Comments Add Comment

उद्योगपतिको अन्तरविरोध : गोल्छा र ढकालबीच दूरी बढ्दै

१० साउन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा केही समय यता विवाद बढ्न थालेको छ । साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारणसभा एवं पदाधिकारीहरुको चुनाव स्थगित भएपछि महासंघभित्रको विवादले थप उग्ररुप लिएको छ ।

चैत २८ भन्दा अगाडि नै गर्नुपर्ने महासंघको साधारणसभा जेठ दोस्रो साता हुँदै साउन २६ सम्म पुगेको थियो । साउन २६ र २७ गते गर्ने भनिएको साधारणसभा पनि बिहीबार बसेको महासंघ पदाधिकारी बैठकले स्थगन गर्ने निर्णय गरेको छ ।

महासंघको साधारणसभा गत चैत अन्तिम साता नै हुनुपर्ने थियो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था अनुसार त्यो साधारणसभाले शेखर गोल्छालाई अध्यक्ष चयन गर्ने थियो भने बाँकी पदाधिकारीहरु निर्वाचनबाट चुनिने थिए । तर, कोभिड–१९ का कारण सरकारले देशभर लकडाउन घोषणा गरेपछि उद्योग बाणिज्य महासंघले चुनाव जेठ दोस्रो साता गर्ने निर्णय गरेको थियो ।

तर, जेठमा पनि लकडाउन नखुलेपछि साउन २६ र २७ गतेका लागि महासंघको साधारणसभा तोकिएको थियो ।

बहुमतको निर्णय, अल्पमतको नोट अफ डिसेन्ट

बिहीबार आयोजित पदाधिकारी बैठकमा अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षत्रय चन्द्र ढकाल, उमेशलाल प्रधान, किशोर प्रधानका साथै पूर्वअध्यक्षहरुको पनि उपस्थिति थियो । बैठकमा पूर्वअध्यक्षहरु चण्डीराज ढकाल, पशुपति मुरारका, रवीभक्त श्रेष्ठ, सुरज वैद्य, बिनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ र महेशलाल प्रधान पनि उपस्थित थिए । आनन्दराज मुल्मी, प्रदीपजंग पाण्डे, विनोद चौधरी, पद्म ज्योतिलगायतका पूर्वअध्यक्षहरु भने बैठकमा सहभागी थिएनन् ।

बैठकमा छलफलका लागि धेरै प्रस्तावहरु थिए । तर, अध्यक्ष राणाले पहिले महासंघको साधारणसभा सम्बन्धी प्रस्ताव पेश गरिन् । र, त्यहीँबाट शुरु भयो, महासंघमा विवाद ।

साधारणसभा निर्धारित समयमै गर्ने कि सार्ने भन्ने पक्षमा उद्योगीहरुको कित्ता छुट्टियो । अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा र उपाध्यक्ष किशोर प्रधान चुनाव सार्ने पक्षमा उभिए । उनीहरुको पक्षमा निवर्तमान अध्यक्ष पशुपति मुरारका पनि लागे । अन्य पूर्वअध्यक्षहरु कसैले मौन समर्थन गरे भने केहीले विरोध गरे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले कोरोनाको त्रास अझै बाँकी रहेको र सरकारले सभा, समारोह गर्न अझै खुला गरिनसकेको भन्दै तोकिएको समयमा निर्वाचन गर्नु घातक हुने बताए । उनले साधारणसभा चाँडो गर्दा आफू नेतृत्वमा पुग्ने भए पनि आफूलाई पदभार भन्दा पनि सुरक्षाको चिन्ता रहेको बताए ।

बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकालले भने तोकिएकै मितिमा चुनाव गराउनुपर्ने बताए । लकडाउन अन्त्य भइसकेको र चुनाव गराउनका लागि सरकारसँग अनुमति माग गरिसकेको भन्दै उनले सरकारले अनुमति दिएको अवस्थामा तोकिएकै समयमा चुनाव गराउनुपर्ने बताए । यदि सरकारले अनुमति नदिए चुनाव सार्नेमा आफू पनि फरक मत नराख्ने बताए ।

चन्द्रको भनाइलाई पूर्वअध्यक्ष चण्डीराजले पनि साथ दिए । उनले अध्यक्ष राणातर्फ इंगित गर्दै पदावधि लम्ब्याउन चुनाव सार्न खोजिएको भन्दै यस्तो हुन नहुने बताए । महासंघका अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले पनि निर्वाचन सार्न नहुने बताए ।

यही विषयलाई लिएर बैठकमा बिवाद चर्कियो । अब बहुमतको आधारमा निर्णय गर्नुपर्ने अध्यक्ष राणाले सुनाइन् । यसमा पूर्वअध्यक्षहरु धेरैजसो सहमत देखिए । गोल्छाले पनि सहमति देखाएपछि बहुमतका आधारमा चुनाव तत्काल नगर्ने निर्णय लेखियो ।

अब कहिले गर्ने त चुनाव ? मिति तोक्न एक पूर्वअध्यक्षले भने । त्यसपछि सरकारले सभा, समारोह खोल्न अनुमति दिएको १५ दिनपछि गर्ने निर्णय लेखियो ।

तर, तोकिएकै मितिमा चुनाव गर्नैपर्ने आफ्नो अडानका विरुद्ध निर्णय नै भएपछि ढकाल समूह असन्तुष्ट बन्यो । निर्णय लेखिँदै गर्दा उमेशलाल श्रेष्ठले झिनो मतान्तर पारेर निर्णय लेख्न नहुने भन्दै थिए । तर, अध्यक्ष राणाले यस विषयमा केही कुरै गरिनन् ।

अन्ततः निर्णय लेखेको माइन्युट अगाडि आइपुग्यो । शुरुमा ढकाल समूहका कसैले पनि हस्ताक्षर गरेनन् । अन्यले हस्ताक्षर गरे । आफ्नो भनाइ विरुद्ध निर्णय लेखिएको भन्दै ढकाल समूहले ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय ग¥यो । सोहीअनुसार पूर्वअध्यक्ष चण्डीराज, उपाध्यक्षद्वय चन्द्र र उमेश लगायतले निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखे ।

तर, बहुमत पुगेका कारण चुनाव सार्ने निर्णय नै पारित भयो ।

विवादको चुरो

महासंघमा भवानी राणा अध्यक्ष बन्ने बेलादेखि नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था थियो । पुरानो विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान राख्नुपर्छ भन्ने विचारको नेतृत्व उसबेला पूर्वअध्यक्ष चण्डीराजले गरेका थिए ।

महासंघमा एउटा पद छ ‘विशिष्ट सदस्य’ । यो पदमा छन् उनै पूर्वअध्यक्ष चण्डिराज ढकाल । उनी विधान संशोधन उपसमितिका संयोजकसमेत हुन् । तर, अहिले उनी विगतमा आफैंले लबिङ गरेर स्थापित गरेको ‘बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने’ व्यवस्था हटाउने अभियानमा लागेको  कतिपय उद्योगी व्यवसायीहरुको गुनासो छ ।

विगतमा यसबारे बहस हुँदा बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधानको पक्षमा उमेशलाल श्रेष्ठदेखि किशोर प्रधानसम्म खुलेर लागेका थिए । त्यसबेला चन्द्र ढकालले खुलेर कुनै पक्षलाई समर्थन गरेनन् । अन्ततः वरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बनाउन मिल्ने व्यवस्था यथावत राखियो । र, उनी अब भवानी राणापछि स्वतः अध्यक्ष बन्दैछन् ।

भवानी राणाको कार्यकालमा विधानको यस प्रावधानबारे महासंघको विवाद साम्य भएन । पूर्वअध्यक्ष चण्डीराजले गोल्छालाई आफूले वरिष्ठ उपाध्यक्ष बनाएको भन्दै हैसियतको प्रश्नसमेत उठाएपछि गोल्छा र चण्डीवीच दुरी बढ्यो ।

गोल्छापछिको महासंघको अध्यक्ष बन्न चन्द्र ढकालको सक्रियता बढिरहेकै बेला किशोर प्रधान पनि मैदानमा आए । यसपटकको निर्वाचनमा चन्द्र र किशोर एक अर्काका प्रतिस्पर्धी हुन् ।

महासंघको आगामी अध्यक्ष गोल्छा भए पनि बाँकी पदहरुमा दुई समूह प्यानलसहित भिड्दैछन् । ढकाल समूहबाट जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र वस्तुगत उपाध्यक्षमा हालका उपाध्यक्ष उमेशलाल श्रेष्ठ उठ्ने भएका छन् ।

त्यसैगरी, हाल जिल्लानगर उपाध्यक्ष रहेका किशोर प्रधान पनि प्यानलसहित वरिष्ठ उपाध्यक्षमा भिड्दैछन् । यो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा शौरभ ज्योति र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ उठ्दैछन् ।

ठीक, यहीबेला चुनाव सार्ने प्रकरणले उद्योगी–व्यवसायीहरुबीच झन बिवादको गाँठो कसियो । यतिसम्म कि संस्थापन पक्षले गरेको निर्णयविरुद्ध ढकाल समूहले शुक्रबार पत्रकार सम्मेलन नै गरेर असन्तुष्टि जनायो ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष ढकालले आगामी चैतमै चुनाव गरे पनि आपत्ति नहुने बताए । तर, विधानअनुसार चल्नका लागि समयमा नै चुनाव हुनु राम्रो हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment