+
+
Shares

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ

आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग–व्यवसाय प्रतिष्ठानमा मुलुकभरि नै करिब ८० अर्ब रुपैया बराबर क्षति भएको महासंघ अध्यक्ष ढकालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १२:१६

१० असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हासँग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले उक्त आग्रह गरेको हो ।

जेनजी आन्दोलन क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसँगै उद्योगी–व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासंघले आमसर्वसाधारण तथा उद्योगी–व्यवसायीको मनोबल बढाउन त्यस्तो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको हो ।

त्यस अवसरमा महासंघ अध्यक्ष ढकालले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडाभन्दा कडा कारबाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले आन्दोलन क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग–व्यवसाय प्रतिष्ठानमा मुलुकभरि नै करिब ८० अर्ब रुपैया बराबर क्षति भएको जानकारी दिए ।

‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ सरकारसँग समन्वय एवं सहकार्य गर्न तयार छ, नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ,’ अध्यक्ष ढकालले भने ।

मन्त्री सिन्हाले ठूलो क्षति हुँदाहुँदै निजी क्षेत्रले देखाएको सदाशयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताए । उनले फरक परिस्थितिमा वर्तमान सरकार गठन भए पनि आमसर्वसाधारण र व्यावसायिक सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए ।

मन्त्री सिन्हाले मुलुकको उद्योग–व्यवसाय पुनरुत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।

महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलन क्रममा निजी क्षेत्रमाथि प्रहार हुने गरेकाले निजी क्षेत्रलाई हेर्ने दृष्किोण परिवर्तन आवश्यक रहेको धारणा राखे । यस्तै उनले पुनर्निर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तु उपयोग एवं प्रयोग गर्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल सन् २०२६ नोभेम्बरमा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा अहिलेको परस्थितिमा स्तरोन्नतिको निर्णय रोक्न सरकरले संयुक्त राष्टसंघ समक्ष आग्रह गर्नुपर्ने सुझाव दिए ।

यस्तै उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आमरूपमा कानुनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताए । उनीहरू युवापुस्ताको आन्दोलन र चाहना बमोजिम भ्रष्टाचारमुक्त समाज निर्माण गरी सबै तहमा सुशासनको जग बसाल्नु आजको आवश्यक्ता भएको उल्लेख गर्दै आमनागरिकले वर्तमान सरकारबाट त्यो अपेक्षा गरेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?