Comments Add Comment

ओली सरकारको ४ महिने लकडाउन

चैत ११ गतेदेखि लगाएको १२० दिन लामो लकडाउन साउन ६ गतेबाट अन्त्य गरिएको छ । किन लकडाउन गरियो ? अनि किन लकडाउन खोलियो ? यसका बारेमा नागरिकलाई सरकारले सुसूचित गरेको छैन । १२० दिन अघि संक्रमणको जोखिम कम र संक्रमित संख्या न्यून भएको बेला लकडाउन गरिएको थियो ।तर, आज संक्रमणको जोखिम उच्च र संक्रमित संख्या सरदर दिनमा १०० भएको बेला बन्दाबन्दी अन्त्य गरिएको छ ।

खुला सीमाना भएको छिमेकी देश भारतमा संक्रमित र मृत्यु दर उच्च छ । कोभिड १९ को चपेटामा परेका देशहरू मध्ये अहिले भारत संसारकै तेस्रो नम्बरमा छ । सरकारी तथ्यांकअनुसार अहिले पनि भारतबाट नेपाल फर्कने नागरिकको संख्या दिनकै सयौं रहेको छ । उनीहरूलाई अनिवार्य क्वारेन्टिनमा राख्ने अर्थात् विश्व स्वास्थ संगठनको मापदण्डअनुसार चेकजाँच गर्ने नभैरहेको सूचना बाहिर आइरहेका छन् । जसको कारण संक्रमण सिधै समुदायमा पुग्न सक्छ ।

नागरिकलाई आवश्यक सुसूचित नगरी र सरकारले वैकल्पिक योजना नबनाई लकडाउन खोल्दा संक्रमण फैलिएर पुनः लकडाउन गर्नुपरेको उदाहरण भारत नै छ । अन्य कतिपय देशले पनि दोहोर्‍याएर लकडाउन गर्नुपरेको थियो । नेपालमा पनि दोहोर्‍याएर लकडाउन गर्नुपर्ने दिन आउन सक्छ भन्दै जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिइरहेका छन् । यो चेतावनी सरकारको बिरोधका लागि होइन । संभावित दुर्घटनालाई मध्यनजर गरेर सतर्कता लागि दिइएको हो । दुर्घटना अघि समयमै सरकारले आवश्यक सतर्कता अपनाउन जरुरी छ ।

हाम्रोजस्तो देश लकडाउन नगर्दा रोगले मर्ने, गर्दा भोकले मर्ने जटील अवस्थामा छ । `भोकले मर्नुभन्दा कोरोनासँग जुधौंला´ भन्ने निष्कर्षमा आम सर्वसाधारण पुगेको कुरा पनि सत्य हो । सकेसम्म सरकारले विपदमा परेका आफ्ना नागरिकलाई सुरक्षित राख्ने व्यवस्था गर्नुपर्थ्यो । व्यवस्था गर्न नसके पनि सुरक्षित रहने विकल्प भने दिनैपर्छ । सरकार भनेकै विपत्तिमा चाहिने त हो । अरुबेला जसोतसो बाँचेकै त हुन्छन मान्छे । तर बिडम्बना ! सरकार कहाँ छ भनेर दिउँसै बत्ती बालेर खोज्नुपर्ने भएको छ ।

सरकार बेलाकुबेला चाहिने नचाहिने फण्डा गर्दै हिँड्ने गरेको छ । देशले कोरोना कहर काटिरहेको बेला कहिले सरकार पार्टी फुटाउने अध्यादेश ल्याउँछ र देशमा बबण्डर मच्चाउँछ । कहिले कोरोनाको औषधि तातोपानी र बेसार भनेर सिफारिस गर्छ । हिमालको चिसो हावा खाएर हुर्किएका नेपालीको इम्युनिटी पावर धेरै छ, त्यसैले नेपालीलाई कोरोनाले छुँदैन । छोए पनि हाच्छ्यूँ गरेर उडाउनुपर्छ । तर भारतको कोरोना भने कडा रहेछ भन्दै छिमेकीलाई जिस्क्याउँछ । कहिले अयोध्या नेपालकै ठोरीमा छ । राम भारतमा होइन यहीँ ठोरीमा जन्मिएका हुन् । भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको छ भनेर छिमेकीलाई उत्तेजित बनाउँछ । कहिले प्रधानमन्त्री आफ्नै पार्टीका नेताहरूलाई भारतको दलाल भनेर करार गर्नुहुन्छ । क्या गजबको रमिता ! साँच्चै अब त `…. लाई भन्दा देख्नेलाई लाज भैसक्यो´ भन्या !!

सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको दाबी गरिरहेको छ । सरकारको दाबी आफ्नै ठाउँमा छ । तर लकडाउनको चार महिनालाई फर्किएर हेर्‍यौं भने कस्तो चित्र देखिन्छ त ?

लकडाउनले रोजगारी खोसिएपछि सहरमा खान नपाएका मजदुरहरू बिरामी जहान परिवार लिएर झन्डै हजार किलोमिटरको लम्बे यात्रा पूरा गरेर भोकभोकै घर पुगेका थिए । विचरा तिनलाई सुरक्षित ढंगले घर पुर्‍याउनु त कहाँ हो कहाँ उल्टै ठाउँठाउँमा अवरोध सिर्जना गरेर राज्यले दु:ख दिएको थियो । भारतबाट ज्यान बचाउन भोकभोकै घर फर्केका हजारौं हजार नागरिकलाई हप्तौंसम्म सीमानामा अलपत्र पारेर सरकारले आफ्नै देशका नागरिकहरूलाई दुश्मनको जस्तो व्यवहार गरेको थियो ।

देश फर्कन सीमामा संघर्ष गर्दागर्दै कैयौंलाई कोरोनाले त्यहीँ संक्रमण गरेको थियो । नदीमा हामफालेर देशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई नाङ्गै घुमाएर सरकारले आफ्नो बहादुरी प्रदर्शन गरेको थियो । भारतबाट आएका हजारौं नागरिकलाई बिना चेकजाँच घर जान दिएर पछि तीनै नागरिकको हुलिया खोज्दै गाउँघर चाहरेको थियो । क्वारेन्टिन यतानागृह र रोग सार्ने केन्द्र बन्दै गएपछि क्वारेन्टिनमा बसेकाहरू रातारात भाग्न वाध्य भएका थिए । स्वास्थ्यकर्मीबाटै क्वारेन्टिनमा बसेका महिला बलात्कृत भएकी थिइन् । दलितको नाममा क्वारेन्टिनभित्र कुकुरसँग बस्न र खान बाध्य पारिएको थियो । त्यतिले मात्रै नपुगेर रक्तमुछेल हुनेगरी पिटिएको थियो । मलर सदा र सूर्यबहादुर तामाङ खान नपाएर भोकले मरेका थिए । स्वास्थ सामाग्रीजस्तो अत्यन्तै संवेदनशील वस्तुहरूका खरिदमा समेत भ्रष्टाचार गरिएको थियो ।

सरकार भनेकै विपत्तिमा चाहिने त हो । अरुबेला जसोतसो बाँचेकै त हुन्छन मान्छे । तर बिडम्बना ! सरकार कहाँ छ भनेर दिउँसै बत्ती बालेर खोज्नुपर्ने भएको छ ।

उल्लेखित घटनाहरूका आधारमा भन्न सकिन्छ, सरकारले दाबी गरेजस्तो ऊ कोरोना नियन्त्रणमा सफल भएको छैन । जुनबेला चीनको वुहानबाट विश्वमा कोरोना फैलिदै थियो, त्यसबेलादेखिनै सतर्कता अपनाएको भए नेपाललाई कोभिड १९ बाट सुरक्षित राख्न सकिन्थ्यो । किनकि, नेपाल विश्वको काँठमा अवस्थित देश हो । अन्तर्राष्ट्रिय हवाई उडान जसरी समयमै व्यवस्थित गरियो, त्यसैगरी भारतको सीमाक्षेत्र सुरुदेखि नै व्यवस्थित गर्नसकेको भए आज यो अवस्था व्यहोर्नुपर्ने थिएन । नीतिगत रूपमा तहगत संरचना, उनीहरू बीचको चुस्तदुरुस्त समन्वय त्यस्तै पर्याप्त स्वास्थ्य सामाग्री, आवश्यक दक्ष जनशक्ति, व्यवस्थित क्वारेन्टिन, सुरुबाटै जनस्तरमा जनचेतना दिनसकेको भए कोभिड १९ माथि सजिलै विजय प्राप्त गर्न सकिन्थ्यो ।

फरक प्रसङ्ग

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भोलि साउन १० गते दुई वर्ष पुग्दैछ । यस दुई वर्षमा हत्यारा पत्ता लगाउने नाममा सरकारले विभिन्न नाटक मञ्चन त गर्‍यो । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । अर्थात् पत्ता लगाउन चाहेको छैन । आफ्नो बचाउका लागि सरकारले थुप्रै तर्क त गर्ला, कामको फेहरिस्त पनि प्रस्तुत गर्ला । तर, सरकारको तर्क र कामको फेहरिस्तप्रति अब कसैले बिश्वास गर्दैन । किनकि, यस दुई वर्षमा सरकारले आफ्नो नालायकिपन दुनियाँसामु प्रमाणित गरिसकेको छ ।

रुपन्देहीको देवदहमा २०७७ जेठ १० गते २५ वर्षीय कथित माथिल्लो जातको युवाले ललाइफकाइ १३ वर्षीया मधेसी दलित किशोरी अंगिरा पासीलाई बलात्कार गर्‍यो । वडाध्यक्षको नेतृत्वमा बसेको गाउँको कचहरीले अंगिरालाई बलात्कारी युवाको जिम्मा लगायो । जब अंगिरा बलात्कारी युवकको घर पुग्छिन्, उनी तल्लो जातको भएकाले उनलाई घरभित्र पस्नसमेत दिइन्न । त्यही साँझ अंगिरा गाउँको एउटा रूखमा झुन्डिएको अवस्थामा भेटिन्छिन् । अब प्रश्न उठ्छ, यो हत्या थियो कि आत्माहत्या ?

हाम्रो समाजको पुरुषवादी मानसिकता, सामाजिक संस्कार र परम्परा अनि राज्यको कानुनले यसलाई आत्महत्या नै प्रामाणित गर्ला । अंगिराले साँच्चै आत्महत्या नै गरेकी पनि हुनसक्छ । उनले आत्महत्या नै गरेकी हुन् भने पनि के त्यो आत्महत्या हो ? होइन । उनलाई आत्महत्या गर्न विवश बनाउने हाम्रो समाज हो । समाजका कथित भद्रभलाद्मी हुन् । १३ वर्षीया बालिकालाई २५ वर्षे युवक त्यसमा पनि कथित उच्च जातको, लाई सुम्पिनु कहाँको न्याय हो ? वडाध्यक्षलगायतको कचहरिले किशोरी अंगिरालाई जानीजानी मृत्युको मुखमा पठाएको होइन ? धर्म, संस्कृति र परम्पराको नाममा इतिहासदेखि वर्तमानसम्म हजारौं होइन, लाखौं नेपाली चेलीहरूले ज्यान गुमाइसकेका छन् । अनि राज्य र शासकहरू यहि समाजको पक्षमा वकालत गरिरहेका छन् ।

पश्चिम रुकुमको चौरजहारी–८, सोतीको घटनामा संसदीय समितिले घटनाको मुख्य कारण जातीय भेदभाव तथा छुवाछुत भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रहरी गम्भीर भएको भए घटनामा त्यतिधेरै युवाहरूको ज्यान नजान सक्थ्यो भनिएको छ । वास्तवमा त्यहाँका स्थानीय समाज, जनप्रतिनिधि र प्रहरीसमेत त्यस घटनाको दोषी देखिन्छन् । त्यसको मुख्य कारण भनेको जातीय भेदभाव र छुवाछूत नै हो । उनीहरू सबैमा जातीय छुवाछूतको भावना नभएको भए नवराज बिकलगायत ६ जना युवाले ज्यान गुमाउनु पर्दैनथ्यो ।

जातीय भेदभाव र छुवाछूत मानव सभ्यताको कलंक हो । धर्मलाई अफिम बताउँदै जातीयलगायत सबै क्षेत्रमा साम्यता कायम गर्ने विचार दर्शन बोकेर हिँडेका साम्यवादी सरकारको शासनमा इतिहासमै नभएका जातीय, लैंगिक, क्षेत्रीयलगायतका बिभेदहरू देख्दा अचम्म लागेर आउँछ ।

बिट मार्दामार्दै,

लगातारको वर्षाद्ले पहाडमा पहिरो र तराईमा डुबान भैरहेको छ । ज्यान गुमाउने, बेपत्ता हुने र घरबारविहीन हुनेको संख्या दिनानुदिन बढिरहेका छन् । उनीहरूको उद्धार र सहयोग उही परम्परागत सोंच र शैलीमा भैरहेको छ । गृहमन्त्रालय र विपद् व्यवस्थापन विभाग वक्तव्य दिन र आदेश दिनमा व्यस्त देखिन्छ । प्रत्येक साल वर्षातको समयमा पहाडमा पहिरो र तराईमा डुबान हुन्छ भन्ने कुरा शासकहरूलाई थाहा नभएको होइन । थाहा भईभई थाहा नपाएका हुन् । नागरिकप्रति जिम्मेवार र जवाफदेही नभएका हुन् ।

खासमा जनप्रतिनिधिहरूभित्र यस्ता गैरजिम्मेवार अमानवीय संवेदनाहीन सोंचहरू कसरी जन्मछ्न ? यसको पृष्ठभूमि हेर्ने हो भने उनीहरूभित्र सेवक होइन, शासक हुँ भन्ने स्वैच्छाचारी निरंकुश सोंचले काम गरेको हुन्छ । उनीहरू आफूलाई सरदर मान्छेभन्दा अलग्गै र विशिष्ट अर्कै ग्रहबाट आएका प्राणीजस्ता सोच्छन । अफूलाई विशेष दैवी अधिकार प्राप्त अधिकारी ठान्छन् । राजनीतिलाई जनताको सेवा गर्ने साधन नबनाएसम्म नेताहरूमा शासक बन्ने प्रवृत्ति रहिरहन्छ । त्यसका लागि पहिला परम्परागत सोंच र मूल्यमान्यतामा परिवर्तन गर्नु जरुरी छ । साथै, नयाँ सोंच र मूल्यमान्यता अनुसारको विधि विधान र संरचना बनाउन आवश्यक छ । नागरिकप्रति प्रत्यक्ष उत्तरदायी र जिम्मेवार बनाउने विधि र संरचना भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रत्याव्हानको व्यवस्था हो । यी अधिकार नागरिकसँग नभएसम्म हाम्रा जनप्रतिनिधि र नेताहरू सेवक होइन, शासक बनिरहन्छ्न ।

अन्त्यमा, देश बाढी, पहिरो र डुबानमा परेको छ । पहिरोमा पुरिएर बाढीले बगाएर नागरिकले ज्यान गुमाइरहेका छन् । हजारौंको संख्यामा घरबारबिहीन भएका छन् । अन्नबाली नष्ट भैरहेको छ । कोरोना महामारीले मान्छेको ज्यान गइरहेको छ । संक्रमणको जोखिम घटेको छैन । उद्योग, कलकारखाना, बन्दव्यापार ठप्प छ । रोजगारी गुमिरहेको छ । देश भयावह आर्थिक संकट सम्मुखमा उभिएको छ । तर, हाम्रा शासकहरू साम, दाम, दण्ड, भेद प्रयोग गरेर आफ्नो कुर्सी जोगाउन लागिपरेका छन् । आफ्नो नालायकिपनलाई छोप्न र कुर्सीको आयु लम्ब्याउन हप्ताहप्तामा नयाँ नयाँ फण्डा गर्छन् । कुर्सीका लागि शासकरूले झूट, कीर्ते जे जे गर्नु थियो; सबै गरिसके । गर्न बाँकी केही छैन अब । हामी पनि निंदबाट ब्युँझने हो कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment