Comments Add Comment

संसदीय समितिका सभापतिले उठाए संसदकै सुशासनमाथि प्रश्न

५ साउन, काठमाडौं । विभिन्न विषयगत समितिका सभापतिले संघीय संसदको सुशासनमाथि नै प्रश्न उठाएका छन् ।

सोमबार सभामुुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहालसहितको बैठकमा सभापतिहरुले अन्य निकायमाथि प्रश्न उठाउने संसदमाथि नै प्रश्न उठ्नु जायज नहुने बताए ।

सभापतिहरुले संसदका लागि भएका खरिदका विषयमा, सेवा सुविधाका विषयमा पनि प्रश्न उठाएका छन् । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले संसदका गतिविधिबारे उठाएको प्रश्नमा सभापतिहरुले चासो राखेका हुन् ।

‘हामी सुशासनको कुरा गर्छौं । अरु निकायमाथि प्रश्न उठाउँछौं । तर, हाम्रै संसदमाथि प्रश्न उठेको छ’, एक सभापतिले बैठकमा राखेको धारणा उद्धृत गर्दै अनलाइनखबरसँग भनिन् ।

केही दिनअघि राष्ट्रपतिलाई बुझाइएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा संसद सचिवालयका कर्मचारीका लागि दिने भनिएको भत्ता सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विषयगत समितिका सभापतिको सचिवालयमा कार्यरत व्यक्ति (जो सचिवालयका कर्मचारी होइनन्) ले गैरकानूनी रुपमा लिएको देखाइएको छ ।

महालेखाको प्रतिवेदनमा उल्लेखित संसदको विषयले नागरिकमा राम्रो सन्देश नजाने भन्दै सभापतिहरुले सभामुख सापकोटाको ध्यानाकर्षण गराए । जवाफमा सभामुुख सापकोटाले यो गम्भीर विषय भएको र आफ्नो ध्यानानकर्षण भएको बताएको जनाइएको छ ।

‘सुशासनको उदाहरण संसदले देखाउनुपर्ने हो, सबैभन्दा बढी अनुशासित हुनुपर्ने हो । तर, यसमाथि केही कुरा आएका छन् । यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ सभामुखको भनाई उद्धृत गर्दै एक सभापतिले भने ।

अस्वस्थ प्रतिस्पर्धा

सोमबारको बैठकमा संसदीय समितिको कार्यक्षेत्रका विषयमा पनि प्रश्न उठे । एउटै विषयमा फरक–फरक समितिले बैठक राख्ने र सरकारलाई निर्देशन दिने गरेका छन् । धैरै समितिले एउटै मन्त्रीलाई बोलाउने र छलफल गर्ने गरेका छन् ।

बैठकपछि सभामुख सापकोटाले समितिहरुका बीचमा अस्वस्थ प्रतिस्पर्धा नगर्ने समझदारी भएको बताए । ‘कार्यक्षेत्रका विषयमा छलफल भयो । फेरि छलफल गर्दै त्यस्ता कुराहरुमा कुन चाहिँ बढी जरुरी हो, त्यतातिर जानुपर्छ’ उनले भने ।

‘संसदलाई मन्त्रीले खोलाची ठाने ?’

सभापतिहरुले सरकार र मन्त्रीहरुले संसदलाई नटेरेको गुनासो पनि गरेका थिए ।

‘मन्त्रीले संसदलाई खेलाचीँ ठान्ने ? यही संसदबाट सरकार बनेको होइन ? मन्त्री यहीँबाट गएको होइन ? यसैलाई नमान्ने ? यस विषयामा गम्भीर हुन पर्यो । यो संसद्को सर्वोच्चता र स्वायत्तताको विषय हो’ एक सभापतिले भने ।

समिति सभापतिहरुले सांसदहरुको रुची समितिमा आउने विधेयकहरुमाथि छलफल गर्ने भन्दा घुम्न जानमा बढ्ता देखिने गरेको गुनासो गरेका छन् ।

‘कानुन बनाउने विषयमा कोरम नपुग्ने कहीँ घुम्न जाउँ, स्थलगत अध्ययन गरौं भन्दा तँछाड मछाड हुन्छ’ एक सभापतिको गुनासो थियो ।

समितिहरुले स्थलगत अवलोकनमा जाँदा विज्ञलाई समेत लैजाने गरेको र विज्ञमाथि प्रश्न उठ्ने गरेकोबारे पनि छलफल भएको थियो ।

स्रोतका अनुसार सभामुख सापकोटा र राष्ट्रिय सभा अध्यक्ष दुबैले स्थलगत अवलोकनमा जाँदा विज्ञ लैजाने विषय सामान्य नभएको बताएका छन् ।

उनीहरुले सभापतिहरुलाई विज्ञ छनोट गर्दा ख्याल गर्न र स्थलगत अवलोकनमा जाँदा विज्ञ लैँजानै परे त्यसबारे समन्वय गर्न आग्रह गरेका छन् ।

बल्ल बल्ल बैठक राखेर, कोरम पुर्याएर सरकारलाई दिएका निर्देशनहरू समेत कार्यान्वयन नभएको सभापतिहरुको अर्को गुनासो छ ।

निर्देशन कार्यान्वयन नभएको, ढिलो कार्यान्वयन भएको विषयमा सभापतिहरुले सभामुखसमक्ष गुनासो पोखेका हुन् ।

बैठक कक्ष साँघुरो भएको गुनासो

बैठक कक्ष साँघुरो भएको गुनासो सबै समिति सभापतिहरुको छ । बैठक गर्नका लागि समय प्रतिकूल भएको, भौतिक दूरी कायम गरेर बैठक गर्नका लागि हलको अभाव भएको जस्ता विषय साझा विषयमा रुपमा उठेका छन् ।

कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गरेर बैठक राख्नुपर्नेमा त्यसका लागि ठाउँ अभाव भएको उनीहरुको भनाइ छ ।

यसका अलावा प्राविधिक सामग्रीहरूको अभाव भएको पनि सभापतिहरुको गुनासो छ । अझैसम्म धेरै समितिमा रेकर्डिङको व्यवस्था छैन । यो विषयमा पनि सभापतिहरुले सभामुखको ध्यानाकर्षण गराए ।

तीन सभापति अनुपस्थित

सभामुखमा सापकोटा निर्वाचित भएर आएपछि प्रतिनिधि सभा, राष्ट्रिय सभा र दुुबै सदनका संयुक्त समितिका सभापतिसहितको बैठक पहिलो पटक बसेको हो ।

सोमबारको छलफलमा तीन जना सभापतिहरु भने अनुपस्थित रहे ।

प्रतिनिधि सभातर्फ १० वटा, राष्ट्रिय सभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन् । त्यसमध्ये सोमबारको बैठकमा १३ जना सभापतिहरुको उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोख्रेल, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन समिति सभापति निरा देवी जैरु अनुपस्थित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment