Comments Add Comment

जहाजमा पुरै सीटमा बस्नेछन् यात्रु, उडान संख्या भने घट्ने

८ साउन, काठमाडौं । सरकारले १ भदौबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने अनुमति दिएपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् ।

तर हवाई यात्रा पहिलाभन्दा केही झण्झटिलो हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु, वायुसेवा प्रदायक कम्पनी र विमानस्थल संचालनका दौरान पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा निर्देशिका बनाएर सार्वजनिक गरिसकेको छ ।

निर्देशिका पालना प्रभावकारी बनाउन र पहिलो चरणमा खुला गर्ने गन्तब्यहरु तय गर्न एउटा समितिले काम गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनकाअनुसार यो समितिले कुनकुन गन्तव्य पहिलो चरणमा खुला गर्ने भन्ने सिफारिस गर्नेछ र, त्यही आधारमा उड्डयन प्राधिकरणले निर्णय लिनेछ ।

पुरै सीटमा यात्रु राखिने

उपमहानिर्देशक क्षेत्रीका अनुसार पहिरो चरणमा सिमित गन्तब्य खोल्ने तयारी छ । तर खुलेका गन्तब्यमा भने पुरै सीटमा यात्रु राखेर उडान गर्न दिने छलफल भइरहेको छ ।

सीटमा यात्रु संख्या घटाउँदा भाडा महंगो पर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुरै सिटमा यात्रु राख्ने तयारी छ । लकडाउनयता हवाई इन्धनको मूल्य घटेको र बजेटले समेत हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर हटाएका कारण तत्काल भने हवाई भाडा भने केही सस्तो हुने बताईको छ ।

टर्मिनलमा भीड नहुने गरी उडान

सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु थेग्नसक्ने क्षमता औसतः प्रतिघण्टा १३ सय हाराहारी हो । तर क्षमताभन्दा दोब्बर यात्रुलाई सेवा दिनु परेको थियो, जसले गर्दा जहाज चढ्दा र ओर्लदा टर्मीनलमा भीड हुन्थ्यो । अहिले सामाजिक दुरी कायम गर्ने र टर्मिनलमा धेरै भीड नहुने गरी उडान संख्या तय हुने भनिएको छ । समितिको सिफारिसका आधारमा प्रतिघण्टा उडान संख्या तय हुने प्राधिकरणले जनाएको छ ।

यसका लागि प्राधिकरण, विमानस्थल र वायुसेवा कम्पनीले समेत हवाई यात्राका दौरान यात्रु, उडान कर्मचारी र ग्राउण्ड स्टाफले पालना गर्नुपर्ने नियमहरुबारे पूर्वअभ्यास समेत गरेका छन् ।

आन्तरिकमा सबै गन्तब्य खुल्ने, अन्तराष्ट्रियमा जोखिम हेरेर

१ भदौपछि आन्तरिकतर्फ सबै विमानस्थलमा उडान संचालनको तयारीमा प्राधिकरण जुटेको छ । तर अन्तराष्ट्रिय गन्तब्यमा भने सबै क्षेत्र एकैपटक खुला हुने छैनन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम विश्लेषण गरेर सबैभन्दा सुरक्षित गन्तब्यबाट पहिलो चरणमा उडान शुरु गरिने उपमहानिर्देशक क्षेत्रीले जानकारी दिए ।

केही झण्झटिलो हुनेछ यात्रा

हवाई उडानका दौरान अब यात्रुले केवल टिकट र बोर्डिङ पास लिएर मात्र पुग्दैन, हरेक यात्रुले आफ्नो विवरण खुल्ने फारम भर्नु पर्नेछ । अन्तराष्ट्रिय यात्रुले आफुलाई कोरोनाको संक्रमण भए नभएकोदेखि पछिल्लो यात्रा विवरणसमेत राख्नुपर्छ ।

जहाजमा यात्रा अवधिभर मास्क अनिवार्य लगाउनुपर्ने छ । विमानस्थल प्रवेशमा सामाजिक दूरी, ज्वरो मापन, स्यानिटाइजर प्रयोग वा अनिवार्य हात धुनुपर्ने नियम बनाइएको छ । रुघाखोकी, १००.४ डिग्री ज्वरो आएका, सास फेर्न कठिन हुने, स्वाद र बास्ना थाहा नपाउनेजस्ता कोभिड १९ सँग मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् । ७० वर्षभन्दा माथिका यात्रु, गर्भवती तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिलाई समेत सम्भव भएसम्म हवाईजहाजमा यात्रा नगर्न सचेत गराइएको छ ।

आन्तरिक उडानमा इनफ्लाइट क्याटरिङ बन्द भएको छ । अन्तराष्ट्रिय उडानमा भने यो सुविधा उपलब्ध हुनेछ । हवाईजहाजबाट जनावरको ओसारपसार बन्द गरिएको छ । विमानस्थलमा रहेका ट्रली अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न पाइनेछ ।

सम्भव भएसम्म चेकइन र बोडिङ पासलाई पेपरलेस बनाउन समेत प्राधिकरणले विमान कम्पनीहरुलाई सुझाएको छ । विमानस्थलमा एक व्यक्ति अर्को व्यक्तिको सम्पर्कमा आउनु नपरोस् भनी यस्तो प्रावधान ल्याइएको हो । विमानस्थल भित्र पनि सामाजिक दूरी कामय गर्न पूर्वाधार र मार्किङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment