला भएर खुदोल फाँटमा रोपाईँ गर्न जाने सूचना दिएको थियो । डंगोल दम्पत्ति भने छोरोलाई लिएर ९ बज्दा नबज्दै आफ्नो खेतमा पुगिसकेका थिए ।

असार २० गते सामूहिक धान रोपाईँका क्रममा प्रहरीसँग झडप हुँदा दुबैतर्फका केही व्यक्ति घाइते भएका थिए । ‘त्यो सम्झिदा त एक मनले नजाउँजस्तो पनि लागेको थियो’ डंगोल भन्छन्, ‘खै किन हो, खुदोल ढाक्ने गरी आएका प्रहरी ११ बजे आसपास स्वात्तै फिर्ता गए ।’

आधा दर्जन हाते माइकसहित पुगेका प्रहरी टोली फर्केको केही समयपछि मात्रै खोकनावासीको ठूलो हुल फाँटमा पुग्यो । केही युवाले लगाएको ‘प्रहरी दमन बन्द गर’ भन्ने नारा सुन्न त्यहाँ प्रहरी थिएनन् ।

युवाहरूको नारा गाईभैंसी हेर्न आएका गोठाला र माथि थुम्कोमा क्याम्प बनाएर सेन्ट्री बसेका सेनाले मात्र सुने । सेनाले लगाएको काँडेतारको बाँससँगै जोडिएको छ, डंगोल परिवारको खेत ।

यो परिवारले पाँच वर्षपछि आफ्नो खेतमा पाइला टेकेको हो । खेतमा पुगेपछि हरिमाया ढुंगा पन्छाउन र बुट्यान फाँड्नतिर लागिन् ।

दुईवटा हाते ट्याक्टरले जोतेर उनको खेतमा धान रोपाईँ भयो । ‘पहिला-पहिला खेत हिलो बनाएर रोपाईँ गथ्र्यौं, यसपालि कोदो रोपेजस्तो फुको माटोमा धान रोप्नुपर्‍यो’, हरिमायाले विगत र अहिलेको रोपाईँको तुलना गरिन् ।

फुको खेतमा धान रोपेको चित्त बुझेन छ क्यारे, हरिमाया फरुवाले कुलो बनाउँदै अघि रोपेको खेतमा पानी लगाउन थालिन् । त्यतिबेलासम्म रोपाईँमा सघाउन आएकाहरू अन्त लागिसकेका थिए ।

काठमाडौं तराई-मधेस द्रुतमार्गका लागि अधिग्रहण गरेको खेतमा किन रोपाईँ गर्नुभएको ? अनलाइनखरबको प्रश्नमा १० प्रतिशतजस्तो पानीले भिजेको खेततर्फ देखाउँदै हरिमायाका श्रीमान् मन्त डंगोलले भने, ‘यो अधिग्रहण भएको खेत होइन सर, मेरै नाममा लालपूर्जा छ, हेर्नुहुन्छ ?’

२०७२ सालमा मुआब्जा लिनुभएको होइन र ? ‘छैन, एक पैसा पनि लिएको छैन ।’

किन नलिनु भएको ?, ‘अरु इलम आउँदैन, यही खेतको बाली खाने हो, म आफ्नो जग्गा दिन सक्दिनँ ।’

यो कुरा फास्ट ट्याकको मान्छेलाई किन भन्नुभएन त ? ‘भनेका छौं, अधिग्रहणको सूचनामा चित्त नबुझे १५ दिनमा उजुरी दिनु भनेको थियो, हामीले १३ दिनमै निवेदन दियौं, गृह मन्त्रालयमा पनि निवेदन पुगेको छ । तर, सुनुवाई भएको छैन ।’

मुआब्जा निर्धारण समितिले डंगोलको खेतको प्रतिआना एक लाख ७५ हजार रुपैयाँ मुआब्जा तोकेको थियो । अहिले त्यस क्षेत्रमा प्रतिआना २०-२५ लाख रुपैयाँमा जग्गा किनबेच भइरहेको स्थानीय बताउँछन् ।

डंगोलको त्यहाँ दुई रोपनी तीन आना जग्गा छ । उनी दशौं गुणा बढी मुआब्जा दिएर पनि आफ्नो खेत नछाड्ने बताउँछन् । उनी भन्छन्, ‘यहाँको दुई रोपनीको मुआब्जाले अन्त जाँदा दुई आना पनि आउँदैन ।’

डंगोल मुआब्जा लिन तयार नहुनुको कारण भने फास्ट ट्रयाकसँग मात्रै जोडिएको छैन । अधिग्रहण र मुआब्जाको प्रसंग आएपछि उनले चार दशक पुरानो प्रसंग सम्झिए । २०३८ सालसम्म भैंसेपाटीमा उनको एक रोपनी ६ आना जग्गा थियो । ‘त्यो जग्गा पनि यसैगरी अधिग्रहणमा परेको थियो’, उनी भन्छन् ।

आफ्नो जग्गा सैंबु आवास क्षेत्रले प्रतिआना तीन हजार ६ सयका दरले लिएको डंगोलले जानकारी दिए । ‘३६०० रुपैयाँमा अधिग्रहण गरेको जग्गा एक आनाकै ६० लाख पर्छ’ उनी भन्छन् ।

आफूसँग कौडीको भाउमा अधिग्रहण गरेको जग्गाको मूल्य अहिले करोडौं रुपैयाँमा परेकोमा भने उनलाई कुनै गुनासो छैन । ‘दिनुपर्छ भनेर मागेपछि दिऔं, मैले सस्तोमा दिएको जग्गा बढी पर्‍यो भनेर रीस गर्दिनँ’ उनी भन्छन् ।

तर, त्यो जग्गा अधिग्रहण प्रकरणले उनको चित्त भने दुखाएको छ । त्यतिबेला जग्गा अधिग्रहण गर्ने बेलामा आवास क्षेत्रले प्रत्येक घरधनीलाई सुपथ मुल्यमा एक एकवटा घडेरी दिने शर्तमा सहमति गरेको थियो । शर्तअनुसार पहुँचवाला केहीले घडेरी पाए । तर, ५८ जनाले अहिलेसम्म पाएका छैनन् ।

घडेरी नपाउने ५८ अभागीमध्ये एक उनै मन्त डंगोल हुन् । कुनैबेलामा भैंसेपाटी र खुदोलमा गरेर तीन रोपनी ९ आना जग्गाका धनी डंगोल अहिले ठूलो खोकनामा छाप्रोमा बस्दै आएका छन् ।

२०७२ को भूकम्पले भत्काएको घर बनाउन नसकेपछि आधा दशकयता उनको परिवारको बास छाप्रोमा छ । ६ मध्ये तीन छोरीको विवाह भइसकेको छ भने तीन छोरी र छोरोको पढाई खर्च पनि उनकै काँधमा छ ।

श्रीमानको कुरा सुनिरहेकी हरिमाया तीतो विगत विर्सन प्रयास गर्दै भन्छिन्, ‘जे भए पनि आज खेतमा रोपाइँ भयो, धेरै खुशी छु ।’

‘रोपाइँ भयो, आज चाहिँ मिठो निन्द्रा लाग्छ’ हरिमाया भन्छिन्, ‘तर हामी गएपछि धानलाई पो कसैले तलमाथि गर्छ कि ?’

तस्वीरः चन्द्रबहादुर आले र आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment