
७ साउन, जनकपुरधाम । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका कोरोना संक्रमित प्रादेशिक अस्पताल जनकपुरधाम हुँदै धरान पुगेको पाइएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिकाका ६० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको थियो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार शवलाई ल्याएर बुधबार बिहान नियम अनुसार अन्तिम संस्कार गरिएको छ ।
मृतक सेवानिवृत्त सरकारी इन्जिनियर हुन् । महोत्तरी गाउँपालिका ३ मरैस्थित घरमा श्रीमतिसँगै बस्दै आएका थिए । उनी क्यान्सरको बिरामी थिए ।
ज्वरो आएर अस्वस्थ भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । यहाँ उपचार हुन नसक्दा धरान पठाएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रवक्ता गिरेन्द्रकुमार झाले बताए ।
बिरामी हुँदा उनी घरमै थिए । त्यसअघि कतै गएको विषयमा सोधपुछ भइरहेको उनले बताए । प्रवक्ता झाले भने, ‘उनी भारत गए नगएको खुल्न सकेको छैन । हामी पत्ता लगाइरहेका छौं ।’
उनका अनुसार बिहीबार मृतकको घर पुगेर कन्ट्याक्ट ट्रेसिङसहित अन्य काम शुरु गरिने बताए । उनी बिरामी हुँदा घर पुगेर रेखदेख गर्ने व्यक्ति, घरपरिवारका सदस्यदेखि जनकपुरधाम र धरानसम्म पुर्याउने व्यक्तिसम्मको स्वाब संकलन गरिने उनले बताए ।
‘बाँकी कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आउने व्यक्तिको पनि स्वाब संकलन गर्छौं’ उनले भने ।
प्रतिक्रिया 4