Comments Add Comment

गण्डकी प्रदेश : बाढीले बगायो सडक, पुल र मन्दिर, एक बेपत्ता

६ साउन, म्याग्दी । निरन्तरको वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए ।

बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ ।

रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो । रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ ।

मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्स्ट्रक्शनको एक एक्साभेटर (डोजर) र पार्किङ गरेर राखिएको बस बगाएको छ । दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्सेखोलामा ठूलो बाढी आएको थियो । विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्सेखोला कालीगण्डकीमा मिसिन्छ ।

कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ । दानाका स्थानीयवासी जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । रुप्से ब्लक उद्योग पनि बगाएको छ । दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सवस्टेशन र क्रसर उद्योग कटानको जोखिममा परेको छ ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी र रेडक्रसको भवनलगायत ३० भन्दा बढी घर जोखिममा परेका छन् । नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।

जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीको दोभानस्थित जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ ।

बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाइसकेको छ । कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडाैँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पुर्‍याएको छ । सडक, मोटरेबल र झोलुङ्गे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावत बन्द भएको दानाका गङ्गा पुनले बताए ।

यसअघि गत असार २५ गते रघुगङ्गा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएकाले पूर्णरूपमा सिधा यातायात सञ्चालनका लागि थप समय लाग्ने देखिएको छ ।

धवलागिरि हिमालको आसपासका क्षेत्रमा भारी वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगङ्गा नदी र सहायक खोलामा बाढीको सतह बढेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

म्याग्दीका प्रमुख यी तीनवटै नदीको पानीको स्रोत हिमालहरु हुन् । म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सामानसहित सुरक्षित ठाउँमा सारिएको बताए ।

कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ–तातोपानीको तल्लोबजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसोसमेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली – आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिए ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताए । “दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ”, उनले भने, “करिब ४०/४५ मिनेटसम्ममा राजमार्ग सञ्चालन हुन्छ ।” राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् ।

निरन्तरको झरीका कारण जिल्लाका केही ठाउँमा घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । सोमबार राति केही घरहरुमा क्षति पुगेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment