Comments Add Comment

डाक्टरले पनि लेख्नुपर्छ ?

‘तपाईं पत्रकार पनि हो ?’

मैले धेरैजसो झेल्ने प्रश्न हो यो । पत्रपत्रिका एवं संचारमाध्याममा मेरो लेख–रचना प्रकासित हुने भएकाले यस किसिमको उत्सुकता जाग्नु स्वभाविक पनि हो । जवाफमा म भन्छु, ‘होइन, म त डाक्टर नै हो ।’

त्यसपछि अर्को प्रश्न थपिन्छ, ‘डाक्टरले पनि लेख्नुपर्छ ? आफ्नो काम गर्नुहुन्छ कि लेख्नुहुन्छ ?’ यो जिज्ञासा पनि स्वभाविक हो । डाक्टरको खास काम लेख्ने होइन, आफ्नो विज्ञता अनुसार औषधि–उपचार गर्ने हो । म प्रसूती एवं महिला रोग विशेषज्ञको हैसियतले सोही अनुरुपकै काम गरिरहेको हुन्छु र मेरो मुल कर्म पनि त्यही हो । चिकित्सा पेशामा नै मेरो खास दख्खल, अनुभव र सर्मपण पनि छ । तर, कहिले फुर्सद हुँदा वा कहिले फुर्सद निकालेर आफ्नै अनुभव, बुझाई एवं भोगाईका कुराहरु संचारमाध्याममा छपाउने गर्छु ।

डाक्टर भएर लेख्नैपर्छ भन्ने छैन । यो मेरो बाध्यता होइन । यसमा मेरो अलिकति रहर र अलिकति कर्तव्य मिसिएको छ । मिडियाप्रति एक किसिमको आकर्षण र लेखनप्रतिको लगावले गर्दा मलाई लेख्न मन लाग्छ । अर्थात लेखन मेरो नितान्त रहरको विषय हो । तर, कतिपय अवस्थामा भने कर्तव्यबोधले पनि मलाई लेख्नका लागि प्रेरित गर्छ । म मात्र होइन, धेरैजसो चिकित्सकले लेखिरहेका हुन्छन् । अरु पेशाकर्मीले प्राय लेख्दैनन् । तर, चिकित्सकले भने लेख्छन् । किन ?

डा. बालकृष्ण शाह

स्वास्थ्य क्षेत्र आफैमा संवेदनशिल र महत्वपूर्ण विषय हो । यो सबैको सरोकार र चासोको विषय पनि हो । हरेकको आफ्नै जीवनको कुरा पनि हो । त्यसैले स्वास्थ्य सम्बन्धी सचेतना जगाउन आवश्यक हुन्छ जस्तो लाग्छ ।

स्वास्थ्य एक संवेदनशिल क्षेत्र हुँदाहुँदै पनि यसका सम्बन्धमा मान्छेहरुले स्पष्ट र आवश्यक जानकारी प्राप्त गरिरहेका हुँदैनन् । जस्तो अधिकांश व्यक्ति कुनै न कुनै शारीरिक÷मानसिक समस्याबाट सताइएका हुन्छन् । उनीहरुको आ आफ्नै स्वस्थ्य समस्या हुन्छ । तर, आफ्नो समस्या के हो, कस्तो हो, जटिल वा सरल के हो, उपचार कहाँ गर्ने, कसरी गर्ने, कति खर्च लाग्छ यावत विषयमा उनीहरु बेखबर हुनसक्छन् ।

हाम्रा धेरैजसो सर्वसाधरण सोझै डाक्टरको पहुँचमा छैनन् । उनीहरुको फेमेली डाक्टर छैनन् । अस्पतालमा धाउने फुर्सद वा अनुकुलता हुँदैन । यस्तो अवस्थामा आफ्नो समस्यालाई आफैभित्र गुम्साएर राख्न बाध्य हुने गर्छन् । यसले उनीहरुलाई थप पीडा र मानसिक समस्या समेत थप्ने गर्छ । त्यसैले चिकित्सकहरुले यसकारण  लेख्नुपर्छ कि, जो हाम्रो सोझो पहुँचमा छैनन् उनीहरुले कुनै न कुनै माध्यामबाट आफ्नो समस्या सम्बोधन भएको सुन्न र पढ्न सकोस् ।

चिकित्सकले आफ्नो विज्ञता, दक्षता, अनुभवको कुरा सञ्चारमाध्यामबाट साझेदार गर्नु कर्तव्य वा जिम्मेवारी पनि हो भन्ने मलाई लाग्छ । हुन त स्वास्थ्यसँग सम्बन्धित जानकारीहरु पत्रकारले पनि लेखिरहेका हुन्छन् । यही क्षेत्रमा मात्र लेख्ने पत्रकार समेत हुन्छन् । तर, चिकित्सकसँग जुन अनुभव र जानकारी हुन्छ, त्यसलाई स्वयम् चिकित्सले प्रस्तुत गर्दा अरु बढी प्रभावकारी हुनसक्छ ।

डाक्टरलाई यसबारे जति अध्ययन र ज्ञान हुन्छ त्यो तह सम्मको अध्ययन हुदैन, त्यसैले निचोड तथा सबै तथ्यहरुको विश्लेषण नहुन सक्छ । यसले समाजमा र्युमर्स अर्थात गलत संदेश जान सक्छ । त्यसैले डाक्टरले कलम पनि चलाउनु पर्छ । अझ मेरो बिचारमा अन्य क्षेत्रका विज्ञहरुले पनि आफ्नो क्षेत्रमा कलम चलाउनु पर्छ ।

प्रश्न यो होइन कि, चिकित्सकले किन लेख्छन् ? बरु हामीले भन्नुपर्छ, ‘चिकित्सकले पनि लेख्नुपर्छ ।’

एउटा चिकित्सकले अस्पताल÷क्लिनिकमा कुनै बिरामीलाई जाँचेको वा परामर्श दिएको शुल्क लिन्छन् । तर, त्यही कुरा उनले संचारमाध्याममार्फत प्रस्तुत गर्ने हो भने कुनै शुल्क बिना नै सबैले पढ्न, सुन्न वा बुझ्न पाउँछन् ।

हामीकहाँ स्वास्थ्य सचेतना एकदमै दयानिय छ । स्वास्थ्यप्रति मान्छेमा खास र स्पष्ट जानकारी छैन । रोग, औषधि, उपचारबारे मान्छेमा ठोस जानकारी छैन । स्वास्थ्य जागरण छैन । त्यसमाथि रोग, उपचार र उपचार खर्चबारे विभिन्न भ्रम व्याप्त छन् । त्यसैले समाजमा स्वस्थ्य सचेतना जगाउनका लागि पनि चिकित्सकहरुले लोख्नुपर्छ, बोल्नुपर्छ । कतिपयले संचारमाध्यामबाट यस्ता जानकारी उपलब्ध गराउन सक्छन्, कतिले सामाजिक संजालबाट । मैले देखेको छु, कतिपय चिकित्सकले फेसबुक भिडियो बनाएर पनि रोग र उपचारबारे परामर्श दिइरहेका हुन्छन् । स्वास्थ्य उपचार गर्नु हाम्रो पेशागत धर्म हो भने, आफुसँग भएको अनुभव र जानकारीहरु समाजमा सम्प्रेषण गर्नु मानविय धर्म हो । अतः मैले यही मानविय धर्म निर्वाह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment