Comments Add Comment

बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

७ साउन, वीरगञ्ज । बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस -कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये सिम्रौनगढ-८ कचोर्वा घर भई वीरगञ्ज-७ रामटोल बस्दै आएका २९ वर्षीय, पटेर्वासुगौली गाउँपालिका- ५ निचुटा घर भइ वीरगञ्ज-११ रानीघाट बस्दै आएका ५५ वर्षीय र परवानीपुर गाउँपालिका-५ बाराका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यससँगै मारुती फर्मास्युटिकल्समा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार पनि मारुतीमा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ५६ वर्षीय, नारायणी अस्पतालमा कार्यरत ३५ वर्षीय सरसफाइकर्मी, एडभान्स अस्पतालमा भर्ना भएका वीरगञ्ज-५ जेलरोडका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

त्यस्तै, आफ्नै खर्चमा पीसीआर जाँच गराएका वीरगञ्ज-२१ लिपनीविर्ता परवानीपुर बस्ने ३५ वर्षीय पुरुष, सखुवाप्रसौनी गाउँपालिका-३ कौवावन कटैया घर भई वीरगञ्ज-१३ राधेमाई टोल बस्दै आएका ३१ वर्षीय पुरुष र बाराको प्रसौनी गाउँपालिका-४ खुटुवाजब्दी घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उनीहरुलाई नारायाणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालमा ल्याउने क्रम जारी रहेको छ । यसअघि गण्डक कोभिड अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment