
११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पम्फा भुसालले स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएकी छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा भुसालले बेनामे उजुरीमा अल्झिनुभन्दा ठूला भ्रष्टाचार हेर्न आग्रह गरिन् ।
कोरोना महामारीका बेला खरिद गरिएको स्वास्थ्य सामाग्रीमा समेत अनियमितता भएको भन्दै उनले भने, ‘कात्रोमाथि कमिसन खाने ? तपाई हामीले लगाउने मास्क र स्यानिटाइजरमा खाने ?’ स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदबारे निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको तर क्याबिनेटले डीजी (महानिर्देशक) लाई नै फिर्ता पठाएको र मन्त्रीले तत्काल निर्णय गरेको उनले बताइन् ।
तर ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता विभागले केहीदिनमा नै रद्द गरेको थियो ।
त्यसबेला विभागका महानिर्देशकले धरौटी जफत गर्छौ भनेको आफैले समेत टीभीमा हरेको भन्दै उनले भनिन्, अहिले त मन्त्रिपरिषद्ले भुक्तानी दिनू भनेर दिइयो रे ?’
उनले विकासमा आयोजनाहरुमा पनि भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न आग्रह गरिन् ।
त्यसको उदाहरण स्मार्ट सिटी बनाउने योजना भएको सांसद भुसालले बताइन् । उनले भनिन्, ‘पोलिसी पब्लिक प्राइभेट पार्टरसिपमा गर्ने, अनि जनताको जग्गा अधिग्रहण ४० प्रतिशत गर्ने रे । यहाँका रैनाथे जनताको जग्गा अधिग्रहण गरेर स्मार्ट सिटी बनाउने ? योभन्दा ठूलो भ्रष्टाचार अरु के हुन्छ ।’
स्थानीय जनता, उनीहरुका जनप्रतिनिधिले नमागेको, संसदीय समितिमा समेत छलफल नभएको, तर केही मान्छेको मिलेर आयोजनाहरु बनाउने र कराडौंको भ्रष्टाचार गर्ने काम भइररहेको भन्दै उनले त्यता ध्यान दिन आग्रह गरिन् ।
प्रतिक्रिया 4