Comments Add Comment

संखुवासभामा पहिरोमा बेपत्ताको खोजी गर्न गएको टोली फर्कियो

मन्त्री भन्छन्– ‘स्थानान्तरण गर्छाैं’

४ साउन, विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा गएको पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न कठिन भएपछि प्रहरी टोली फर्किएको छ ।

असार २७ गते शनिबार राति बेसिन्दामा पहिरो जाँदा ११ जना बेपत्ता भएका थिए । पहिरोमा नौं घर बगेको थियो । करिब २ किलोमिटर लामो पहिरोमा परी बेपत्ता भएकाहरुको शव भेट्ने अवस्था नरहेपछि उद्धारका लागि अन्य स्थानबाट पुगेको टोली फर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीमा स्थानीय प्रहरी र प्रभावित क्षेत्रका बासिन्दा मात्र खटिएका छन् ।

भोजपुर जिल्ला र संखुवासभा सदरमुकामबाट उद्धार र बेपत्ताको खोजीका लागि पुगेको प्रहरी टोली फर्किएको हो । ‘सम्भव भएको स्थानमा खोजी गरिसक्यौं,’ उनले भने, ‘ ठाडो भिरबाट पहिरो खोलामा झरेकाले बेपत्ता भएकाहरु भेट्न मुस्किल छ ।’

उनका अनुसार प्रहरीले सम्भावित र पुग्न सक्ने स्थानमा पुगेर खोजी गरेको थियो । तर खोजी गरेको स्थानमा नभेटिएपछि खोलाले बगाएको हुनसक्ने उनले बताए ।

विस्थापितलाई टेन्टमा राखियो, सदरमुकाममै रोकियो खाद्यान्य

पहिरोमा नौं घर बगेपछि बेसिन्दाका ८६ परिवारलाई अन्यन्त्र सारिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलका अनुसार प्रभावित क्षेत्रका ८६ परिवार मध्ये ५७ परिवारलाई वडा नम्बर १ कै चित्रेमा सारिएको हो । २९ परिवारलाई भने सिलिचोङ गाउँपालिका–२ को बुधबारेमा सारिएको छ ।

प्रभावितहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले राहत उपलब्ध गराएका छन् । प्रभावित मध्ये ५३ परिवारलाई टेन्टमा राखिएको छ । पाँचवटा घरमा ३३ परिवारलाई राखिएको छ । चित्रेमा शेर्पा समूदायको पाँचवटा घरमा ३३ परिवारलाई राखिएको हो ।

पहिरो प्रभावितहरुलाई प्रदेश सरकारले ७५ बोरा चामल पठाएको थियो । स्थानीय सरकारले पनि ३० केजीका दरले ८० बोरा चामल र दाल तथा दैनिक उपभोग्य बस्तु वितरण गरेको छ । थप राहतका लागि किनेको चामल भने बाटोमै रोकिएको छ ।

‘जिल्ला सदरमुकाम खादबारीमा खरिद गरेको २०० बोरा चामल रोकिएको छ,’ पौडेलले भने, ‘सवारी चल्दैनन्, खच्चड हिँड्ने बाटो पनि भत्किएको छ ।’

प्रभावित क्षेत्रका स्थानीयलाई अझै दुईसातासम्म पुग्ने खाद्यान्य रहेकाले वर्षा रोकिएपछि खाँदबारीमा रोकिएको चामल ल्याएर वितरण गर्ने बताए ।

सिन्दामा बस्न मिल्दैन, दीर्घकालिन योजना छैन

बेसिन्दामा गएको पहिरो प्रभावितलाई तत्काल अन्यन्त्र राखिएपछि उनीहरुको दीर्घकालिन व्यावस्थापनको तयारी थालिएको छैन । टेन्टमा बसिरहेकाहरुलाई पुनः बेसिन्दा नै फर्काउने हो की कतै स्थानान्तरण गर्ने भन्ने टुंगो नलागेको हो । तर प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यन्त्र सार्ने सरकारको नीति रहेको बताउँछन् । प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत वितरण गरेको बताउँदै उनले जोखिमयुक्त क्षेत्रमा राख्न नसकिने बताए ।

‘हाम्रो नीति अन्यन्त्र स्थानान्तरण गर्नुपर्छ भन्ने हो,’ अनलाइनखबरसँग उनले भने, ‘टेन्टबाट सुरक्षित स्थानमा सार्छाैं, त्यसपछि प्रदेश, संघ र स्थानीय सरकारको समन्वयमा स्थानान्तरण गर्छौं ।’ उनले बस्ती स्थानान्तरणका लागि कार्ययोजना बनाउन स्थानीय सरकारलाई भनिएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार प्रभावित क्षेत्रमा २८ घर अति जोखिममा छन् । अन्य घरमा बस्न मिल्ने अवस्था छ । तर जोखिम हुने उनले बताए । पुर्नस्थापनाका लागि गाउँपालिकासँग आफ्नै जग्गा रहेको उनले बताए । ६३ रोपनी जग्गा रहेको बताउँदै उनले योजना बनाएर स्थानान्तरण गर्न सकिने बताए ।

सिलिचोङ गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि खरिद गरेको ६३ रोपनी जग्गामा २३ घर बसोबास गरिरहेका छन् । ती घर २०६३ सालमा सिलिचोङ गाउँपालिका–३ सिकिदिम पहिरोमा विस्थापित भएकाहरुको हो । सिकिदिम पहिरोमा १३ जनाले ज्यान गुमाएको पौडेलले बताए ।

२७ असार राति करिब २ बजे गएको पहिरोमा परी ११ जना बेपत्ता भएका थिए । स्थानीय ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरीहरू २१ वर्षीया एन्जीला राई र ११ वर्षीया नम्रता राई बेपत्ता छन् । त्यस्तै जुद्धबहादुर राईको घर बगाउँदा उनकोे श्रीमती ६५ वर्षीया गोरीमाया राई र छोरी २२ वर्षीया प्रकृती राई बेपत्ता छन् ।

५२ वर्षीय जुद्धबहादुर राई (माने), उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, स्थानीय ७० वर्षीय नजमाया राई बेपत्ता छन् । त्यस्तै ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया पनि बेपत्ता छन् ।

पहिरोमा घरसँगै बगेका ७९ वर्षीय गोवासिंह राई, उनकी श्रीमती ६० वर्षीय फूलमाया राई, छोरी १४ वर्षीय भिमसरी राईलाई स्थानीयले जिवितै उद्दार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment