Comments Add Comment

यी हुन् दोस्रो पटक राखेप सदस्य सचिव बन्ने तीन व्यक्ति

१३ साउन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्त गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले मन्त्रालयमा सिफारिस गरेका तीन जनामध्ये सिलवाललाई सरकारले सदस्य सचिव चयन गरेको हो ।

यस्तै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । नेपाल खेलकुद महासंघका सहसंयोजक रहेका कोइराला नेपाल तेक्वान्दो यनियनका अध्यक्षसमेत हुन् ।

सदस्य सचिवका लागि सिफारिस समितिले सर्टलिस्ट गरेको तीन नामलाई खेलकुद मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको थियो ।

निवर्तमान सदस्य सचिवसमेत रहेका रमेश सिलवाल दोस्रो पटक उक्त पदमा पुग्ने तेस्रो व्यक्ति बनेका छन् । यस्तै लगातार दुई कार्यकाल सदस्य सचिव हुने उनी पहिलो व्यक्ति बनेका छन् ।

२०७६ असार २३ गते राखेपको १८औं सदस्य सचिव बनेका सिलवाल नयाँ खेलकुद ऐन लागु भएपछि २०७७ साल असार १७ गते पदमुक्त भएका थिए । सिलवाल पदमुक्त भएपछि खेलकुद मन्त्रालयले मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्त बहादुर ढकाललाई राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको थियो ।

नयाँ ऐनअनुसार खुल्ला प्रतिस्पर्धा र योग्यताका आधारमा सदस्य सचिव चयन हुने भएपछि सिलवालले पनि आवेदन दिएका थिए । यसअघि राजनीतिक नियुक्तको रुपमा सदस्य सचिव चयन हुँदै आएको थियो भने पहिलो पटक खुल्ला प्रतिस्पर्धाको आधारमा सदस्य सचिव चयन भएको हो ।

यसअघि रुक्म शमसेर राणा र जीवनराम श्रेष्ठ पनि दुई–दुई कार्यकाल राखेपको सदस्य सचव बनेका थिए । दुवै जना पछि नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत बने । राणा त अखिल नेपाल फुटबल संघ (एन्फा)को समेत अध्यक्ष बनेका थिए ।

श्रेष्ठ हाल दोस्रो कार्यकालको रुपमा ओलम्पिक कमिटीको अध्यक्षको रुपमा छन् ।

राणा पहिलो पटक २०५० देखि ५२ सम्म राखेपको सदस्य सचिव बनेका थिए । यस्तै २०५४ देखि ५५ सम्म दोस्रो कार्यकालको रुपमा काम गरेका थिए ।

यस्तै श्रेष्ठ २०५३ देखि ५४ सम्म पहिलो पटक राखेप सदस्य सचिव बनेका थिए भने एक दशकपछि २०६३ देखि २०६६ सम्म दोस्रो कार्यकालको रुपमा सदस्य सचिव बनेका थिए ।

सदस्य सचिव चयन पछि अब राखेप बोर्डमा सदस्यहरुको नियुक्ति प्रकिया पनि शुरु हुनेछ । नयाँ ऐनअनुसार राखेपको बोर्ड अब ३७ सदस्यीय हुनेछ । जसको अध्यक्षमा युवा तथा खेलकुद मन्त्री रहनेछन् ।

खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले अब ऐनअनुसार राखेपको बोर्ड सदस्यहरुको नियुक्ति प्रकिया अघि बढ्ने बताएका छन् ।

यस्तै नयाँ ऐनअनुसार अब सदस्य सचिवको एकल अधिकार ७ सदस्यीय कार्यसमितिमा बाँडिनेछ । उक्त कार्यकारी समितिको संयोजक सदस्य सचिव नै रहने छन् भने सदस्यमा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख सदस्यको रुपमा रहनेछन् । यस्तै राखेप बोर्ड सदस्यमध्ये खेलकुद मन्त्री र सदस्य सचिवले दुई–दुई जना मनोनित गर्नेछन् । राखेपको प्रशासन विभाग प्रमुख भने उक्त समितिको सचिवको रुपमा रहनेछन् ।

अहिलेसम्मका राखेप सदस्य सचिवहरु

  • स्व. होरा प्रसाद जोशी- २०१५ देखि १६ सम्म
  • सुशिल शमसेर जवरा- २०१७ देखि २४ सम्म
  • स्व. खड्ग विक्रम शाह- २०२४ देखि ३४ सम्म
  • स्व. शरदचन्द शाह- २०३४ देखि ४५ सम्म
  • स्व. इन्दु बहादुर शाही- २०४५ देखि ४६ सम्म
  • स्व. युद्ध विक्रम शाह- २०४६ देखि ४८ सम्म
  • स्व. राज बहादुर सिंह- २०४८ देखि ५० सम्म
  • रुक्म शमसेर राणा- २०५० देखि ५२ सम्म
  • केशव स्थापित- २०५१ देखि ५२ सम्म
  • शरद कुमार भट्टराई- २०५२ देखि ५३ सम्म
  • बद्रिनाथ श्रेष्ठ- २०५३ देखि ५३ सम्म
  • जीवनराम श्रेष्ठ- २०५३ देखि ५४ सम्म
  • रुक्म शमसेर राणा- २०५४ देखि ५५ सम्म (दोस्रो कार्यकाल)
  • विनोद शंखर पालिखे- २०५५ देखि ५९ सम्म
  • किशोर बहादुर सिंह- २०५९ देखि ६३ सम्म
  • जीवन राम श्रेष्ठ- २०६३ देखि ६६ सम्म (दोस्रो कार्यकाल)
  • हरी बाबु चौधरी- २०६६ देखि ६८ सम्म
  • युवराज लामा- २०६८ जेठ २९ देखि २०७२ जेठ २८ सम्म
  • सकुन्तला नगरकोटी- २०७२ जेठ ३२ देखि २०७२ असार ९ सम्म कार्यवाहक
  • केशव कुमार विष्ट- २०७२ असार १० देखि २०७६ असार ९ सम्म
  • रमेश कुमार सिलवाल- २०७६ असार २३ देखि २०७७ असार १७ सम्म

स्रोत :  राखेप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment