Comments Add Comment

कोरोनालाई नटेर्ने कुमार नगरकोटीको दैनिकी

१० साउन, काठमाडौं । ‘दाइ मास्क किन नलगाउनुभएको ?’

रेस्टुराँको म्यानेजरले यो प्रश्न सोधेपछि मात्र कुमार नगरकोटी आफ्नो सुद्धि सम्झेर झस्किए । बालकुमारीबाट पाटन दरबार स्वायर आइपुग्दासम्म मास्क नलगाएको कुरा उनलाई पत्तै थिएन ।

म्यानेजरको प्रश्नले भने नगरकोटीलाई केही सोच्न बाध्य बनायो ।

भीड नभएकाले रेस्टुराँमा छिर्न अप्ठेरो मानेनन् । रेस्टुराँभित्र छिरेर सधैं बस्ने स्थानतिर उनी अगाडि बढे ।

****

कोरोना महामारीले संसारका सबैलाई आक्रान्त बनाइरहँदा लेखक कुमार नगरकोटी भने कोरोनाप्रति कुनै पर्वाह जनाउँदैनन् । उनी ‘महामारी र कोरोनाजस्ता कुरा’ आफ्नो अस्तित्वमै नभएको बताउँछन् । भन्छन्– ‘लकडाउन भनेको मेरा लागि सामान्य हो । महिनौं घरबाहिर ननिस्किएर बस्ने मेरा लागि कोरोना भन्ने कुरा अस्तित्वमै छैन ।’

तीन दशकअघि नेपाल प्रहरी स्कुल साँगाका अधिकांश विद्यार्थीलाई झाडापखालाले सतायो । त्यतिबेला नगरकोटी प्रहरी स्कुलका माध्यमिक स्तरका विद्यार्थी थिए । रोगले निकै च्यापेपछि एक साता स्कुल बन्द गर्नुपर्यो ।

ती दिन सम्झिँदै उनी भन्छन्, ‘स्कुलमा म एकजना मात्र विद्यार्थी थिएँ होला, जसलाई झाडापखालाले छुनै सकेन ।’

टाढा घर भएकाले उनी स्कुलकै होस्टेलमा बसे । तर, बिरामी भएनन् ।

स्कुलपछिका दिनमा नगरकोटी काठमाडौंमा डेरा लिएर एक्लै बस्न थाले । मनमस्त भएर गल्ली र घाटहरूमा हिँड्ने बानी पर्यो । खाने–सुत्ने समयको तालिका थिएन । कति रात घाट वरपरका पार्टीमै सुतेर बिताए । तर, मनभित्र असीम आत्मविश्वास थियो । ‘बागमतीकै पानी खाए पनि मलाई केही हुँदैन भन्ने कन्फिडेन्स थियो’ पुराना दिनको सोचाइ सम्झँदा नगरकोटी अचम्म मान्छन् ।

नगरकोटीले जीवनको लामो समय एक्लोपनमा गुजारे । धेरै मानिसको भीडमा रमाउने स्वभाव छैन उनको ।  निकटतम साथी र पाठकलाई यो कुरा राम्रैसँग थाहा छ । र त उनीहरू नगरकोटीको मनमौजी जीवनलाई बाधा हुने कुनै काम गर्न रुचाउँदैनन् ।

लकडाउन पनि नगरकोटीका लागि नौलो होइन । दुई दशकअघिको दशैंमा दुई सातासम्म पूर्ण लकडाउनमा बसे ।

‘सबैजना घर गएको समयमा म डेरा–घरको एउटै कोठामा दुई सातासम्म बसें’, एकान्तिक दिन सम्झिँदै नगरकोटी भन्छन्– ‘आजको लकडाउन अर्को पक्षले जबरजस्ती लागू गरेकाले हामीलाई सकस लागेको हो । तर, आफ्नै रुचीमा मानिस वर्षौंसम्म लकडाउनमा बस्न सक्छ ।’

त्यतिबेला खानेकुरा र पानी त्यहीँभित्र थियो । उनी एकदिन पनि घरबाहिर ननिस्की बसे । दिनहरू आफ्नै तरिकाले बिताए । अर्थात्– किताब पढे, सिनेमा हेरे ।

अहिले आफूसँगै रहेका मानिसलाई असजिलो महसुस भयो भनेमात्र माक्स लगाउँछन् । नत्रभने उही साधुको पोसाकमा बालकुमारी–पाटन डुलिरहेका हुन्छन् । ‘केही महिनाअघि मात्र आफ्नो नयाँ पुस्तकको अन्तिम ड्राफ्ट सकें, यसैले अलि फुर्सदमा छु’ उनले भने ।

सामान्य दिनमा कुमार नगरकोटीको समय कल्पनामा नै बित्छ । ‘अक्सर म बिहान हिँड्छु । त्यतिबेला नयाँनयाँ सोचाइ र कल्पना आउँछन् । कथाका प्लट आउँछन् । अनौठा कुरा घुमिरहन्छन्’ उनी सुनाउँछन् ।

यही बानीले गर्दा बिनातयारी काम गर्यो भनेमात्र केही प्राप्त हुने उनको विश्वास छ । र त  जीवनमा केही बनौंला, केही गरौंला भन्ने कहिल्यै सोचेनन् ।

नसोचेका कुरा घटे नगरकोटीको जीवनमा । पछिल्लो समयको कोरोना सन्त्रास पनि उनले ख्यालै नगरी बिताइदिए । किनभने, उनले नसोचेको विषय थियो यो ।

अहंकारले मानव जातिलाई नै हानी गर्छ भन्ने उहाहरण कोरोना रहेको उनी बताउँछन् । आफ्नो सृष्टि आफैं विनाश गर्न मिल्ने हातहतियार बनाउने मान्छे आफैंले महामारी निम्त्याएको ठहर गर्छन् ।

****

नगरकोटीले १५ वर्षसम्म लगातार रक्सी पिए । ‘कुनै रात थिएन होला मैले रक्सी नपिएको । सितन खान्न थिएँ, निट रक्सीमात्रै पिउँथें’ उनी सुनाउँछन् ‘तर यी सबै कुरालाई आज आफ्नै सोचाइले नियन्त्रण गर्न सकें ।’

पुराना घटना र आनीबानी सम्झिँदै गर्दा कोरोना महामारीकै कुरा आयो । लकडाउन समय कसरी बित्यो भन्ने प्रसङ्ग चल्यो ।

लकडाउन हुने अघिल्लो दिन नगरकोटी पोखरा पुगे । अर्थात् चैत्र १० गते, उनी साथी गनेस पौडेल (लेखक ः पैताला)को निमन्त्रणामा पोखरा पुगे । दुई महिना त्यतै थुनिए । तर, उनले त्यो समयलाई पनि सिर्जनात्मक बनाए ।

गनेस र कुमार एकान्त ठाउँमा रहेर चौरमा बसेर घण्टौं कुरा गर्थे । ‘हामी दुई नामले पनि गणेश–कुमार, व्यवहारमा पनि दाजुभाइजस्तै छौं’ उनले सुनाए ‘साहित्य, अध्यात्म, राजनीति, जोक्स । गीत संगीत, कलाका कुरा गर्दागर्दै महिना बितेको पत्तै भएन ।’

नगरकोटीका अनुसार जब एक्लो भइन्छ, तब मात्र सोच्नका लागि समय पाइन्छ । सिर्जनात्मक कुरामा आफूलाई पूर्ण केन्द्रित गर्न सकिन्छ । कोरोना–कालमाथि कुरा गर्दा नगरकोटीले दोहोर्याउँछन्– ‘भोलि फेरि आउन सक्ने महामारीको सन्त्रासलाई सृजनशील शक्तिले नै दबाउनुपर्छ । त्यसैले सुर्ता गरेर मात्र केही फाइदा छैन ।’

लकडाउनका नगरकोटीले काठमाडौंको वसन्त आगमनलाई मिस गरे । नीलै फुल्ने सिरिसका फूलहरू मिस गरे ।

‘म हरेक वसन्तयाम सहरमा सिरिस फुलेको हेर्न ट्याक्सी चढेर निस्किन्छु’ नगरकोटीले सुनाए ‘सातदोबाटो–ग्वार्को, दरबारमार्ग, नक्सालका सडक दायाँबायाँ नीलाम्य फुलेका सिरिसका फूलसँग म वसन्त–उत्सव मनाउँछु । यो वर्ष छुट्यो ।’

यो वर्ष के–के कुरा छुट्यो त ? जसले नगरकोटीलाई नोस्टाल्जियाको चर्को रागमा डुबाइदियो ।

चार महिना कफी पिउन पाएनन् । पोखराबाट पाटन फर्किएपछि मात्रै ‘बरिस्ता’ले बनाएको कफी पिउन पाए । हप्ता दिनभन्दा बढी पाटन छाडेर कहीँ गएका थिएनन् । यस वर्ष आठ हप्ता पोखरामै बिताउनुपर्यो ।

पोखरा बसाइबारे उनी भन्छन्– ‘मेरो स्वाभाव हिमाल, झरना र ताल हेरेर रमाउने छैन । म क्याफेका इन्टेरियर डिजाइन, सहरका गल्ली र चोकहरूमै आनन्द लिन्छु । यसैले पोखरा छु भन्दैमा रमाइलो हुन्छ भन्ने लाग्दैन ।

हरिया पहाडभन्दा बढी उनलाई रंग र कुचीले तयार पारिएका चित्र मन पर्छन् । शास्त्रीय धुन, सांस्कृतिक नृत्य बढी रुचाउँछन् ।

वाचल जीवन नगरकोटीको रुचि हैन । तत्काल प्रतिक्रिया जनाउँदैनन् । यो आदतको पूर्वकथा भने बेग्लै छ ।

विद्यालय जीवनमा एक्लो हुन पुगे उनी । प्रहरी स्कुलको छात्राबासमा आधा दशकबढी समय बिताए । बिरानो ठाउँको स्कुल थियो–काभ्रेपलाञ्चोक साँगा । निकै चिसो हुने ठाउँ । वर्षमा एकपटकमात्रै घर जान्थे ।

तर, नगरकोटीको घरसमेत सर्दै गयो । ‘बुबा नेपालगञ्जको होटेलमा बस्नुहुन्थ्यो । त्यहाँ पैसा तिर्ने बेलामा केही लफडा परेछ । रिसको सुरमा उहाँले होटल नै किनिदिनुभएछ’ उनले सुनाए ‘यसरी जीवनमा एउटै घर भन्ने भएन  मेरो ।’

प्रहरीका जागिर भएका पितासँग एक ठाउँदेखि अर्को ठाउँ सर्दै बाल्यकाल बित्यो । किशोरकालमा छात्राबास नै उनको बासस्थान भयो ।

केही वर्षअघि साथीहरूसँग भारतका केही सहर घुम्न निस्किए । गंगामा पुग्दा नगरकोटीले नांगै स्नान गरे । उनको लहडमा साथीहरूले पनि लुगा खोले ।

‘गंगा जस्तो पवित्र ठाउँमा पुग्दा अङ्गअङ्गमा पवित्रता महसुस गर्नुपर्छ भनेर मलाई त्यस्तो सोचाइ आयो’ उनले सुनाए ।

बिस्तारै संयोग खोज्न मन पराउने आदत बस्यो उनमा । यसैले मस्तिकमा हिसाब–किताबको बोझ बोकेर हिँड्न सकिँदैन । आफूले जे गरेको छ, त्यसमा मज्जा लिनुपर्छ भन्ने सोचेर हिँड्छन् ।

नगरकोटीको यो बानी विद्यालय जीवनदेखि नै रहेको बताउँछन् उनका साथी चन्द्र कुँवर । कुँवर र नगरकोटीले विद्यालय जीवन सँगै पढे । त्यसपछि केही वर्ष काठमाडौंमासँगै बसे ।

‘नगरकोटी मनमौजी मानिस हो । ऊ भौतिक–अभौतिक केही कुरामा डर मान्दैन’ कुँवर भन्छन् ‘मनमौजी भए पनि अरुलाई हानी हुने काम गर्दैन । शान्त र गम्भीर छ ।’

किशोरकालमै नगरकोटी कोठाभित्र बसेर घण्टौं लेख्न र पढिरहन सक्ने कुँवर बताउँछन् ।

****

‘यो बेला कामुको ‘प्लेग’ पढ्दा हुन्छ दाइ ?’ पाटनमा भेटिएका एक युवा लेखकले नगरकोटीलाई सोधिहाले ।

नगरकोटीले तुरुन्त जवाफ दिए– ‘यस्तो महामारी र सन्त्रासका बेला किन प्लेग पढ्ने ? बरु कुनै रोमान्टिक कथाकहानी पढ्नस् । आफूलाई रिफ्रेस तुल्याउनुस् !’

अप्ठेरो समय छ भन्दैमा त्यहीमात्र सोचेर बस्नुहुँदैन भन्ने आशयमा नगरकोटीले ती युवाको कुरा काटे । भोलि कोरोनाभन्दा डरलाग्दो अर्को रोग आयो भने पनि त्यसँग मानिसले सामना गर्नैपर्ने उनको धारणा छ ।

यद्यपि, नगरकोटी आफैं भनिरहेका हुन्छन्– ‘जीवन अनिश्चित छ ।’

सामान्य कुरा हो यो । तर, यसैलाई उनी दैनिकीसँग जोडेर हेर्छन् । भन्छन्, ‘यात्रामा यहाँ पुगिन्छ भन्ने थाहा हुँदैन । थाहा नभएको यात्राकै रोमाञ्च सर्वाधिक स्मरणीय हुन्छ । जीवन पनि अनिश्चित यात्राजस्तै छ त्यसैले यसको महत्त्व छ ।’

धेरै वर्षअघि उनले केही पंक्ति कविता लेखेका थिए । आजको सन्दर्भमा त्यही कविता सम्झिँदै नगरकोटी बत्तिन्छन्, सहरका गल्ली र क्याफेहरूमा । अनि मस्तिष्कमा कथाका अनगन्ति प्लट र ब्ल्याक ह्युमर जोक्सहरू बुन्दै कोरोना–काल कटाइरहेका छन् ।

कालो बादलमुनि बत्तिइरहेका गिद्धहरू मनपर्छ

हिँड्ने बेला बिरालोले बाटो काटेको मनपर्छ

र, लट्टाईबिनाको चंगाजस्तो

बेपर्वाह बत्तिएको मनपर्छ, आफ्नै जिन्दगी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment