Comments Add Comment

केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो : प्रचण्ड

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् ।

पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक देखिए ।

पार्टीमा अब के हुन्छ ? महाधिवेशन हुन्छ कि हुन्न ? पार्टी विभाजन त हुने होइन भन्ने आम कार्यकर्ताको जिज्ञासाप्रति जानकार रहेको भन्दै उनले केही प्रश्न उठाएका छन् ।

कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भन्दै उनले भने, ‘हामी सामूहिक नेतृत्वमा चल्न सक्यौं कि सकेनौं भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौं ।’

‘समस्या आउँदा सामूहिक छलफल गर्ने र जे निचोड आउँछ, त्यसको पालन गर्ने अपनायौं कि अपनाएनौं भन्दा बैठक नै नबसेपछि सामूहिक छलफल भएन ।’

कम्युनिस्ट विचार, मार्क्सवादअनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता भएको भन्दै उनले भने, ‘हामीले मान्ने के हो भने विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेकै हो । सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति भयो भने वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ ।’

‘तपाईं हामीले २ वर्ष हेर्‍यौं भने विवेकले सत्तामाथि कतै सत्ता विवेकमाथि हावी हुने हो कि ? समूहको अधिनस्त व्यक्ति हुने ठाउँमा कतै व्यक्तिको अधिनस्त समूह भएर जाने खतरा पो पैदा भएको हो कि भन्ने तपाईंहरूले विचार गर्नु भएकै होला ।’

पार्टीले जनतालाई सुशासन दिन्छौं भनेको तर भ्रष्टाचारसँग जोडिएर श्रृङ्खलाबद्ध रूपमा उठेका प्रश्नहरूको निरुपण गर्न कति सफल भयौं वा भएनौं हेर्नुपर्ने उनले बताए । ‘विचारलाई प्राथमिकता दिने वा पावरलाई प्राथमिकता दिने प्रश्नमा हामी कसरी गइरहेका छौं ?’ उनले भने ।

पार्टीमा बैठक बस्न नै निकै ठूलो कसरत गर्नुपर्ने अवस्था आएको र बैठक बस्दा पनि त्यसको गरिमा कायम राख्ने कि नराख्ने भन्ने बहस सुन्नु परेको उनले बताए । उनले पार्टीको बैठकहरूमा अर्का अध्यक्ष ओलीको अनुपस्थितितर्फ संकेत गरेका हुन् ।

चुनावमा पार्टीले भने अनुसार सरकारले काम गर्न नसकेको समेत प्रचण्डले बताए ।

निर्णय गराउने दलाल, ढिला गर्नेको देवत्वकरण

नेकपा अध्यक्ष प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने पार्टीको निर्णय भएको बताए । भारतले नोभेम्बरमा नेपाली भूभाग समेटेर नक्सा जारी गरेपछि मंसिरमा बसेको स्थायी कमिटी र माघमा बसेको केन्द्रीय कमिटी बैठकले नेपालले पनि नक्सा जारी गर्नुपर्छ भनेको तर सरकारले नक्साभन्दा पनि भूमि नै फिर्ता गर्नुपर्छ भनेको उनले बताए ।

सरकारले अझै नक्सा जारी गर्ने तयारी नगरेपछि नीति तथा कार्यक्रम ल्याउन दिन बसेको स्थायी कमिटी बैठकमा नेताहरूले नक्सा प्रकाशित गर्नुपर्छ भनेको र प्रधानमन्त्री पनि सहमत भएपछि त्यहीँबाट मुख्य सचिवलाई फोन गरेर थप्न लगाएको उनले बताए । पार्टीले निर्णय गरेको र सरकारले त्यसलाई वैधानिकता दिएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए ।

तर पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्ने प्रयास इमान्दार नभएको भन्दै प्रचण्डले भने, ‘निर्णय गराउने दलाल, जसले ढिला गर्‍यो उसकै देवत्वकरण हुन सक्दैन । त्यसो गर्नु भनेको विवेकले काम गरेको हुन सक्दैन ।’

ओलीकै सक्रियतामा एमाले दर्ता

प्रचण्डले अहिले पार्टी गम्भीर संकटमा रहेको बताए । त्यसको कारण अर्का अध्यक्ष ओली भएको उनले संकेत गरे । उनले भने, ‘पार्टी संकटमा छ किनकि हाम्रो बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको समेत सक्रियता र पहलमा भएको छ ।’

उनले अघि भने अहिले देशभर केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने कोसिस भएको छ । हामीले पार्टीमा छलफल गरिरहेका छौं तर देशभरि जुलस भएको छ ।’

नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला १४ असारमा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको थियो भने स्थायी कमिटीमा प्रचण्डसहितका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि सडक प्रदर्शन भएको थियो । यद्यपि अहिले सडक प्रदर्शन रोकिएको छ ।

पार्टी एकताको वैचारिक आधारमा माक्र्सवाद, लेनिनवादलाई निर्देशक सिद्धान्त मानेको र जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीमा जनवाद र माओवादसम्बन्धी मान्यतालाई विकसित गर्नुपर्छ भन्दै समाजवाद उन्मुख जनताको जनवादलाई अहिलेको राजनीतिक कार्यदिशा भनेको उनले उल्लेख गरे । उनले भने, तर अहिले कताकता फेरि पछाडि फर्किन खोजेका संकेतहरु देखिएका छन् ।

‘अब मैले माओवाद जिन्दावाद भन्न थालेँ वा अर्कोले जनताको बहुदलीय जनवाद जिन्दावाद भन्न थाल्यो भने पार्टी एकतालाई प्रवर्धन गरेको ठहरिँदैन’ उनले भने ।

‘एकताप्रति माया छैन भने कहिँ न कहिँ एकतामा क्षति पुग्ने गतिविधि गर्नुपर्छ । सामूहिक निर्णयप्रति विश्वास छैन भने व्यक्तिगत फैसलालाई नै सर्वोपरी ठान्नुहुन्छ । र, त्यसो गरियो भने एकतालाई निरन्तर गति दिन सम्भव हुन्न ।’

अहिले पार्टीमा अहिले भइरहको बहस पदको झगडा नभई विचार, विधि  र पद्धतिको भएको र आफूहरूले एकताका निम्ति पहल गरिरहेको उनले बताए । ‘हामी अहिले कुनै पनि स्थितिमा पार्टी विभाजन हुनबाट रोक्न अन्तिम दमसम्म प्रयास गर्दैछौं र पार्टी विभाजन हुन दिइने छैन’ प्रचण्डले भने, पार्टीलई एकताबद्ध राखिनेछ । विचार केन्द्रित बनाएइनेछ, विधि र पद्धतिमा चल्ने बनाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment