Comments Add Comment

चितवनमा तरकारीको भाउ बढ्यो 

९ साउन, चितवन । लगातारको वर्षासँगैको बाढी पहिरोका कारण चितवनमा तरकारीको मूल्यमा दोब्वरभन्दा बढीले वृद्धि भएको छ । पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानका कारणले तरकारीको अभाव हुन जाँदा भाउ बढ्न गएको व्यवसायीहरुले बताएका छन् ।

चितवनमा धेरै जसो किसानहरु खेत रोपाइँमा लागेका छन् । तरकारी खेती लगाउने रैथाने किसानहरुले समेत लकडाउनका कारणले तरकारी बेच्न नसकेपछि धान रोपाइँ गरेकाले उत्पादन घटेको हो ।

जिल्लामा मध्य बर्खाको सिजनमा मकवानपुरको पालुङ, दामन, धादिङ, गोरखा लगायतका क्षेत्रबाट तरकारी आउने गरेको भए पनि बाढी र पहिरोका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

जगतपुरका तरकारी किसान जगत पुरीले भने, ‘लगातारको वर्षाका कारण तरकारी बारीमै कुहिन थालेको छ, नयाँ तरकारी लगाउन सकिएको छैन । त्यसैले तरकारीकाे भाउ अझ बढ्ने छ ।’

पुरीले भने, ‘अघिल्लो दिन ६ रुपैयाँ केजीमा चिचिण्डो बेचेका थियौं । तर शुक्रबार १६ रुपैयाँ केजीमा बेच्नु परेको छ । अझैं उपभोक्तासम्म पुग्दा त निकै महंगो भएर जान्छ, पहिला बारीमा २५/३० बोरा फल्ने ठाउँमा अहिले मुस्किलले दुई तीन बोरा हुन्छ ।’

उनका अनुसार लौका प्रतिकिलो १८ बाट होलसेल मूल्य ३०, बोडी १० बाट बढेर ३०, करेला १० बाट बढेर ३० रुपैयाँ पुगेको बताए । चितवनमा गोलभेंडाको उत्पादन निकै कम छ ।

महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको बताए । उनले भने, ‘बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्य अझै बढ्छ । लकडाउनमा मार झेलेका तरकारी किसानले तरकारी बारी मासेर धान रोपेका छन् ।’

दशैं र तिहारको बेलामा पनि तरकारीको अभाव हुने सम्भावना रहेकाे धितालले बताए । किसानले नयाँ तरकारी रोप्न नपाएका कारण सो समयमा तरकारीको मूल्य अहिले भन्दा बढी हुने सम्भावना रहेको उनले बताए ।

भरतपुर १० मा तरकारी पसल सञ्चालन गर्दै आएका राजेश्वर रेग्मीले तरकारी भाउ वृद्धि भएको बताए । केही दिन अघिसम्म प्रतिकेजी २० रुपैयाँमा बिक्री भइरहेको बन्दाको मूल्य ८० रुपैयाँ पर्न गएको उनले बताए । ‘अहिले तरकारी पाउन नै मुस्किल छ,’ रेग्मीले भने, ‘लगातारको वर्षाका कारण किसानले लगाएको तरकारी बारीमै मर्न थालिसकेको छ । त्यसैले बजारको माग अनुसार उत्पादन हुन सक्ने अवस्था छैन ।’

व्यवसायी आफैं मिलेर खोलेको जिल्लाकै सबैभन्दा ठूलो महानगर फलफूल तथा तरकारी बजारमा दैनिक १ सय टन तरकारी बिक्रीवितरण हुँदै आएको छ । लकडाउनका कारण लामाे समयसम्म बन्द भएको बजारमा पुरानो अवस्थामा फर्किन नपाउँदैं बाढी पहिरोका कारण तरकारीको अभाव देखिएको व्यवसायीहरु बताउँछन् ।

देशभरका १७ जिल्लाबाट तरकारी आयात निर्यात गर्दै आएको यो बजारबाट दैनिक करिब ५० लाख रूपैयाँ बराबरको आर्थिक कारोबार हुने व्यवसायीहरु बताउँछन् । फलफूल तथा तरकारी बजारमा २ सय सटर छन् । जसमध्ये ८० वटा तरकारीका छन् भने ७० वटा फलफूल, ४० खुद्रा र १० वटा किसानलाई निशूल्क तरकारी बेच्न दिने सटर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment