Comments Add Comment

सुदूरपश्चिम, कर्णाली र गण्डकीका सवारीमा पनि अब इम्बोस्ड नम्बर प्लेट

९ साउन, काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा फेरि इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु भएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले संयुक्त रुपमा सुरुआत गरे ।

बाग्मती प्रदेशका निजी चार पांग्रे सवारी सवारी साधनमा इम्बोस्ड जोड्ने जिम्मा पाएको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा आयोजित कार्यक्रमबाट प्लेट जडानको काम औपचारिक रुपमा थालिएको हो ।

तत्कालका लागि बाग्मती प्रदेशमा दर्ता रहेका सवारीहरूले मात्रै इम्बेस्ड प्लेट जडानको सुविधा पाउनेछन् । प्लेटको जडानपछि यातायात व्यवस्था विभागका ममहानिर्देशक गोगनबहादुर हमालले नाकाकरण भइसकेका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पनि इम्बोस्ड प्लेट जडानको काम सुरु गर्ने तयारी गरिएको बताए ।

इम्बोस्ड प्लेटको विरुद्धमा परेको रिट खारेजीको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि यातायात व्यवस्था विभागले वितरण सुरु गरेको हो । यसअघि सर्वोच्चले अन्तरिम आदेश दिएपछि इम्बोस्ड प्लेटको वितरण रोकिएको थियो । इम्बोस्डमा प्रयोग भएको अंग्रेजी भाषाका विषयमा मुद्दा परेपछि काम अगाडि बढ्न सकेको थिएन ।

विभागले काठमाडौं उपत्याकका ४ वटा यातायात कार्यालयबाट वितरण थालेको हो । अब इम्बोस्ड प्लेट जडान गर्न चाहाने सवारी धनीले विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिनसक्नेछन् । त्यसका लागि सवारीका अन्य करहरु चुक्ता गरेको हुनुपर्ने छ ।

अनलाइन आवेदनका आधारमा इम्बोस्ड प्लेट छपाइ हुनेछ । इम्बोस्ड प्लेटका लागि आवश्यक राजस्व तिरेको प्रमाणसहित एकान्तकुना, मिनभवन, टेकु र गुर्जुधाराको यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट बुझ्न सकिने छ ।

सरकारी सवारीहरुले मिनभवनबाट प्लेट पाउनेछन् भने निजी चार पांग्रे सवारीले टेकुबाट प्लेट जडान गर्न सक्नेछन् । ठूला सवारीको प्लेट जोड्ने काम एकान्तकुना कार्यालयबाट हुनेछ भने दुइर् तथा तीन पांग्रे सवारीको प्लेट जडान गुर्जधारास्थिति यातायात कार्यलयमा हुनेछ ।

सरकारले २५ लाख सवारीको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ ।

सवारी अनुसारको शुल्क

सरकारले दुईपांग्रेको हकमा २५ सय रुपैयाँ शुल्क तोकेको छ । टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९ रुपैयाँ शुल्क तय भएको छ । कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रेलाई ३२ सय रुपैयाँ शुल्क तोकिएको थियो ।  ठूला सवारीले इम्बोस्ड प्लट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

सरकारले राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर दिएको छ । सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर छ भने कूटनीतिकको हकमा सेतो प्लेटमा नीलो नम्बर छ । निजी सेतो प्लेट र भाडाका सवारीसाधनलाई पहेंलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरिएको छ ।

ठेकेदार कम्पनी टाइगर डेकाटुरले नेपालमै प्लेट छाप्नका लागि यातायात व्यवस्था विभागको काठमाडौं मिनभवन पछाडि भवन बनाएर मेसिन जोडेको छ ।

बंगालादेशी कम्पनीले २५ लाख प्लेट लागू गर्न कम्पनीले भ्याट बाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब २६ करोड रुपैयाँमा ठेक्का पाएको हो । भ्याटसहित यो रकम ४ अर्ब ८० करोड माथि हुन्छ ।

यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । धातुको प्लेटमा लेखिएका अक्षरहरू बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ ।

यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । सवारीको अगाडि भाग जोडिने सुरक्षात्मक स्टिकरमा सवारीको डिटेल विवरण टाँसिएको हुन्छ ।

विभागका महानिर्देशक हमाल यो प्लेट कार्यान्वयनपछि सवारी प्रयोग गरे रहुने अपराधमा कमी आउने बताउँछन् । त्यसैगरी सवारी चोरीको घटना नहुने उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment