+
+
Shares

क्याट फिस आयात : भन्सारले जाँचपास गर्‍यो, प्रहरीले नष्ट

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन ५ गते २०:३९

५ साउन, विराटनगर । विराटनगर भन्सारले जाँचपास गरेर नेपाल ल्याउन अनुमति दिएको ७ हजार किलोभन्दा बढी माछा सुनसरी प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले ७ हजार ५ सय १० किलो अफ्रिकन माङगुर (क्याट फिस) माछा नष्ट गरेको हो । क्याट फिस आयात गर्न प्रतिबन्ध रहेकाले बरामद गरेर नष्ट गरेको प्रहरी उपरीक्षक कमल थापाले बताए ।

गत शुक्रबार प्रहरीले जिउँदो माछा बोकेको ट्रक कोशी ब्यारेज नजिकै चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो । तर ती माछा विराटनगर भन्सार कार्यालयबाट २ साउनमा जाँचपास गरी नेपाल ल्याउन दिएको पाइएको छ ।

स्रोतका अनुसार विराटनगर भन्सारबाट नियमती रुपमा जिउँदो क्याट फिसको आयात भइरहेको थियो । ‘भन्सारबाट सेटिङमा जिउँदो माछा पास भएको हो । अनुमति नभएको माछा व्यापारी एक्लैले भित्र्याउन सक्दैन’ स्रोतले भन्यो ।

यो पटक प्रहरीले पक्राउ गर्‍यो । शुक्रबार साँझ भारतको पश्चिम बंगालबाट जिउँदो माछा बोकेर आएको डब्लू बी २७ जे ६१४१ नम्बरको ट्रकलाई चालकसहित नियन्त्रणमा लिएपछि प्रहरीले राजस्व कार्यालयलाई बुझाउन खोजेको थियो ।

तर अध्ययन गर्दा क्याट फिस आयातमा प्रतिबन्ध रहेको पाइएपछि नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले बताए । सोमबार दिउँसो माछा नष्ट गर्न उनको तयारी थियो । तर विराटनगरका व्यापारी सोहनी मियाँले आयात गरेको माछा छाड्न दबाब आउन थालेपछि उनले विहानै पत्रकार सम्मेलन गरी माछा नष्ट गरे ।

मत्स्य विकास निर्देशनालयले पनि जिउँदो क्याट फिसलाई आयात अनुमती नभएको बताएको छ । ‘अफ्रिकन माङगुरका नामले परिचित यो माछा मांशहारी हो, नेपालमा ल्याउन हामीले अनुमति दिएको छैन’ केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्रका निर्देशक प्रमोदकुमार रिजालले भने, ‘यो माछा जैविक विविधताका लागि हानिकारक छ । पाल्नका लागि पनि सिफारिस गरेका छैनौं ।’

पाल्नका लागि सिफारिस नगरेको माछा जिउँदो रुपमा ल्याउन नमिल्ने उनले बताए । ‘खानाका लागि ल्याउने हो फ्रोजन (फ्रजमा राखेर) गरी ल्याउनु पर्ने हो’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘जिउँदो माछा ल्याउन मिल्दैन ।’

तर विराटनगर भन्सार कार्यालय प्रमुख शिव भण्डारी माछा आयातमा प्रतिबन्ध नभएको र जाँचपास गरी भित्र्याएको माछा प्रहरीले नष्ट गर्न नमिल्ने बताए ।

‘क्याट फिस विराटनगरका लागि भनेर भित्रिएको हो’ उनले भने ‘माछा सुनसरीमा समातिएको रहेछ । बाहिर अरु माछा थप गरेका पनि हुनसक्छन् ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?